Butwal Today
भैरहवा विमानस्थल कसरी चलाउने ?

एयर रुटको बहसभन्दा ठूलो चुनौती यात्रु अभाव

प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा भारतसँग हवाई प्रवेश मार्गको विषय उठिरहँदा यात्रु आकर्षित गर्ने योजना र नियमित उडानको सुनिश्चितता भने ओझेलमा
२ मंसिर २०८३, बुधबार
अ
अ+
अ-

बुटवल ।
प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणसँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई प्रवेश मार्गको विषय फेरि चर्चामा आएको छ । भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न भारतसँग थप हवाई मार्ग उपलब्ध गराउने विषय भ्रमणको कार्यसूचीमा पर्ने चर्चाले यस क्षेत्रका पर्यटन व्यवसायीमा आशा जगाएको छ । तर विमानस्थल सञ्चालनको मुख्य चुनौती हवाई मार्ग मात्रै हो कि यात्रु अभाव पनि उत्तिकै ठूलो समस्या हो भन्ने बहस पनि एकातिर छ ।

केही महिनाअघि पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गबहादुर पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको प्रमुख समस्या हवाई प्रवेश मार्गभन्दा पनि यात्रु अभाव भएको बताएका थिए । विमानस्थलमा जहाज अवतरण गर्न सक्ने प्राविधिक तथा हवाई मार्गको व्यवस्था भए पनि पर्याप्त यात्रु नहुँदा नियमित उडान व्यावसायिक रूपमा सञ्चालन गर्न कठिन हुने उनको भनाइ थियो । मन्त्रीको यो भनाइले विमानस्थल सञ्चालनको बहसलाई कूटनीतिक मुद्दाबाट व्यावसायिक सम्भावनातर्फ मोड्नुपर्ने आवश्यकता देखाएको छ ।

निश्चय पनि भैरहवा विमानस्थलका लागि छोटो हवाई प्रवेश मार्ग आवश्यक छ । अहिले अन्तर्राष्ट्रिय विमान सिमरा हुँदै नेपाली आकाशमा प्रवेश गरेर भैरहवा पुग्नुपर्ने अवस्था छ । भारतको लुम्बिनी वा पश्चिमी क्षेत्रबाट सहज प्रवेश मार्ग उपलब्ध भए उडान दूरी र समय घट्ने तथा इन्धन खर्चसमेत कम हुने देखिन्छ । यसले अन्तर्राष्ट्रिय विमान कम्पनीलाई भैरहवामा उडान गर्न आकर्षित गर्न सक्छ । तर छोटो हवाई मार्ग उपलब्ध हुँदैमा यात्रु स्वतः बढ्ने र विमान कम्पनीले नियमित उडान गर्ने सुनिश्चितता नहुने व्यवसायीहरू बताउँछन् ।

विमानस्थलका सूचना अधिकारी पवन अग्रहरि बानियाका अनुसार अहिले पनि सिमरा प्रवेश बिन्दुबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन भइरहेका छन् । उनका अनुसार अहिलेसम्म एक हजार दुई सय २२ उडान भइसकेका छन् । छोटो हवाई मार्ग उपलब्ध भए उडान दूरी र खर्च घट्ने भए पनि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले नै नियमित उडान गरेर विमानस्थलको प्रवद्र्धन गर्नुपर्ने उनको धारणा छ ।

अन्तर्राष्ट्रिय विमान कम्पनीले कुनै विमानस्थलमा उडान सञ्चालन गर्ने वा नगर्ने निर्णय गर्दा हवाई मार्ग मात्र हेर्दैनन् । यात्रुको उपलब्धता, टिकट बिक्रीको सम्भावना, गन्तव्यको माग, सञ्चालन खर्च र उडानबाट प्राप्त हुने आम्दानीलाई समेत आधार बनाउँछन् । पर्याप्त यात्रु नपाइने अवस्थामा छोटो हवाई मार्ग उपलब्ध भए पनि नियमित उडान व्यावसायिक रूपमा आकर्षक नहुन सक्छ ।

भैरहवा विमानस्थलको अहिलेको मुख्य समस्या पनि यही हो । विमानस्थल निर्माणसँगै यस क्षेत्रबाट ठूलो संख्यामा अन्तर्राष्ट्रिय यात्रु आवागमन हुने अपेक्षा गरिएको थियो । तर त्यसअनुसार यात्रुको चाप सिर्जना हुन सकेको छैन । विमानस्थलबाट विदेश जाने र आउने यात्रुलाई आकर्षित गर्ने योजना, अन्तर्राष्ट्रिय विमान कम्पनीसँगको व्यावसायिक साझेदारी र नियमित उडानको सुनिश्चितता कमजोर हुँदा विमानस्थलको क्षमता उपयोग हुन सकेको छैन । केही समयअघि जजिरा एअरले समेत यात्रु अभावलाई कारण देखाउँदै उडान रोकेको थियो ।

भैरहवा र आसपासका जिल्लामा वैदेशिक रोजगारीमा जाने नागरिकको संख्या ठूलो छ । लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका यात्रुलाई समेत लक्षित गरेर उडानको बजार विस्तार गर्न सकिने सम्भावना छ । तर वैदेशिक रोजगारीमा जाने यात्रुले अहिले पनि काठमाडौं वा भारतका विमानस्थललाई प्राथमिकता दिनुपर्ने अवस्था छ । भैरहवाबाट अन्तर्राष्ट्रिय गन्तव्यसम्म सहज र प्रतिस्पर्धी मूल्यमा टिकट उपलब्ध नहुँदा यात्रु आकर्षित हुन सकेका छैनन् ।

