© 2026
काठमान्डौँ ।
बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न भागमा वर्षा र हिमपात हुने सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रणालीको प्रभाव शनिबारसम्म रहनेछ ।
महाशाखाका अनुसार विगत २४ घण्टामा देशका कुनै पनि स्थानमा वर्षा भएको छैन। हाल बङ्गालको खाडीको मध्य भागमा रहेको न्यूनचापीय प्रणाली बिस्तारै पश्चिम तथा उत्तरपश्चिम दिशातर्फ सर्दै छ । भारतको भूभाग हुँदै अघि बढ्ने क्रममा यस प्रणालीले बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा नेपालतर्फ ल्याउने भएकाले मौसममा प्रभाव पर्ने देखिएको हो ।
महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार सोमबार र मंगलबारसम्म देशभरको मौसम सामान्यतया सफा रहनेछ । यस अवधिमा कुनै मौसमी चेतावनी जारी गरिएको छैन। बुधबारदेखि भने हिमाली तथा पहाडी भूभागमा आंशिक बदली सुरु हुने सम्भावना छ ।
बुधबार राति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुन सक्नेछ । त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
बिहीबारदेखि मौसमी गतिविधि थप सक्रिय हुने महाशाखाको अनुमान छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा वर्षा र हिमपात बढ्न सक्नेछ। कर्णाली प्रदेशको हिमाली क्षेत्रमा समेत प्रणालीको प्रभाव देखिनेछ । यसैगरी पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्नेछ ।
शुक्रबारसम्म यो प्रणालीको प्रभाव देशका अधिकांश भागमा फैलिने सम्भावना छ। जलवाष्पयुक्त हावाको प्रभाव बढेसँगै देशका अधिकांश स्थानमा बदली भई वर्षा हुने अनुमान गरिएको छ ।
विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ । हिमाली क्षेत्रमा भारी हिमपातको समेत जोखिम रहेको छ। शनिबारसम्म प्रणालीको प्रभाव कायम रहने र त्यसपछि मौसम क्रमिक रूपमा सुधार हुँदै जाने महाशाखाले जनाएको छ ।
धानबाली भित्र्याउने मुख्य समयमा हुन लागेको मौसम परिवर्तनले कृषि क्षेत्रमा असर पार्न सक्ने देखिएको छ । वर्षा र हिमपातका कारण धानबाली भित्र्याउने काम प्रभावित हुन सक्ने भएकाले किसानलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।
यसैगरी, पदयात्रा तथा पर्वतारोहणका लागि अनुकूल मानिने समयमा मौसम प्रतिकूल बन्न सक्ने भएकाले हिमाली क्षेत्रमा जाने पर्यटक र पर्वतारोहीलाई विशेष सतर्कता अपनाउन भनिएको छ ।
महाशाखाले धानबाली भित्र्याउने क्रममा रहेका किसान तथा हिमाली क्षेत्रमा रहेका पर्यटकलाई बिहीबारदेखि शनिबारसम्म उच्च सावधानी अपनाउन आग्रह गरेको छ। मौसमसम्बन्धी थप जानकारीका लागि विभागको वेबसाइट, फेसबुक पेज वा टोल फ्री नम्बर ११५५ मा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ ।