Butwal Today

मधेसका मुख्यमन्त्री यादवले कात्तिक २८ गते विश्वासको मत लिने

२५ कार्तिक २०८३, बुधबार
अ
अ+
अ-

काठमान्डौँ ।

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही कात्तिक २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।

प्रदेश सरकारमा सहभागी नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री यादवले कात्तिक २८ गते दिउँसो १ बजे विश्वासको मत लिने जानकारी दिएका छन् । त्यसका लागि प्रदेशसभा बैठक बोलाउन प्रदेशसभा सचिवालयलाई पत्राचार गर्न लागिएको उनले बताए ।

विश्वासको मत प्राप्त गर्न विभिन्न राजनीतिक दलसँग छलफल भइरहेको र मतदानको समयसम्म संवाद जारी रहने उनको भनाइ छ ।

नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकारमा सहभागी एमालेका चार मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । त्यसैगरी, सरकारमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका चार मन्त्रीले कात्तिक २० गते राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए ।

दुवै दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव सरकार जोगाउने रणनीतिसहित राजनीतिक छलफलमा जुटेका छन् ।

१०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार टिकाउन कम्तीमा ५४ सदस्यको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा नेपाली कांग्रेसका २२, नेकपा एमालेका २३, जसपा नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सदस्य छन् । त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?