© 2026
भैरहवा । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजित थारुले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी रूपमा सञ्चालन गर्न लुम्बिनीको बृहत्तर विकास गुरुयोजनालाई सँगसँगै अघि बढाउनुपर्ने बताएका छन् । सेन्टर फर सोसियल इनोभेसन एण्ड फरेन पोलिसीले भैरहवामा आयोजना गरेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनी पर्यटन कनेक्टिभिटी तथा आर्थिक सम्भावना’ विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री थारुले विमानस्थल सञ्चालनका लागि संघ सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताए ।
उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संघीय सरकारको क्षेत्राधिकारभित्र पर्ने भएकाले प्रदेश सरकारले चाहेर पनि प्रत्यक्ष रूपमा आवश्यक लगानी गर्न नसक्ने अवस्था रहेको उल्लेख गरे । प्रदेश सरकारको क्षेत्राधिकारभित्र पर्ने आयोजना भए प्रदेशले आफैँ लगानी गर्न सक्ने भए पनि संघीय सरकारको प्राथमिकतामा विमानस्थल सञ्चालन नपर्नु चिन्ताको विषय भएको उनको भनाइ थियो । विमानस्थल सञ्चालनका लागि प्रदेश सरकारले आफ्नो तर्फबाट सक्ने पहल गर्छ । तर, यसको आधिकारिक र प्रभावकारी पहल संघीय सरकारले नै लिनुपर्छ,’ उनले भने ।
मन्त्री थारुले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक प्रयोजनका लागि मात्रै नभई बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय पर्यटकको पहुँच सहज बनाउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको स्मरण गराए । त्यसैले विमानस्थल सञ्चालनको विषयलाई लुम्बिनीको समग्र विकाससँग जोडेर हेर्नुपर्ने उनले बताए । उनले लुम्बिनीको बृहत्तर विकास गुरुयोजनालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित हुने गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
‘लुम्बिनीको विकास नहुँदा पर्यटक आउँदैनन्, पर्यटक नआउँदा विमानस्थल सञ्चालनमा कठिनाइ हुन्छ र विमानस्थल सञ्चालन नहुँदा निजी क्षेत्रका व्यवसायसमेत धराशायी हुने अवस्था आउँछ,’ मन्त्री थारुले भने, ‘त्यसैले लुम्बिनीको विकास र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनलाई एकअर्कासँग जोडेर नेपाल सरकारले स्पष्ट योजना बनाउन आवश्यक छ ।’ उनले लुम्बिनीको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन विमानस्थलको प्रभावकारी सञ्चालन, पर्यटन पूर्वाधारको विकास र निजी क्षेत्रको सहभागितालाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे ।