© २०२३
गुल्मी, ०४ असार ।
पहिरोका कारण सोमबार अपराह्नदेखि अवरुद्ध बनेको काली गण्डकी कोरिडोर सडक मंगलबारसम्म पनि सुचारु हुन सकेको छैन । काली गण्डकी कोरिडोर सडकको गुल्मी खण्ड अन्तरगत काली गण्डकी गाउँपालिका–६ स्थित बरल्बा भन्ने स्थानमा सोमबार दिउसो सडक माथिबाट चट्टान सहितको ठुलो पहिरो खसेपछि सडक पुर्ण रूपमा अवरुद्ध बनेको हो ।
सडक सुचारु गर्नका लागि मंगरबार अबेरसम्म पहल गरिए पनि सडक माथिबाट ढिस्को सहित पहिरो खसिरहेका कारण प्रयास गर्दागर्दै पनि सडक सुचारु गर्न समस्या परेको काली गण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले जानकारी दिएका छन् । सडक अवरुद्ध बनेपछि जिल्ला प्रहरी कार्यालय गुल्मीले प्रहरी चौकी भुर्तुङबाट प्रहरी सहायक निरीक्षक देव बहादुर भुजेलको नेतृत्वमा पहिरो हटाउनका लागि प्रहरी टोली पहिरो ग्रस्त क्षेत्रमा खटिरहेको प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।
प्रहरी उपरीक्षक असधकारीका अनुसार बुधबार बिहानसम्म पनि उक्त सडक सुचारु हुनसक्ने सम्भावना नरहेको बताइएको छ । सडक अवरुद्ध बनेपछि सवारी साधनहरूलाई पर्वत हुँदै वैकल्पिक सडक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । लामो समयसम्म सडक अवरुद्ध हुँदा त्यस क्षेत्रबाट पर्वत, वाग्लुङ् र पोखरासम्म आवतजावत गर्ने यात्रुहरू थप समस्यामा परेका छन् ।