© 2026
भैरहवा ।
अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै सुरु हुने र उदाउँदो सूर्यको उपासनासँगै सम्पन्न हुने छठ पर्व धार्मिक आस्था, कठोर अनुशासन, प्रकृतिप्रतिको कृतज्ञता र सामाजिक सद्भावको अनुपम संगम हो । तराई–मधेसको मौलिक सांस्कृतिक पहिचानका रुपमा स्थापित यो पर्व पछिल्लो समय जाति, भाषा र क्षेत्रको सीमाभन्दा माथि उठेर साझा सामाजिक तथा सांस्कृतिक उत्सव बन्दै गएको छ ।
सूर्यदेव र छठी माताको आराधना गरी मनाइने यस पर्वको अवसरमा रुपन्देही जिल्लाभर उत्साह र चहलपहल बढेको छ । जिल्लाका नदी, पोखरी, नहर, तलाउ तथा विभिन्न धार्मिक स्थलमा छठ पूजा र मेला आयोजना हुँदैछन् । यस वर्ष जिल्लाका २४९ वटा छठ घाटमा सुरक्षा व्यवस्था मिलाइएको छ भने भैरहवा र आसपासका पूजा स्थलमा सरसफाइ, बेदी निर्माण, सजावट तथा अन्य व्यवस्थापकीय काम सकिएका छन् ।
हजारौँ व्रतालु तथा श्रद्धालु एकैपटक जलाशयका किनारमा भेला हुने भएकाले सम्भावित जोखिम न्यूनीकरण, भीड व्यवस्थापन, सवारी आवागमन र शान्ति सुरक्षालाई प्राथमिकता दिँदै स्थानीय प्रशासन तथा सुरक्षा निकायले तयारी तीव्र बनाएका छन् ।

सूर्य उपासनाको प्राचीन परम्परा
छठ पर्वको परम्परा प्राचीन वैदिक सूर्य उपासनासँग जोडिएको मानिन्छ । हिन्दू धर्मशास्त्रमा सूर्यलाई प्रत्यक्ष देवताका रुपमा सम्मान गरिन्छ । पृथ्वीमा जीवनको आधार मानिने सूर्यबाट प्राप्त प्रकाश, ताप र ऊर्जाले मानव जीवनदेखि वनस्पति, कृषि र समग्र पर्यावरणलाई सञ्चालन गर्न महत्वपूर्ण भूमिका खेल्छ ।
ऋग्वेदमा सूर्यको स्तुतिका अनेक मन्त्र उल्लेख छन् । गायत्री मन्त्रसमेत सूर्यका अधिष्ठाता देवता सविताको उपासनासँग सम्बन्धित छ । यही सूर्य उपासनाको लोकपरम्परामा विकसित विशिष्ट स्वरूप छठ पर्वमा देख्न सकिन्छ ।
धार्मिक मान्यता अनुसार छठी मातालाई सन्तानको रक्षा गर्ने, परिवारमा सुख–समृद्धि प्रदान गर्ने तथा भक्तजनका मनोकामना पूरा गर्ने देवीका रुपमा पूजा गरिन्छ । सन्तानको दीर्घायु, परिवारको सुख–शान्ति, स्वास्थ्य र समृद्धिको कामना गर्दै विशेषगरी महिलाहरूले यो कठिन व्रत गर्ने परम्परा छ ।
महाभारतकालीन मान्यता अनुसार सूर्यपुत्र कर्ण सूर्यदेवका परम उपासक थिए । उनी दैनिक नदीमा उभिएर सूर्यलाई अघ्र्य अर्पण गर्थे । कर्णको सूर्य उपासनालाई छठ पर्वको परम्परासँग जोडेर हेर्ने गरिन्छ ।

चार दिनको कठोर साधना र पूजाविधि
छठ पर्व कार्तिक शुक्ल पक्षको चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइन्छ । नहाय–खायबाट सुरु हुने पर्व उषा अघ्र्य र पारणसँगै सम्पन्न हुन्छ । यसका चारै दिनको आफ्नै धार्मिक महत्व र विधि छन् ।
नहाय–खाय : शुद्धता र संकल्पको सुरुवात
छठको पहिलो दिन नहाय–खाय भनिन्छ । यस दिन व्रतालुहरू नदी, पोखरी वा अन्य जलस्रोतमा स्नान गरी घरको सरसफाइ गर्छन् । शुद्धता र पवित्रतालाई विशेष महत्व दिँदै सात्विक भोजन तयार गरिन्छ । सामान्यतया फर्सी, चनाको दाल र भात खाने परम्परा छ। यही दिनदेखि चारदिने अनुष्ठान सुरु हुन्छ ।
खरना : कठिन उपवासको तयारी
