© 2026
काठमान्डौँ ।
दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारी निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने विषयमा सर्वोच्च अदालतमा आगामी सोमबार पुनः सुनुवाइ हुने भएको छ ।
न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अन्तरिम आदेशबारे छलफल गर्न आगामी सोमबार दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको हो ।
सोमबार हुने सुनुवाइमा रिट निवेदक कार्कीका कानुन व्यवसायी, सरकारको निर्णयको प्रतिरक्षा गर्ने सरकारी वकिल तथा नवनियुक्त आईजीपी डा। मनोज केसीका तर्फबाट बहस गर्ने कानुन व्यवसायी सहभागी हुनेछन् ।
यसअघि बुधबार सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको थियो । दुवै पक्षको बहस सुनेपछि मात्रै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे अदालतले निर्णय गर्नेछ ।
मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट हटाएर डा। मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गरेको थियो । आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको दाबी गर्दै कार्कीले निर्णय बदर गरी पुनर्बहालीको मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।