© २०२३
बुटवल, १० जेठ ।
अर्घाखाँची साविक चिदिका–रुपन्देही सम्पर्क समाजको दशौंं वार्षिक साधारण सभा शनिबार बुटवलमा सम्पन्न भएको छ ।
साधारण सभाको उदघाटन गर्दै समाजका सल्लाहकार एवं वरिष्ठ पत्रकार अर्जुन ज्ञवालीले समस्यामा परेका आफ्ना सदस्यहरुको सहयोगमा सम्पर्क समाजको भूमिका महत्वपूर्ण रहेको भन्दै सामाजिक संघ संस्थाहरुलाई राजनीतिबाट टाढा राख्नुपर्नेमा जोड दिए । उनले हरेक सामाजिक गतिविधिमा संस्थाको महत्वपूर्ण भूमिका रहने भएकाले आपसी सम्बन्ध र एकतालाई अझ मजवुद बनाएर रचनात्मक कार्यलाई अगाडि बढाउन आग्रह गरे ।
साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समाजकी अध्यक्ष गीता ज्ञवालीले आगामी दिनमा समाजले बिगतका कामहरुलाई निरन्तरता दिनुको साथै विभिन्न रचनात्मक कार्यहरुलाई अगाडि बढाउने उद्देश्य लिएको बताइन् ।
त्यस्तै साधारणसभामा कोषाध्यक्ष रामप्रसाद पन्थीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा समाजका संस्थापक अध्यक्ष पुरुषोत्तम अर्याल, पुर्व अध्यक्ष इश्वरी ज्ञवाली, निवर्तमान अध्यक्ष केशवराज पन्थी, समाजका उपाध्यक्ष कमल अर्याल, सचिव हेमनाथ ज्ञवाली, आजीवन सदस्य राधिका अर्याल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
साधारणसभापछि चिदिका रुपन्देही सम्पर्क समाजले बुटवल स्थित अपाङ्ग आश्रममा आश्रय लिएकाहरुका लागि खानाको व्यवस्थापन गरेको थियो ।