दोस्रो दिन खरना मनाइन्छ । यस दिन व्रतालुहरू दिनभर उपवास बस्छन् । साँझ स्नान तथा पूजापछि गुडबाट बनेको खीर, रोटी र अन्य परम्परागत प्रसाद तयार गरिन्छ । पूजापछि प्रसाद ग्रहण गरी परिवार तथा छरछिमेकमा वितरण गरिन्छ । खरनापछि करिब ३६ घण्टाको निर्जला उपवास सुरु हुन्छ, जसमा व्रतालुले अन्न र पानी दुवै त्याग गर्छन् ।
सन्ध्या अघ्र्य : अस्ताउँदो सूर्यको आराधना
तेस्रो दिन छठ पर्वको सबैभन्दा आकर्षक र भावनात्मक दृश्य देख्न पाइन्छ । यस दिन व्रतालुहरू परिवारका सदस्यसहित पूजा सामग्री लिएर नदी, पोखरी तथा जलाशयका किनारमा पुग्छन् ।
बाँसको सुपो र दउरामा केरा, नरिवल, उखु, ठेकुवा, अदुवा, बेसार, स्याउ, सुन्तलालगायतका सामग्री सजाइन्छ । त्यसपछि अस्ताउँदो सूर्यलाई जल र दूधले अघ्र्य अर्पण गरिन्छ । घाटमा गुञ्जिने परम्परागत छठ गीत, दीपको उज्यालो र श्रद्धालुको सामूहिक सहभागिताले वातावरण भक्तिमय बन्छ ।

उषा अघ्र्य : नयाँ आशा र संकल्पको प्रतीक
चौथो दिन बिहान सूर्योदय हुनुअघि नै व्रतालुहरू पुनः घाटमा पुग्छन् । उदाउँदो सूर्यको पहिलो किरणसँगै अघ्र्य अर्पण गरी परिवारको सुख–शान्ति, सन्तानको दीर्घायु र समाजको समृद्धिको कामना गरिन्छ । पूजा सम्पन्न भएपछि पारण गरी निर्जला उपवास तोडिन्छ ।
ठेकुवा र लोकगीतले जोगाएको मौलिक पहिचान
छठ पर्वको पहिचानसँग जोडिएको प्रमुख प्रसाद ठेकुवा हो । गहुँको पिठो, गुड वा चिनी र घिउबाट तयार गरिने ठेकुवा परम्परागत स्वाद र मौलिकताका कारण विशेष मानिन्छ । यसका अतिरिक्त केरा, नरिवल, उखु, स्याउ, सुन्तला, सिँगाडा तथा विभिन्न मौसमी फलफूल पूजामा चढाइन्छ ।
पूजामा बाँसबाट बनेका सुप र दउराको प्रयोग गरिन्छ । यसले स्थानीय हस्तकला, ग्रामीण सीप र परम्परागत व्यवसायको संरक्षणमा समेत योगदान पु¥याउँछ । छठ पर्वको अर्को महत्वपूर्ण पक्ष यससँग जोडिएका लोकगीत हुन् । ‘काँच ही बाँस के बहंगिया’, ‘केलवा के पात पर उगेलन सूरज देव’ र ‘उग हो सूरज देव’ जस्ता गीतले छठको सांस्कृतिक पहिचानलाई पुस्तौँदेखि जीवित राखेका छन् । यी गीतमा आमाको ममता, सन्तानप्रतिको प्रेम, पारिवारिक सुख–समृद्धि र छठी माताप्रतिको अटुट श्रद्धा अभिव्यक्त हुन्छ ।
रुपन्देहीका २४९ घाटमा सुरक्षा सतर्कता
छठ पर्वको अवसरमा रुपन्देही जिल्लाका २४९ वटा घाटमा सुरक्षा व्यवस्था मिलाइएको छ । हजारौँ श्रद्धालुको सहभागिता रहने भएकाले भीडभाड, सम्भावित दुर्घटना, झै– झगडा तथा अन्य अवाञ्छित गतिविधि रोक्न प्रहरीले सुरक्षा सतर्कता बढाएको हो ।
रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार जिल्लाका सबै छठ घाटलाई लक्षित गरी दशैँ–तिहार एकीकृत सुरक्षा योजना अन्तर्गत सुरक्षा व्यवस्था मिलाइएको छ । श्रद्धालुको चहलपहल बढी हुने स्थानमा सुरक्षाकर्मी परिचालन गरी शान्ति सुरक्षा कायम गर्ने व्यवस्था गरिएको उनले बताए ।
स्थानीय प्रशासन, प्रहरी, पूजा व्यवस्थापन समिति र स्थानीय तहबीच समन्वय गरी सुरक्षा तथा व्यवस्थापनका काम अघि बढाइएको छ । विशेषगरी घाटमा हुने भीड व्यवस्थापन, सवारी आवागमन, पार्किङ र व्रतालु तथा श्रद्धालुको सुरक्षालाई प्राथमिकतामा राखिएको छ ।
