© 2026
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले हरिबोधनी एकादशीको अवसरमा मंसिर ४ गते शुक्रबार सार्वजनिक बिदा दिने भएको छ।
नगरपालिकाले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको हरिबोधनी एकादशी पर्वको सम्मान गर्दै, सन्धिखर्कमा लाग्ने एकादशी मेलाको अबसरमा नगरपालिकाअन्तर्गतका कार्यालय तथा निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताएका छन् ।
हिन्दू धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्वका रूपमा रहेको हरिबोधनी एकादशीलाई ठूलो धार्मिक आस्थाका साथ मनाउने गरिन्छ। यस दिन भगवान् विष्णुको पूजा–आराधना गर्ने, तुलसी विवाह गर्ने तथा व्रत बस्ने धार्मिक परम्परा रहेको छ। अर्घाखाँची सन्धिखर्क त्रिवेणीधाममा एकादशीको दिन विशेष मेला लाग्ने गर्दछ ।
हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएका भगवान् विष्णु चार महिनापछि हरिबोधनी एकादशीका दिन जागा हुने धार्मिक विश्वास छ। त्यसैले यस दिनलाई विशेष पुण्यदायी दिनका रूपमा लिने गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले जानकारी दिए ।
नगरपालिकाको सार्वजनिक बिदा दिने निर्णयले स्थानीय धार्मिक, सांस्कृतिक तथा परम्परागत पर्वको संरक्षण र प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
धार्मिक आस्था र मौलिक संस्कृतिको सम्मान गर्दै सन्धिखर्क नगरपालिकाले दिएको सार्वजनिक बिदाको निर्णयलाई स्थानीयवासीले सकारात्मक रूपमा लिने अपेक्षा गरिएको छ।