© २०२३
सुर्खेत, २० जेठ ।
२०६६ चैतमा दैलेखको किटुमा गाडी दुर्घटना हुँदा ४२ जनाको मृत्यु भयो । त्यसलगत्तै २०६८ मंसिरमा कालीकोटको सेराबाडा बित्तामोडमा २८ जनाले ज्यान गुमाए । उक्त घटनाको तीन वर्षपछि २०७१ मा जुम्लाको रारालिहीमा बस दुर्घटना हुँदा दुधे बालकसहित १८ जनाले ज्यान गुमाए ।
तीन वर्षअघि दसैको मुखैमा मुगुमा बस दुर्घटना हुँदा ३२ जनाको ज्यान गयो । नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको उक्त बस मध्याह्न १२ बजेतिर छायाँनाथ रारा नगरपालिका–७ स्थित पिनाटपने खोलामा दुर्घटनामा परेको थियो ।
कर्णाली राजमार्गमा दुर्घटना भएका यी त केही प्रतिधि घटना मात्र हुन् । वर्सेनि यस्ता हजारौ दुर्घटनाहरु भइरन्छन् । कर्णाली राजमार्ग भएर यात्रा गर्ने जो कोही पनि जीवनलाई दाउमा राखेर यात्रा गर्न बाध्य छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका अनुसार पछिल्लो तीनवर्षको अवधिमा मात्र दुई हजार ३५ वटा सवारी दुर्घटनामा चार सय २३ ले ज्यान गुमाएका छन् । दुर्घटनामा परी एक सय ६ जना घाइते भएका छन् ।
साँघुरो र अप्ठ्यारो सडक, क्षमताभन्दा बढी यात्रु, पुराना गाडी, ट्राफिक नियमको बेवास्तालगायत कारण राजमार्गमा दुर्घटना बढिरहेको कार्यालयका प्रहरी निरीक्षक सुशोभन श्रेष्ठले बताए । यस्तै अत्यधिक गतिका कारण पनि दुर्घटना बढेको श्रेष्ठले बताए । ‘सबैभन्दा त दुर्घटनाको मुख्य कारण सडकको अवस्था र चालकको लापरवाही हो’ श्रेष्ठले भने, ‘त्यसैगरी पुराना सवारी साधनहरु हुन्छन् त्यसलाई मर्मत नगरेरै चलाउने प्रवृत्ति छ ।’
वर्सेनि बढ्दैछ दुर्घटना
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका अनुसार आव २०७६÷७७ मा २ सय ३६ सवारी दुर्घटना हुँदा ८७ज नाको मृत्यु भएको थियो भने ४ सय ७२ जना घाइते भए । २०७७÷७८ मा २ सय ९१ दुर्घटनामा ९८ जनाको मृत्यु भयो भने ४ सय ४३ जना घाइते भएका थिए । २०७८÷०७९ मा एक सय ८०, ७९÷८० मा पाँच सय ४६ दुर्घटनामा एक सय ३२ को मृत्यु भएको थियो ।
यस्तै २०८०÷०८१ मा एक हजार ८६ दुर्घटनामा परी एक सय १२ जनाको ज्यान गएको थियो भने चालु आर्थिक वर्षको हालसम्म सात सय ८५ दुर्घटनामा एक सय ११ जनाको ज्यान गएको तथ्यांक छ । कर्णाली राजमार्ग अन्तर्गत दैलेख र कालीकोट खण्डका विभिन्न स्थानका साँघुरा मोडहरूले दुर्घटनाको जोखिम बढाएको छ । राजमार्गको एक मोडबाट अर्को मोडमा गाडी देख्न सकिँदैन । कर्णालीका धेरै सडकमा ट्राफिक संकेत नहुँदा पनि दुर्घटना बढिरहेको छ । सवारी चालकहरू भने पहाडी र हिमाली जिल्लामा सडक र यातायातको पहुँच सीमित मात्रामा हुने हुँदा सिट क्षमता कम भए पनि बाध्यताले यात्रुलाई सेवा दिनुपर्ने अवस्था सिर्जना हुने बताउँछन् ।
कर्णालीमा सबैभन्दा बढी कर्णाली राजमार्गमा दुर्घटना हुने गरेको छ । राजमार्गमा झण्डै एक दशकको अवधिमा एक हजार बढीको ज्यान गएको प्रहरीको तथ्यांक छ ।
साँघुरो र अप्ठेरो सडक, क्षमता भन्दा बढी यात्रु राखिनु, पुराना गाडी, ट्राफिक नियमको बेवास्तालगायत कारण राजमार्गमा दुर्घटना बढिरहेको प्रहरीको भनाई छ ।
दुर्घटनाको मुख्य कारण कर्णाली राजमार्ग
तीन दशकअघि निर्माण सुरु भएको कर्णाली राजमार्गमा १६ वर्षअघि मात्र ट्रयाक खोलिएको थियो । यस राजमार्गले सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र मुगुलाई प्रत्यक्ष रूपमा जोडेको छ । सडक जीर्ण हुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ, अझ वर्षायाममा यात्रा गर्दा यहाँका नागरिकहरु कष्टपूर्ण यात्रा गर्नुपर्ने अवस्था रहेको छ । ‘वर्षायामको बेला त यस राजमार्गमा यात्रा गर्न नपरेको भए हुन्थ्यो जस्तो लाग्छ’ कर्णाली राजमार्ग हुँदै लामो समय यात्रा गरिरहेका कालीकोटका रमेश शाही भन्छन, ‘वर्षाको समयमा ६ घण्टामा पुग्ने ठाउँमै तीन दिन लाग्छ ।’ यात्रु मात्र होइन सवारी चालकले पनि सास्ती बेहोर्नुपरेको बताउँछन् ।
‘साँघुरो र अप्ठ्यारो भीर भएको ठाउँमै गाडी पास गर्न समस्या हुन्छ,’ गाडी चालक कृष्ण खड्काले भने, ‘कहिलेकाही सडकमै कुनै गाडी बिग्रिए भने पछाडी आएका अरू गाडीका समेत त्यतै बास बस्नुपर्ने अवस्था आउँछ ।’
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०४८ सालमा शिलान्यास गरेको कर्णाली राजमार्गको निर्माण सशस्त्र द्वन्द्व र बजेट अभावको समस्या भोग्दै १५ वर्षपछि मात्र सकिएको थियो । चट्टानै चट्टानका कारण निर्माणमा समस्या भएपछि सरकारले नेपाली सेनालाई सडकको जिम्मा दिएको थियो । नेपाली सेनाले २०६३ चैत ३० गते ट्रयाक खोलेको थियो । कालोपत्रे गरेको ५ वर्षमै सडकको करिब ८० प्रतिशत कालोपत्र उप्किएको थियो । सरकारले विश्वबैंकको सहयोगमा सुर्खेतबाट खिड्की ज्युलासम्म १ सय २६ र खिड्की ज्युलादेखि जुम्लासम्म १ सय ७ किलोमिटर सडकमा कालोपत्र गरेको थियो ।
चुनावी एजेण्डामा मात्र सीमित
प्रतिनिधिसभा तथा प्रदेशभाको निर्वाचनमा कर्णालीका अधिकांश जनप्रतिनिधिहरुको चुनावी एजेण्डा बन्छ कर्णाली राजमार्ग । चुनाव जितेपछि भने आफूले चुनावताका गरेका वाचा बिर्सन्छन् । कर्णाली राजमार्ग भएर आफ्नो निर्वाचन क्षेत्र ओहरदोहर गर्ने तीनै जनप्रतिनिधिलाई पनि बाटो सुधार गर्नुपर्छ भन्ने लागेको छैन । २०७४ यता कर्णाली प्रदेशले चारवटा मुख्यमन्त्री पायो तर, कर्णाली राजमार्ग बारेमा भने कसैले पनि कुरा उठाएनन् । यति सम्मकी सदनमा यही विषयमा संसदमा कुरा उठाउनु त परै जाओस् सदनमा उठेको विषय पनि बेवास्ता गर्छन् ।
प्रदेशसभा सांसद सन्तोषी शाहीले कर्णालीमा मुख्य रुपमा दुर्घटना हुने कारण भनेको सडकको अवस्था रहेको बताउँछिन् । ‘कर्णाली राजमार्ग होइन मृत्यु मार्ग हो’ उनी भन्छिन्, ‘कर्णाली राजमार्गको स्तरोन्नति गर्नुपर्छ भनेर सदनमा पनि कुरा उठाएँ तर, सुनुवाइ नै हुँदैन । सडकको मर्मत नगरिए वर्सेनि ठूला —ठूला दुर्घटना बढिरहने उनी बताउँछिन् ।