जिल्लाका विभिन्न स्थानीय तहमा छठ मेलाको स्वरूप र श्रद्धालुको उपस्थिति पनि फरक–फरक छ । बुटवल उपमहानगरपालिकाका सोठीघाट, धोबिघाट, सुन्दरनगर र सौराहा (तिनाउ खोला) क्षेत्रमा छठ पूजा हुँदैछ । सुन्दरनगरमा सबैभन्दा बढी श्रद्धालु सहभागी हुने अनुमान गरिएको छ ।
सिद्धार्थनगर नगरपालिकाका नौउडीहवा, आर्मी क्याम्प, गुनैया, हनुमान मन्दिर, दौलादी तथा दर्खसवा पार्कलगायतका ७ स्थानमा छठ मेला लाग्नेछ । रोहिणी गाउँपालिकामा सबै भन्दा बढी ३१ स्थानमा छठघाट बनाईएको छ । ओमसतिया गाउँपालिकामा १६ वटा स्थानमा छठघाट बनाईएको छ । भीडको सम्भावनालाई ध्यानमा राख्दै केही स्थानमा थप सुरक्षाकर्मीको व्यवस्थासमेत माग गरिएको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिकामा ढडवा, कोठी नदी, सोनबर्षी पोखरी र जयनगरा घाटलगायत २७ भन्दा बढी स्थानमा छठ पूजा तथा मेला आयोजना हुँदैछ ।
त्यस्तै गैडहवा गाउँपालिकामा २२, कोटहीमाईमा २३, मायादेवीमा १६, मर्चवारीमाईमा १४, सम्मरीमाई गाउँपालिकामा २३, देवदह नगरपालिकामा २०, सियारीमा ८, शुद्धोधनमा ६ वटा स्थानमा छठमेला लाग्दैछ ।
यी तथ्यांकले रुपन्देहीमा छठ पर्वको धार्मिक तथा सांस्कृतिक विस्तारसँगै यसको व्यवस्थापनमा स्थानीय तह र सुरक्षा निकायको जिम्मेवारीसमेत बढ्दै गएको देखाउँछन् ।

भैरहवामा सन्ध्या अघ्र्यको तयारी
भैरहवा तथा आसपासका क्षेत्रमा पनि छठ पूजाको तयारी सम्पन्न भई सन्ध्या अघ्र्यको तयारीको तयारी भईरहेको छ । सिद्धार्थनगरस्थित श्रीराम जानकी हनुमान मन्दिर परिसर, कालीभक्ति गण, गोनहिया, बालापुरलगायतका घाटमा सरसफाइ, बेदी निर्माण, सजावट र अन्य व्यवस्थापकीय काम सकिएको छ ।
श्रीराम जानकी हनुमान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र रौनियारले व्रतालु तथा श्रद्धालुलाई सहज रूपमा पूजा आराधना गर्ने वातावरण बनाउन आवश्यक तयारी भएकोे बताए । उनका अनुसार बेदी निर्माणसँगै भक्तजनको भीड व्यवस्थापन र सवारी पार्किङको उचित प्रबन्ध मिलाइएको छ ।
पर्वका क्रममा कुनै असहज अवस्था सिर्जना हुन नदिन समितिले आवश्यक सतर्कता अपनाएको उनले बताए। धार्मिक तथा सांस्कृतिक पर्वलाई राजनीतिभन्दा माथि राखेर राज्य र समुदायबीच आपसी सहकार्य तथा सम्मानको वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।
यस्तै, गोनहिया छठ पूजा समितिका अध्यक्ष वीरेन्द्र कुर्मीले गोनहियामा छठ पूजाका अवसरमा व्रतालु महिलालाई लक्षित गरी भारतको लखनउबाट आउने जागरण टोलीको विशेष प्रस्तुति रहने उनले जानकारी दिए ।
छठ पर्वले धार्मिक आस्थासँगै सामाजिक सद्भाव र सांस्कृतिक एकताको सन्देश दिने कुर्मीको भनाइ छ । जीवकल्याण, विश्वशान्ति तथा सन्तानको सुस्वास्थ्य र दीर्घायुको कामनासहित मनाइने यस पर्वप्रति पछिल्लो समय सबै समुदायको आकर्षण बढ्दै गएको उनले बताए ।
तराई–मधेसको परम्पराबाट साझा सांस्कृतिक पर्वसम्म
परम्परागत रुपमा तराई–मधेस समुदायमा विशेष महत्त्वका साथ मनाइँदै आएको छठ पछिल्लो समय सामाजिक तथा सांस्कृतिक दायरामा विस्तार हुँदै गएको छ । जातजाति, भाषा र क्षेत्रको सीमाभन्दा माथि उठेर यो साझा सांस्कृतिक पर्वका रूपमा स्थापित भइरहेको छ ।
