© २०२३
बुटवल, ३१ जेठ ।
विद्यालयमा लिइने शिक्षालाई थप प्रभावकारी, घरमा विद्यार्थीले समेत थप बुझ्न, जान्न, सोध्न र खोज्नको लागि बुटवल उपमहानरपालिकाले ‘मेरो शिक्षा’ कार्यक्रम लागू गरेको छ । जसको लागि विद्यार्थीहरुले आफूले चाहेको कोर्ष रोज्न पाउँछन्, विद्यालयमा सिकेको कुरा भन्दा थप विद्युतीय रुपमा मोवाईल एप्स र वेभ पोर्टल मार्फत लगईन गरी सोही अनुसार आफूले चाहेको कोर्ष एक बर्ष सम्म निरन्तर पढ्न, सिक्न र प्रश्न गर्न पाउने गरी व्यवस्था गरिएको छ ।
बुटवल उपमहानरपालिकाका शिक्षा अधिकृत यादवचन्द्र विष्टका अनुसार बुटवलका १३ वटा सामुदायिक विद्यालयका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुको लागि पाठ्यक्रम विकास केन्द्रले तयार पारेको ढाँचामा सिकाई उपलब्धि दिने गरी मेरो शिक्षा नामक संस्था संग सम्झौता गरिएको छ ।
बुटवलका १३ वटा सामुदायिक विद्यालयका कक्षा ८ देखि १२ सम्मका सबै विद्यार्थीहरुलाई व्यक्तिगत रुपमा युजर आइडी र पासवर्ड प्रदान गरिएको हुन्छ । जहाँ विद्यालयमा अध्ययन गरेको कोर्षको शिक्षबाट अडियो, भिडियो मार्फत सबै शीर्षक र पाठअनुसार रेकर्डेड भिडियो राखिएको हुन्छ । विद्यार्थीले नबुझेको कुरा सोही वेभ पोर्ट वा मोवाइल एप्स मार्फत प्रश्नको उत्तर सोधेर प्रश्न हल गर्न सक्ने गरी विकास गरिएको हो ।
शिक्षा अधिकृत विष्टका अनुसार आधुनिक सिकाई उपलब्धिको लागि घरमा नै बसेर विद्यालयको शिक्षा र विद्यालयमा नबुझेको कुरा थप सिक्नको लागि यो प्रभावकारी माध्यम मानिएको छ ।’ उनी भन्छन्–‘आधुनिक शिक्षक सिकाई क्रियाकलपामा विद्यार्थीले नजानेका कुरा अन्य स्थानमा खोज्नु भन्दा एउटा एप मार्फत सबै कुरा जान्न पाउने गरी हामीले सम्झौता गरेका हौं, सोही अनुसार यो कार्यक्रम लागू भएको छ ।’ एक बर्षको लागि यो कार्यक्रम गरिएको र आगामी दिनमा पनि निरन्तरता दिन सकिने उनको भनाई छ ।
बुटवल उपमहानगरपालिका शिक्षा शाखाले यो वर्ष सूचना प्रविधि तालिम विद्यालय स्तरमा, डिजिटल पोर्टल विकास, कम्युटर सामग्री व्यवस्थापन लगायतको लागि ३८ लाख रुपैयाँ विनियोजन गरेको थियो । जस अनुसार डिजिटल पोर्टल विकास गरी शिक्षण सिकाईका लागि मेरो शिक्षा सिजी होल्डिङ्ग सिजी लर्निङ्गबाट प्रवद्र्धित डिजिटल लनिङ्ग प्रालि नेपाल संग सम्झौता गरेको थियो । जसमा १५ लाख रुपियाँमा एक बर्षको लागि गरिएको हो ।
जस अनुसार बुटवल उपमहानरपालिका भित्रका कक्षा ८ देखि १२ सम्मका १० हजार विद्यार्थी यसमा सहभागीता भएको डिजिटल लर्निङ्ग नेपाल (मेरो शिक्षा) का आउटरिज म्यानेजर सुलभ खनालले जानकारी दिए । विद्यार्थीले व्यक्तिगत रुपमा एक बर्षको लागि कोर्ष किन्दा कक्षा ८ को लागि ६२ सय ५०, कक्षा ९ को लागि ६ हजार २ सय ४०, कक्षा ११ को लागि ९ हजार ७ सय ५०, कक्षा १२ को लागि ११ हजार ७ सय रुपैयाँ कोर्ष शुल्क राखिएको खनालको भनाई छ । तर पालिका संग सम्झौता गर्दा प्रति विद्यार्थी १ सय ५० रुपैयाँ बराबरमा सम्झौता गरी काम गरिएको उनले जानकारी दिए । उनले भने–‘हामी ज्यादै न्युन दरमा पालिका संग सहयोगको लागि सम्झौता गरी काम गरेका छौं, सिकाई उपलब्धि पनि राम्रो छ ।’ १० वटा विद्यालयसंग काम गर्ने भनेपनि बुटवलका ३ वटा विद्यालयलाई निःशुल्क रुपमा थप गरिएको उनले जानकारी दिए । शिक्षक र विद्यार्थी दुवैमा डिजिटल सिप विकास हुने, शिक्षण–सिकाइ प्रक्रियामा प्रविधिको प्रयोग बढ्ने, विद्यालय व्यवस्थापन प्रणाली आधुनिक बन्नेछ, डिजिटल डिभाइड न्यूनीकरणमा टेवा पुग्ने अपेक्षा सहित काम भैरहेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।
सबै विद्यालयमा डिजिटल सामग्री, स्मार्ट बोर्ड, कम्प्युटर र इन्टरनेट पहुँच सुनिश्चित गर्नु । स्थानीय भाषामा ई–लर्निङ सामग्री विकास, शिक्षकलाई डिजिटल तालिम, दूरशिक्षाको अवसर विस्तारको कार्य अगाडि बढाइएको नगर प्रमुख पाण्डेयले जानकारी दिए ।
