© २०२३
बुटवल, ९ जेठ ।
पाँच करोड भन्दा बढी रकम हालेर किनेको घर आफूले प्रयोग गर्ने नपाएपछि रुपन्देही तिलोत्तमा–५ का पशुपति घिमिरेले न्यायका लागि सञ्चारकर्मी गुहारेका छन् ।
उनले आफूले किनेको घर खाली नभएको र आफ्नो पटकपटकको प्रयास सफल हुन नसकेको भन्दै सरकारसँग पनि उनले न्याय दिन आग्रह गरेका छन् । घिमिरेले शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेका हुन् ।
“मैले २०७४ सालमा तिलोत्तमा–३ सीता राइसमिलमा रहेको घर व्यावसायिक प्रयोजनका लागि किनेको हुँ, तर मैले जोसँग घर किने उनले नै आजसम्म घर खाली गरेका छैनन्, आफूले पाँच करोड हालेर किनेको घर मैले कहिले पाउँछु ?”–घिमिरेले प्रश्न गरे ।
उनले आफू यसका लागि स्थानीय तहदेखि प्रहरी प्रशासन र अड्डा अदालतसम्म धाएको पनि उनले बताए ।
तीनै तहका अदालतले भने घिमिरेको पक्षमा फैसला गरेको थियो । अदालतले फैसला गर्दा समेत आफूले घर प्राप्त गर्न नसकेको र जसले आफूलाई घर बेचेको हो उसैले घरमा रजगज गरिरहेको पनि घिमिरेको दावी छ ।
उनले अदालतको फैसला कार्यान्वयन हुनुपर्ने र खरीद गरेको घर खाली गर्नुपर्ने माग पनि घिमिरेले गरे ।
घिमिरेले पौने १७ धुरमा बनेको घर आफ्नी श्रीमतीको नाममा रजिष्ट्रेशन पास गराई खरीद गरेका थिए । तर, अहिलेसम्म आफू भोगचलन गर्नबाट बञ्चित रहेको उनले बताए । उक्त घर उनले २०७४ असार १६ गते श्रीमती राधादेवी पौडेल घिमिरेको नाममा खरीद गरेका थिए । “घरधनी तिलोत्तमा–३, शंकरनगर निवासी विमलाकुमारी श्रेष्ठसँग किनेर मालपोत कार्यालयबाट रजिष्ट्रेशन पास गरिएको हो, ५ करोड ४ लाखमा घर खरिद गरेको हुँ”–घिमिरेले भने ।
घर खरिद गर्दा श्रेष्ठको बैंकमा घर धितो रहेको र आफूले तिर्न नसकेको भनेपछि ऋण सकारेर बाँकी रकम श्रेष्ठलाई बुझाई खरिद गरेको घिमिरेको भनाई छ । घर किनेपछि ४२ महिनापछि घर खाली गर्ने भनी घरधनीले आफूसँग सहमति गरेको तर सो अवधिमा पनि घर खाली नगरी विभिन्न बहाना बनाएर लम्ब्याएको उनको भनाई छ । “त्यसपछि कोभिड लगायतका समस्सा देखाउँदै ०७९ मंसिरसम्ममा घर खाली गरिदिने सहमति भएको थियो, तर सो अवधिमा पनि घर खाली भएन”–उनले भने । घर खाली गरिदिने भनेको अवधि सकिएपछि घरधनी विमलाको श्रीमान दुर्गा नारायण श्रेष्ठले उल्टै आफूमाथि जालसाजीमा र बिक्री गरेको घर बदर हुनु पर्ने माग गर्दै अदालतमा मुद्दा दायर गरेको घिमिरेको भनाई छ । “जिल्ला अदालत रुपन्देही र उच्च अदालत, तुलसीपुर बुटवल इजलासबाट ती दुवै मुद्दा फैसला भएका छन्, फैसलामा मैले खरिद गरेको कानुन सम्मत भनिएको छ”–उनले भने–“मैलेृ मुद्दा जितिसक्दा पनि विमाला जीले घर छाड्न मान्नुभएन ।”
यसपछि उच्चको फैसला बदर माग गर्दै विमलाको परिवार सर्वोच्च अदालत गएका थिए । सर्वोच्चले उच्चको फैसला सही भएको भन्दै निस्सा नदिएपछि घिमिरेको परिवारले तीन तहबाट मुद्दा जितिसकेको छ । २०८० जेठ १४ गते जिल्ला अदालत रुपन्देहीका तत्कालीन न्यायाधीश उमेश कोइरालाको इजलासले श्रेष्ठ परिवारको दावी नपुग्ने भन्दै घिमिरेको पक्षमा फैसला गरेको थियो ।
यस्तै, उच्च अदालतका न्यायाधीश सुभाष पौडेल र पुण्य शिला दवाडी घिमिरेको इजलासले २०८१ वैशाख १२ गते फैसला गर्दै जिल्ला अदालतले गरेको फैसला सदर गर्दै घरजग्गा घिमिरेकै भएको जनाएको थियो । यस्तै, सर्वोच्च अदालतका नयायाधीश नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले २०८१ चैत ८ गते श्रेष्ठ परिवारले मुद्दा दोहो¥याइ पाउँ भनी दिएको निवेदनमा उच्चको फैसला सदर गर्दै निस्सा नै दिएन ।
घिमिरेले अहिले भने आफूलाई मिटर ब्याजीको आरोप लगाएर दुःख दिने काम भएको भन्दै यसबाट आफू थप पीडित भएको दावी गरे ।
उनले केही महिनाअघि दुर्गा प्रसाईं समूहको नामबाट आफूलाई फोन गरेर ड,र धाक र त्रास देखाउने काम गरेको र विभिन्न दलका नेताबाट पनि धम्की आएको उनको भनाई छ । आफू असुरक्षित भएपछि शान्ति सुरक्षाको माग गर्दै बिहीवार जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा निवेदन दिएको उनले बताए ।
यता, आरोपित आरोपित विमला कुमारी श्रेष्ठले भने घिमिरेले आफूसँग धेरै पहिलेदेखि आर्थिक कारोबार गर्दै आएको र चर्को ब्याजमा रकम लिने गरेको भन्दै घर खरीदमा जालसाजी गरिएको आरोप लगाइन् ।
बैंकको नक्कली भौचर खडा गरिएको तर उक्त भौचरको रकम खातामा नआएको भन्दै उनले जग्गा फिर्ताको कागज समेत गरी फिर्ता नगरेको उनले दावी गरिन् ।