भैरहवा र आसपासका क्षेत्रमा विभिन्न समुदायका मानिसको सहभागितामा छठ मनाउने क्रम बढेको छ । पूजा व्यवस्थापनमा स्थानीय युवा, सामाजिक संस्था, व्यापारी तथा अन्य समुदायका व्यक्तिको सहयोगले यस पर्वलाई सामूहिक उत्सवको स्वरुप दिएको छ ।
नेपाल र भारतबीचको सीमावर्ती सांस्कृतिक सम्बन्धलाई समेत छठले बलियो बनाउँदै आएको छ । रुपन्देहीका विभिन्न क्षेत्रमा रहेका पारिवारिक तथा सामाजिक सम्बन्धका कारण भारतका सीमावर्ती क्षेत्रबाट समेत आफन्तहरू छठ मनाउन आउने गर्छन् । यसले धार्मिक पर्यटन र स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्छ ।
प्रकृतिप्रतिको कृतज्ञता र पर्यावरण संरक्षणको सन्देश
छठ पर्वको सबैभन्दा सुन्दर पक्ष प्रकृतिका विभिन्न स्वरूपप्रतिको सम्मान हो । सूर्य, जल, माटो, वनस्पति र कृषि उत्पादनलाई पूजामा महत्व दिइनुले मानव जीवन प्रकृतिमा निर्भर रहेको सन्देश दिन्छ ।
जलाशयको किनारमा पूजा गर्ने परम्पराले नदी, पोखरी तथा तलाउको संरक्षण गर्न प्रेरित गर्छ। बाँसका सामग्री र प्राकृतिक वस्तुको प्रयोगले स्थानीय स्रोतसाधनसँग जोडिएको परम्परागत जीवनशैलीको महत्त्व उजागर गर्छ ।
तर छठको वास्तविक पर्यावरणीय सन्देशलाई व्यवहारमा उतार्न पूजा सम्पन्न भएपछि घाट तथा जलाशयको सरसफाइ अनिवार्य छ । प्लास्टिकजन्य सामग्री र अन्य फोहोर जलाशयमा फाल्ने प्रवृत्ति रोक्न सके मात्र प्रकृतिप्रतिको सम्मान व्यवहारमा देखिनेछ । यसका लागि स्थानीय तह, पूजा समिति र श्रद्धालुले संयुक्त रूपमा सरसफाइ अभियान सञ्चालन गर्न आवश्यक छ ।
आर्थिक गतिविधिमा पनि छठको प्रभाव
छठ पर्वले धार्मिक तथा सांस्कृतिक महत्वसँगै स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाउँछ । पर्वका बेला फलफूल, पूजा सामग्री, कपडा, बाँसका सुप, दउरा, माटाका दीप तथा मिठाईको माग बढ्छ ।
किसान, फलफूल व्यापारी, साना व्यवसायी, कुमाल तथा बाँसका सामग्री बनाउने कारीगरका लागि यो पर्व अतिरिक्त आम्दानीको अवसर बन्छ । भैरहवासहित रुपन्देहीका बजारमा छठ नजिकिँदै जाँदा देखिने चहलपहलले स्थानीय व्यापारिक गतिविधिलाई गति दिन्छ ।
सीमावर्ती क्षेत्र भएकाले भारतबाट समेत फलफूल तथा अन्य पूजा सामग्री आउने गर्छन् । यसले नेपाल–भारतबीचको व्यापारिक सम्बन्धलाई पनि पर्वसँग जोड्ने गरेको छ ।
अस्ताउँदो र उदाउँदो सूर्यको उपासनामा जीवनको सन्देश
छठ पर्वको सबैभन्दा गहिरो सन्देश अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई समान श्रद्धाका साथ अघ्र्य अर्पण गर्ने परम्परामा निहित छ । सामान्यतया समाजमा उदाउँदो सूर्यलाई सम्मान गर्ने प्रवृत्ति बढी देखिन्छ । तर छठमा अस्ताउँदो सूर्यलाई पनि उत्तिकै श्रद्धा र सम्मान दिइन्छ । यसले जीवनमा सफलता र संघर्ष, उपलब्धि र कठिनाइ तथा उत्थान र अवसान सबैको आफ्नै महत्त्व हुन्छ भन्ने सन्देश दिन्छ ।
यो पर्व धैर्य, संयम, त्याग, अनुशासन र परिवारप्रतिको समर्पणको प्रतीक हो । करिब ३६ घण्टासम्म निर्जला व्रत बस्ने व्रतालुले आफ्नो आस्था र संकल्पशक्तिको परिचय दिन्छन् । परिवार तथा समाजका अन्य सदस्यले समेत सहयोग गरेर यो कठिन अनुष्ठानलाई सफल बनाउँछन् ।