Butwal Today

लुम्बिनी विकास कोषको उपाध्यक्ष आनी छोइङको नियुक्ति विवादमा

२ कार्तिक २०८३, सोमबार
अ
अ+
अ-

बुटवल । लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका तथा बौद्ध भिक्षुणी आनी छोइङ डोल्मा नियुक्त भएपछि उनको नियुक्तिलाई लिएर विवाद चर्किएको छ। ‘लुम्बिनी बचाउ महाअभियान’का अध्यक्ष अक्रम खानले नियुक्ति खारेज गर्न सरकारसँग माग गरेका छन्। खानले लुम्बिनीको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्व र स्थानीय जनताको भावनालाई बेवास्ता गर्दै नियुक्ति गरिएको आरोप लगाएका छन्। उनले निर्णय फिर्ता नलिए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन्।

महाअभियानले लुम्बिनीको संरक्षण, विकास र प्रवर्द्धनका लागि स्थानीय समस्या बुझेको, स्वच्छ छवि भएको तथा पारदर्शी व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्ने माग गरेको छ। खानले आनी छोइङ डोल्माको नागरिकता र विदेशबाट आएको रकमको स्रोतबारे सार्वजनिक रूपमा उठेका प्रश्नको निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन्। उनका अनुसार सन् २०१९ मा हङकङबाट १६ लाख ४९ हजार ९४० अमेरिकी डलर नेपाल आएको विषयमा विगतमा बैंक खाता रोक्का गरी अनुसन्धान अघि बढाइएको थियो। उक्त रकमको स्रोत र वित्तीय पारदर्शिताबारे सम्बन्धित निकायले स्पष्ट पार्नुपर्ने उनको माग छ।

नागरिकता र रकमसम्बन्धी विषयमा उठेका आरोप तथा प्रश्नको आधिकारिक पुष्टि र अनुसन्धानको निष्कर्ष सार्वजनिक नभएसम्म तिनलाई प्रमाणित तथ्यका रूपमा लिन मिल्दैन। खानले लुम्बिनी क्षेत्रमा विगतदेखि नै सम्पदा संरक्षणमा लापरबाही र अनियमितता हुँदै आएको आरोपसमेत लगाएका छन्। उनले पुरातात्विक इँटा बिक्री भएको, पीपलको बोट काटिएको, प्राचीन मन्दिरको मौलिक स्वरूप परिवर्तन गरिएको तथा जीवित सम्पदा क्षेत्रमा शुल्क उठाइएको विषयमा छानबिन गर्न माग गरेका छन्। त्यस्तै, भगवान् बुद्धसँग सम्बन्धित अष्टधातु काठमाडौंको संग्रहालयमा राखिएको विषयमा पनि उनले प्रश्न उठाउँदै सम्बन्धित निकायले वास्तविकता सार्वजनिक गर्नुपर्ने बताएका छन्।

खानले लुम्बिनी विकास कोषको नेतृत्व चयन गर्दा स्थानीय समुदायको भावना, सम्पदाको संरक्षण र वित्तीय सुशासनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। उनका अनुसार उपाध्यक्ष पदका लागि धेरै व्यक्तिले आवेदन दिएको अवस्थामा विवादरहित र योग्य व्यक्तिलाई छनोट गर्न सकिने विकल्प हुँदाहुँदै नियुक्ति गरिएको विषयमा सरकारले जवाफ दिनुपर्छ। उनले बुद्धको नाममा राजनीति र आर्थिक लाभ लिने प्रवृत्तिको अन्त्य गर्दै लुम्बिनीको ऐतिहासिक तथा धार्मिक गरिमा जोगाउनुपर्ने बताएका छन्।

सरकारले नियुक्ति खारेज गर्ने माग सम्बोधन नगरे आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिँदै महाअभियानले लुम्बिनीको संरक्षण र विकासका विषयमा सरकार गम्भीर हुनुपर्ने जनाएको छ। गायिका तथा बौद्ध भिक्षुणी आनी छोइङ डोल्मालाई मन्त्रिपरिषद्को असोज ३० गते बसेको बैठकले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?