सडक एक लेनको मात्र हुँदा पनि यात्रा जोखिमपूर्ण बनेको यातायात व्यवसायी रमेश सापकोटाले बताए । ‘कर्णाली राजमार्ग लामो समयदेखि जीर्ण बनेको छ, स्तरोन्नति गर्नुपर्ने जरुरी छ’ सापकोटाले भने, ‘तर, यस विषयमा कुनै पनि जनप्रतिनिधिले बजेट छुट्याउन पहल गर्दैनन् ।’ कर्णालीको विकासमा मुख्य गरेर कर्णाली राजमार्ग मात्र सुधार गरेमा यहाँ आर्थिक विकासमा टेवा पुग्ने सापकोटाको भनाई छ । ‘कर्णाली राजमार्ग सुधार भएमा रारा जाने पर्यटक बढ्ने र यसले यस क्षेत्रको विकासमा सहयोग पुग्थ्यो’ उनी भन्छन्, ‘राजमार्ग मात्र सुधार भए पनि सुखी कर्णाली सुखारी कर्णालीबासीको नाराले सार्थकता पाउँथ्यो ।’ तीनै तहका सरकारको वेवास्ताका कारण पनि कर्णाली राजमार्गको सडकको अवस्था विजोग देखिएको प्रहरी निरीक्षक सुशोभवन श्रेष्ठ बताउँछन् ।’
दुर्घटना न्यूनिकरणको विकल्प : सडक मर्मत
कर्णालीमा पहाडी भू–भाग छ । साँधुरा एकसरा सडक छन् । अझ सवारी साधनहरुले मनपरी तरिकाले यात्रु कोच्ने गर्दछन् । बसमा भित्र मात्र होइन, छतमा पनि खुट्टा टेक्ने ठाउँ हुँदैन । निकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता कर्णालीबासीसँग छ । सार्वजनिक यातायातमा मात्र होइन, मालवाहक ट्रक समेत खाली हुँदैनन् । अझ, हिजोआज हाईस र साना सवारी साधनहरु धेरै दुर्घटनामा पर्ने गरेका छन् ।
सुर्खेतका यातायात व्यवसायी रमेश सापकोटा दुर्घटना कम गर्न सडक चौडा नै पहिलो आवाश्यकता रहेको बताउँछन् । ‘यसमा चालकको लापरबाहीले पनि सडक दुर्घटना बढ्ने गरेको देखिन्छ,’ उनी भन्छन्, ‘तर सडकको स्थिति नै कहालीलाग्दो छ ।’ साँघुरो बाटो, मर्मत–सुधारको अभाव, अत्यधिक घुम्ती र पुराना गाडी तथा चालकको लापरबाही जस्ता कारणले धेरै दुर्घटना हुने गरेको प्रहरीको पनि भनाई छ ।
यता कर्णाली सरकारका प्रवक्ता विनोदकुमार शाहले कर्णाली राजमार्ग केन्द्र सरकारको कार्यक्षेत्रभित्र पर्ने भएकाले प्रदेश सरकारले कुनै पनि सडक विस्तारका लागि योजना नबनाएको बताए । ‘संघको क्षेत्रभित्र पर्ने भएको कारण प्रदेश सरकारले कुनै पनि बजेट छुट्टयाएको छैन’ उनले भने, ‘हामीहरुले चासोको साथ हेरेका छौ र माथि बारम्वार ताकेता गरिरहेका छौं ।”
कर्णाली राजमार्ग मृत्यु मार्ग बन्यो
कर्णाली राजमार्ग मृत्युमार्ग बनिरहँदा केन्द्र सरकारले भने उपेक्षा गरिरहेको छ । बिहीवार प्रस्तुत भएको बजेटमा पनि राजमार्गले प्राथमिकता पाएन । त्यसकारण कर्णाली प्रदेशसभाको आइतवार बसेको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश भएको छ । नेपाली काँग्रेसका प्रमुख सचेतक हिक्मत विष्टले उक्त प्रस्ताव पेश गरेका हुन् । दैनिक हजारौ नागरिकले यात्रा गर्ने राजमार्गको स्तरोन्नतिमा राज्यले ध्यान नदिदा सवारी दुर्घटना बढ्ने हुँदा सार्वजनिक महत्वको प्रस्ताव ल्याएको सांसद विष्टले बताए ।
उनले राजमार्गको स्तरोन्नतिको माग गरेका छन् । ‘२०८१ भदौ १२ गतेदेखि १५ गतेसम्म वर्षाको कारणले राजमार्गको दैलेख खण्डमा पहिरो गयो, जसका कारण माथिल्लो कर्णालीका नागरिकले निकै दुःख झेल्नुपरेको थियो’ सांसद विष्टले भने, ‘जुम्लाबाट आएका स्याउ बाटोमै कुहिएका थिए, राज्यले राजमार्गको स्तरोन्नतितर्फ ध्यान दिनुपर्छ ।’
बैठकमा बोल्दै एमाले संसदीय दलका प्रमुख सचेतक टेकराज पछाईले राजमार्ग बन्दै गर्दा कर्णालीबासी खुसी भएता पनि सवारी दुर्घटनाका कारण नागरिकहरु ज्यान गुमाउनु पर्दा राजमार्ग मृत्युमार्ग बनिरहेको बताए । कर्णाली राजमार्गको स्तरोन्नतिमा ध्यान दिनुपर्ने उनको भनाई थियो ।