बुटवलमा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, समाजशास्त्र, ग्रामीण विकास, होटल म्यानेजमेन्ट, कानून, सामाजिक मनोविज्ञान जस्ता विषयहरूमा पढाइ हुँदै आएको छ ।
कृषि शिक्षा (बीएस्सी एजी) कलेज स्थापनाको प्रक्रिया पनि अगाडि बढाइएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालको भनाइ छ ।
बुटवलमा सिंगो बुटवल एक विद्यालय, सामुदायिक विद्यालयहरूमा स्मार्ट क्लासरूम, इन्टरनेट, पुस्तकालय र विज्ञान प्रयोगशालाको विकासमा जोड दिइएको थियो । सोही बमोजिम सामुदायिक विद्यालयहरुमा विज्ञान र कम्प्युटर प्रयोगशालाहरु स्थापना भएका थिए । अहिले यसलाई अझ विस्तार गर्ने काम भइरहेको छ । सिंगो बुटवल एक विद्यालयको अवधारणा भने अहिले रोकिएको छ । विद्यालय र क्याम्पसमा ‘इन्नोभेशन ल्याब’ स्थापना गरी विद्यार्थीलाई अनुसन्धानप्रति आकर्षित गराउने गरी काम भैरहेको नरपालिकाले जनाएको छ ।
नीतिमा शिक्षा अगाडि
नीति तथा कार्यक्रममार्फत बुटवलले शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारको क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्दै कृषि, पर्यटन, उद्योग, व्यापार जस्ता क्षेत्रको समुन्नतिमा जोड दिने मूल रणनीतिको रुपमा अगाडि सारेको छ । यस्तै, उज्यालो, सफा, सुन्दर र हरियालीसहितको सुरक्षित र समुन्नत शहरको रुपमा विकास गर्ने, सूचना तथा सञ्चार प्रविधिको उच्चतम उपयोग गरी शहरलाई जीवन्त बनाउने, सेवा प्रवाहलाई जनउत्तरदायी, पारदर्शी र सुशासनयुक्त बनाउने र मौलिक भाषा, संस्कृति र सम्पदाको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने बुटवलमा मूल रणनीति हुन् ।
बुटवलले माध्यमिक तहका प्रधानाध्यापकहरुको हरेक ३–३ वर्षमा आन्तरिक सरुवा गर्ने, विद्यालयहरुलाई समान तहको स्तरमा पु¥याउन अन्तरविद्यालय अनुभव आदानप्रदान गर्ने, प्रधानाध्यापक र व्यवस्थापन समितिबिच नियमित छलफल सञ्चालन गर्ने नीति अगाडि सारेको छ । यस्तै, ‘छोरी पढाऔं समाज बनाऔं’ कार्यक्रम अन्तर्गत बुटवल टेक्निकल इन्स्टिच्युटमा छात्राहरुलाई निःशुल्क अध्ययनको व्यवस्था मिलाउने, असहाय र विपन्न वर्गलाई विद्यालयमा नियमित गर्न नगरप्रमुख शैक्षिक सुधार कोष स्थापना गर्ने नीति बुटवलले अगाडि सारेको छ ।
प्राविधिक जनशक्ति उत्पादन गर्ने संस्था बुटवल टेक्निकल इन्स्टिच्युट आर्थिक संकटमा रहेकाले आवश्यक कानुन निर्माण गरी उपमहानगरपालिकाको मातहतमा ल्याउने, अटो भिलेजमा अटो इन्जिनियरिङ कलेज सञ्चालन गर्ने र आम्दामा पारामेडिकल अध्ययनलाई थप व्यवस्थित बनाउने नीति अगाडि सारेको प्रमुख पाण्डेयले बताए ।
विद्यालय खाजा कार्यक्रममा १० रुपैयाँ थप गरी २५ रुपैयाँ बनाउने नीति लिएको बुटवलले निजी विद्यालयहरुले सबै कक्षामा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने र हरेक शैक्षिक सत्रको अन्त्यमा विवरण सार्वजनिक गर्न अनिवार्य गरेको छ ।
विद्यार्थीहरुलाई पाठ्यसामग्रीमाथिको बोझ कम गर्न हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप तथा सिर्जनशील कार्यक्रमका माध्यमबाट संस्कार, संस्कृति, सीप तथा नैतिक शिक्षा, खेलकुद, विज्ञान प्रविधि, पर्यटनजस्ता विषयहरुप्रति आकर्षण बढाउने नीति बुटवलले लिएको छ ।
‘शिक्षामा अब्बल, हाम्रो बुटवल’ अभियानः
बुटवल उपमहनरपालिकाले शिक्षामा अब्बल, हाम्रो बुटवल परिकल्पना सहित विकास कार्यक्रम अगाडि बढाएको छ । नगर प्रमुख शैक्षिक विकास कार्यक्रम अन्तर्गत विद्यालयहरुमा शैक्षिक र भौतिक स्तर सुधारको काम बुटवल उपमहानरपालिकाले अगाडि बढाएको हो । यस्तै विद्यालयमा मात्रै नभई विद्यार्थीहरुको पनि समग्र विकासमा जोड दिएको छ । पाठ्यक्रम बाहेकका सीप, संस्कार, संस्कृति, खेलकुद, नेतृत्व विकास तथा क्षमता विकास अभिवृद्धि कार्यक्रम सञ्चालन बुटवलले गर्दै आएको छ ।