Butwal Today

दसैँमा विद्युत् आपूर्ति नियमित राख्न प्राधिकरणको तयारी

१ कार्तिक २०८३, आइतबार
अ
अ+
अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले दसैँका अवसरमा विद्युत् आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन देशभरका वितरण केन्द्रलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

दसैँका समयमा औद्योगिक तथा व्यावसायिक गतिविधि कम हुने भए पनि घरपरिवार, धार्मिक स्थल, बजार तथा सार्वजनिक क्षेत्रमा विद्युत् खपतको प्रकृति फरक हुने भएकाले विद्युत् प्रणालीको सुरक्षित सञ्चालनलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ र वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकालले शुक्रबार प्रादेशिक तथा प्रदेश डिभिजन कार्यालय र वितरण केन्द्रका प्रमुखसँग भर्चुअल बैठक गरी दसैँ अवधिभर विद्युत् आपूर्तिमा अवरोध हुन नदिन आवश्यक तयारी गर्न निर्देशन दिएका हुन् ।

कार्यकारी निर्देशक श्रेष्ठले विद्युत् आपूर्तिमा अवरोध आए तत्काल मर्मतसम्भार गरी सेवा सुचारु गर्न प्राविधिक टोलीलाई तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् । प्रसारण लाइन तथा वितरण प्रणालीको निरीक्षण र मर्मतसम्भार गर्न बाँकी रहे तत्काल सम्पन्न गरी सम्भावित अवरोध न्यूनीकरण गर्न पनि सम्बन्धित कार्यालय प्रमुखलाई भनिएको छ ।

दसैँका समयमा विद्युत् आपूर्तिसम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न ‘नो लाइट’ सेवामा प्राप्त हुने फोन उठाउने र गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन दिइएको प्राधिकरणले जनाएको छ । विद्युत् आपूर्तिमा समस्या देखिए तत्काल प्राविधिक टोली परिचालन गरी सेवा यथाशीघ्र सुचारु गर्ने व्यवस्था मिलाउनसमेत भनिएको छ ।

प्राधिकरणले विद्युत् माग तथा आपूर्तिको अवस्थालाई निरन्तर निगरानी गर्दै प्रणालीमा समस्या आउन नदिन आवश्यक सतर्कता अपनाएको जनाएको छ । दसैँ अवधिभर विद्युत् आपूर्ति नियमित राख्न सम्बन्धित कार्यालय तथा प्राविधिक टोलीलाई आवश्यक समन्वय र तयारीसहित परिचालन गरिनेछ ।

यसैबीच, प्राधिकरणले चाडपर्वका समयमा विद्युत्को सुरक्षित प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ । घरमा प्रयोग हुने विद्युतीय उपकरण तथा तारको अवस्था जाँच गर्न, गुणस्तरहीन विद्युतीय सामग्री प्रयोग नगर्न र विद्युत् चुहावट वा तारमा समस्या देखिए आफैँ मर्मत नगरी दक्ष प्राविधिकबाट मात्र मर्मत गराउन प्राधिकरणले अनुरोध गरेको छ ।

विद्युत् आपूर्तिसम्बन्धी समस्या वा गुनासो भए नजिकको वितरण केन्द्र वा सम्बन्धित ‘नो लाइट’ सेवामा सम्पर्क गर्न पनि प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?