© २०२३
चितवन, ११ जेठ।
मनकामना मन्दिर दर्शनका लागि आएका एक भारतीय पर्यटकको आइतबार दुर्भाग्यपूर्ण रूपमा शौचालयमा लड्दा मृत्यु भएको छ। इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केवलकारको स्टेशनमा रहेको शौचालयमा लडेर गुजरात, पालनपुर निवासी ६२ वर्षीय मन्नुप्रसाद भट्ट घाइते अवस्थामा भेटिएका थिए।
मुग्लिनस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार उनी शौचालयमा अचेत अवस्थामा फेला परेका थिए र तत्कालै इच्छाकामना आधारभूत अस्पताल, कुरिनटार पुर्याइएको थियो। तर, अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरे।
शव परीक्षणका लागि हाल भट्टको शव भरतपुर अस्पताल लगिएको छ। पर्यटकहरूको आवागमन हुने प्रमुख धार्मिक स्थलमा यस्तो प्रकारको घटना भएकोप्रति स्थानीय प्रशासनले दुःख व्यक्त गरेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।