Butwal Today

पोखरा–दुबई उडान तीन सातामै ४ हजार ७३४ यात्रु

२ कार्तिक २०८३, सोमबार
अ
अ+
अ-

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईमा सुरु भएको सिधा उडानले छोटो समयमै उत्साहजनक यात्रु आकर्षित गरेको छ। फ्लाई दुबईले उडान सुरु गरेको तीन सातामै ४ हजार ७३४ यात्रुले पोखरा विमानस्थल प्रयोग गरेका छन्। फ्लाई दुबईले सेप्टेम्बर २३ देखि पोखरा–दुबई सिधा उडान सञ्चालन गर्दै आएको छ। विमानस्थलको तथ्यांकअनुसार सेप्टेम्बर २३ देखि अक्टोबर १५ सम्मका २३ दिनमध्ये २२ दिन उडान भएको थियो। सेप्टेम्बर २५ मा मौसमका कारण उडान हुन सकेन। उक्त अवधिमा फ्लाई दुबईमार्फत ३ हजार २८३ जना पोखरा आएका छन् भने १ हजार ४५१ जना पोखराबाट दुबई गएका छन्। पोखरा आउने यात्रुमध्ये २ हजार ९३४ जना नेपाली र ३४९ जना विदेशी छन्। त्यसैगरी पोखराबाट दुबई जाने यात्रुमध्ये १ हजार २१२ जना नेपाली र २३९ जना विदेशी रहेका छन्।

पर्यटन र स्थानीय अर्थतन्त्रमा नयाँ सम्भावना

पोखरा–दुबई उडानको प्रारम्भिक यात्रु आवागमनले पोखराका पर्यटन व्यवसायी र स्थानीय सरकारलाई उत्साहित बनाएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान हुनु आफैँमा महत्त्वपूर्ण उपलब्धि भएको बताए। उनका अनुसार उडान सञ्चालनसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे रहेका भ्रम हट्दै गएका छन्। पहिलो तीन साताको यात्रु आवागमनले पोखरा–दुबई रुट व्यवस्थित रूपमा अघि बढ्न सक्ने संकेत गरेको उनले बताए। “पोखरा पर्यटकीय राजधानी हो। यहाँ अन्तर्राष्ट्रिय उडान आवश्यक थियो, जुन अब पूरा भएको छ,” आचार्यले भने। उनका अनुसार सिधा उडानका कारण पोखरा महानगरपालिका र समग्र गण्डकी प्रदेशको आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्न थालेको छ। नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलले पोखरा–दुबई उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोडेको बताए। यसले पर्यटन प्रवर्धनसँगै विदेशी पर्यटकको आवागमन सहज बनाउने उनको भनाइ छ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले यो उडान पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशको आर्थिक गतिविधिसँग जोडिएको बताए। नियमित अन्तर्राष्ट्रिय उडानले पर्यटक आगमन बढाउनुका साथै होटल, रेस्टुरेन्ट, यातायात, पदयात्रा र अन्य पर्यटन सेवामा समेत सकारात्मक प्रभाव पार्ने उनले बताए।उनका अनुसार अन्नपूर्ण सर्किटमा आउने पर्यटकले दुबईबाट पोखरा सिधै आउन पाउँदा यात्रा थप सहज र ‘होम टु होम’ अनुभवजस्तो बन्नेछ। सिधा हवाई सम्पर्कले पोखरालाई विदेशी पर्यटकका लागि थप पहुँचयोग्य गन्तव्य बनाउने व्यवसायीहरूको अपेक्षा छ। तीन साताको प्रारम्भिक तथ्यांकले पोखरा–दुबई उडान यात्रु आवागमनको माध्यम मात्र नभई पोखराको पर्यटन, व्यापार र क्षेत्रीय अर्थतन्त्र विस्तार गर्ने सम्भावनायुक्त आधारका रूपमा स्थापित हुँदै गएको देखाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?