यसका लागि सरकारले श्रम, परराष्ट्र, पर्यटन, गृह र नागरिक उड्डयनसम्बन्धी निकायबिच समन्वय गरेर भैरहवाबाटै वैदेशिक रोजगारीमा जाने यात्रुको आवश्यक प्रक्रिया पूरा गर्ने व्यवस्था मिलाउनुपर्ने व्यवसायीहरू बताउँछन् । राहदानी, श्रम स्वीकृति, स्वास्थ्य परीक्षणलगायत सेवा सहज बनाउँदा यात्रुको आकर्षण बढ्न सक्ने देखिएको छ ।

त्यस्तै, लुम्बिनी भ्रमणमा आउने भारतीय तथा तेस्रो मुलुकका पर्यटकलाई भैरहवा विमानस्थलसँग जोड्ने विशेष योजना आवश्यक छ । लुम्बिनी, तिलौराकोट, रामग्राम, देवदह र आसपासका पर्यटकीय गन्तव्यलाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा एकीकृत रूपमा प्रवद्र्धन गर्न सके विमानस्थलका लागि यात्रु आधार विस्तार हुन सक्छ ।

होटेल संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले भैरहवा विमानस्थल सञ्चालनका लागि हवाई मार्ग आवश्यक भए पनि त्यसले मात्रै विमानस्थल नियमित सञ्चालन हुन नसक्ने बताए । उनले हवाई मार्गभन्दा यात्रु अभाव मुख्य समस्या रहेको उल्लेख गर्दै यात्रु सुनिश्चित नभएसम्म वायुसेवा कम्पनीहरूले नियमित उडान गर्न नसक्ने धारणा राखे । “विमानस्थल सञ्चालनको वास्तविक समस्या पहिचान गरी समाधान खोज्नुपर्नेमा हवाई मार्गकै विषयलाई प्राथमिकता दिएर नागरिकमा भ्रम सिर्जना गर्ने काम भइरहेको छ”–उनको तर्क छ ।

अर्कोतर्फ, विमानस्थलमा उपकरणमा आधारित अवतरण प्रणाली (आईएलएस) पूर्ण रूपमा सञ्चालनमा नआउनु पनि अर्को चुनौती हो । कम दृश्यता हुने मौसममा जहाजलाई सुरक्षित अवतरण गर्न सहयोग गर्ने यो प्रणाली सञ्चालनमा नआउँदा उडान प्रभावित हुन सक्छ । त्यसैले हवाई मार्ग र यात्रु व्यवस्थापनसँगै विमानस्थलका प्राविधिक सुविधा पनि प्रभावकारी बनाउनुपर्ने देखिन्छ ।

नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रबहादुर थापाले भैरहवा विमानस्थलका लागि हवाई मार्गको विषय लामो समयदेखि जकडिएको समस्या भएकाले यसको समाधानका लागि भइरहेको पहल सकारात्मक रहेको बताए । उनले प्रस्तावित हवाई मार्ग छोटो दूरीको हुने भएकाले विमान सञ्चालनको समय र खर्च घटाउन सहयोग पुग्ने धारणा राखे ।

उनका अनुसार पूर्वबाट आउने जहाजलाई हवाई मार्गका कारण खासै समस्या नभए पनि पश्चिमबाट आउने जहाजले कठिनाइ भोग्दै आएका थिए । यात्रु अभाव पनि विमानस्थल सञ्चालनको एउटा समस्या भए पनि अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक हवाई मार्गको विषयलाई बेवास्ता गरेर यात्रु अभावलाई मात्रै मुख्य कारण देखाउन नहुने उनको भनाइ छ ।

भारतसँग हवाई मार्गसँगै आवश्यक प्राविधिक विषयमा समेत सहमति हुन सके त्यसलाई सकारात्मक रूपमा लिनुपर्ने उल्लेख गर्दै थापाले त्यसपछि विमानस्थल सञ्चालन र व्यवस्थापन कसरी प्रभावकारी बनाउने भन्ने विषय नेपालको आफ्नै जिम्मेवारी भएको बताए । यात्रु आकर्षित गर्ने, व्यावसायिक योजना बनाउने र विमानस्थललाई नियमित सञ्चालनमा ल्याउने विषयमा सरकारले नै स्पष्ट कार्ययोजना तयार गर्नुपर्ने उनको सुझाव छ ।

२०७९ जेठ २ गते उद्घाटन भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई आधार बनाएर भैरहवा–लुम्बिनी क्षेत्रमा होटल, रेस्टुरेन्ट तथा पर्यटन पूर्वाधारमा ठूलो लगानी भएको छ । होटेल व्यवसायीका अनुसार भैरहवा–लुम्बिनी क्षेत्रमा मात्रै होटल क्षेत्रमा एक खर्ब रुपियाँभन्दा बढी लगानी भएको छ ।

चार पाँचतारे, नौ चारतारे र एक तीनतारे होटेल सञ्चालनमा छन् । तर अपेक्षित अन्तर्राष्ट्रिय पर्यटक नआउँदा लगानीको प्रतिफल प्राप्त हुन सकेको छैन । बैंकको ऋण, ब्याज र सञ्चालन खर्चको दबाब व्यवसायीले झेलिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?