© 2026
काठमान्डौँ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) मनोज केसीले आफू, पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई थुनिदिने चेतावनी दिएको भन्दै आपत्ति जनाएका छन् ।
बुधबार पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले आईजीपीले होसमा यस्तो अभिव्यक्ति दिएका हुन् कि बेहोसीमा भन्दै प्रश्न गरे ।
‘आईजीपी हुनेबित्तिकै होसमा हो कि बेहोसमा हो, बोलेको सुन्छु म । आईजीपीको बोली त्यस्तो हुन्छ ? म केपी ओलीलाई थुनिदिन्छु, शेरबहादुरलाई थुनिदिन्छु, प्रचण्डलाई थुनिदिन्छु । केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा भनेका मजाकका पात्र हुन् ?’ ओलीले भने ।
आफूहरू राणा शासन, पञ्चायती व्यवस्था र निरंकुश राजतन्त्रविरुद्ध संघर्ष गरेर आएको उल्लेख गर्दै ओलीले प्रहरी प्रशासनबाट गैरजिम्मेवार अभिव्यक्ति आएको आरोप लगाए ।
‘हामी राणा शासनका विरुद्ध लडेर आएका हौँ, पञ्चायती शासनका विरुद्ध लडेर आएका हौँ, निरंकुश राजतन्त्रका विरुद्ध लडेर आएका हौँ । अनि ६ महिने जागिर खाने एउटा सिपाहीले फलानालाई थुनिदिन्छु भन्छ । ठट्टा–मजाक गरेको हो ? तिनीहरू जन्मनुअघि हामी देशका लागि आन्दोलनमा ज्यानको बाजी थापेर हिँडिरहेका थियौँ । मजाक गर्ने हामीमाथि ?’ उनले प्रश्न गरे ।
ओलीले आफूहरूमाथि कुनै प्रमाण भए पक्राउ गरेर थुन्न चुनौतीसमेत दिए । प्रमाणका आधारमा कानुनी कारबाही गर्न आफूहरू तयार रहेको उनको भनाइ थियो ।
‘थुने हुन्छ नि, समातेर । जो आउँछ थुनिदिन्छु, के हो यो ? हामी मजाकका पात्र हौँ ? ठट्टाजस्तो भएको छ यहाँ । प्रमाण भेटे अरे, प्रमाण भेटे उनी पनि थुनिन्छन् होला नि, अरू पनि थुनिन्छन् होला नि,’ ओलीले भने ।
यसैबीच, गृहमन्त्री सुधन गुरुङले पनि फाइल खोल्दै गरेको र सबैलाई थुनिने अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दै ओलीले त्यसको आशयमाथि प्रश्न उठाए ।
‘गृहमन्त्रीले फाइल खोल्दै छु, पर्खनुस्, सबै थुनिन्छन् । एकसेएक थुनिन्छन् भन्नुभएको छ । कसलाई भनेको हो ? सबै थुनिन्छन् भने उहाँ र को–को बाँच्छन् त नेपालमा ?’ ओलीले प्रश्न गर्दै भने ।