© 2026
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नेपालमा सञ्चालनमा रहेका १७ उद्योगले उत्पादन तथा बिक्रीवितरण गर्ने इनर्जी ड्रिङ्क्समा प्रयोग गरिएको क्याफिनको मात्रा मानव उपभोगका लागि सुरक्षित सीमाभित्र रहेको जनाएको छ। विभागले उपभोक्ता, उत्पादक तथा सरोकारवालालाई लक्षित गरी जारी गरेको सूचनामा उत्पादनको लेबल विवरण र प्रयोगशालाको विश्लेषण प्रतिवेदनका आधारमा इनर्जी ड्रिङ्क्समा क्याफिनको मात्रा सुरक्षित सीमाभित्र रहेको उल्लेख गरेको हो।
विभागका अनुसार प्रतिक्यान १०० मिलिग्राम क्याफिन प्रयोग गरिएको र यो मानव उपभोगका लागि तोकिएको सुरक्षित मात्राको २५ प्रतिशतभन्दा कम रहेको पाइएको छ। तर, विभागले बालबालिका, गर्भवती तथा सुत्केरी महिला, मधुमेहलगायतका रोग भएका व्यक्ति र क्याफिनले असर गर्ने समूहलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न आग्रह गरेको छ।
विभागले उपभोग गर्न मिल्ने व्यक्तिलाई समेत दिनमा दुई क्यानभन्दा बढी इनर्जी ड्रिङ्क्स सेवन नगर्न अनुरोध गरेको छ। ३३० मिलिलिटरसम्मका दुई क्यानभन्दा बढी सेवन नगर्न र इनर्जी ड्रिङ्क्सलाई पानी, जुस, दूध तथा मोहीजस्ता पेय पदार्थको विकल्पका रूपमा प्रयोग नगर्न पनि विभागले सुझाव दिएको छ। त्यस्तै, इनर्जी ड्रिङ्क्सलाई अन्य पेय पदार्थमा मिसाएर सेवन नगर्न विभागले आग्रह गरेको छ।
विज्ञापनमा कानुनी अनुमति अनिवार्य
विभागले इनर्जी ड्रिङ्क्सका उत्पादक तथा बिक्रेतालाई आफ्नो उत्पादनको विज्ञापन गर्नुअघि सम्बन्धित निकायबाट कानुनबमोजिम अनुमति लिन निर्देशन दिएको छ। विज्ञापन प्रसारण गर्दा उत्पादनको लेबलमा उल्लेख गरिएका सचेतना सन्देश तथा उपभोगका लागि सुरक्षित मात्रासम्बन्धी जानकारीसमेत समावेश गर्न विभागले भनेको छ। खाद्य व्यवसायीले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ विपरीत कार्य गरे कानुनअनुसार कारबाही हुने चेतावनीसमेत विभागले दिएको छ।
विभागले इनर्जी ड्रिङ्क्समा क्याफिनको मात्रा सुरक्षित सीमाभित्र रहेको जनाएको भए पनि सेवन गर्दा तोकिएको सीमाको पालना गर्न र संवेदनशील समूहले यसको सेवनबाट टाढा रहन आग्रह गरेको छ।