ललितपुर महानगरपालिका–४ नख्खु दोबाटो चोकबाट स्रोत नखुलेको नगद रु एक करोड ६७ लाख ३३ हजार २३० सहित तीन जनालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर गोदावरी नगरपालिका–१० चापागाउँ बस्ने ३२ वर्षीय जयराम केसी, काठमाडौँ कोटेश्वर बस्ने भोजपुर नगरपालिका–३ घर भएका ३१ वर्षीय दीपक खड्का र काठमाडौँ बत्तीसपुतली बस्ने काठमाडौँ महानगरपालिका–१० बानेश्वर घर भएका २९ वर्षीय प्रज्वल रिजाल रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सानेपाबाट सातदोबाटोतर्फ जाँदै गरेको बागमती प्रदेश०१–०२७च २७६५ नम्बरको गाडीलाई तलासी गर्दा उक्त नगद फेला पारी गाडीमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
त्यसैबीच, ललितपुर महानगरपालिका–२९ बस्ने २८ वर्षीय रवीन्द्र मगरातीलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र बेलारूस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा मगरातीलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ ।
रवीन्द्रले पाँच जनाबाट रु चार लाख २० हजार लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काटमाडौँ महानगरपालिका–२९ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।