© 2026
चन्द्रौटा ।
व्यापारका लागि ल्याइएको चामलसहित पिकअप गाडी नियन्त्रणमा परेपछि कपिलवस्तुको कृष्णनगरका एक व्यापारीले आत्मदाहको प्रयास गरेका छन् । कृष्णनगर नगरपालिका–२, बैंक रोडस्थित गल्ला पसल सञ्चालक महेश अग्रहरीले मट्टितेल छर्केर आगो लगाउने प्रयास गरेको प्रहरीले जनाएको छ ।
लुम्बिनी प्रदेश प्रहरीको विशेष टोलीले आवश्यक कागजपत्र नभएको भन्दै अग्रहरीको पिकअप गाडीसहित चामल नियन्त्रणमा लिएर भन्सार कार्यालय पठाएको थियो । त्यसपछि १० लाख रुपैयाँ धरौटी राख्नुपर्ने सूचना पाएपछि उनले आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक रिपेन्द्र कुमार सिंहले बताए । आत्मदाहको प्रयास गरिरहेका अग्रहरीलाई प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि तौलिहवा अस्पताल पु¥याएको थियो । त्यहाँबाट थप उपचारका लागि उनलाई बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार लु २ च ४९४९ नम्बरको पिकअपबाट ३२ क्विन्टल चामल बरामद गरिएको थियो । उक्त चामलको मूल्य ११ लाख ६० हजार रुपैयाँ रहेको छ । जिल्लाका विभिन्न स्थानबाट बरामद गरिएका भन्सार छलीका सामानको कुल मूल्य १४ लाख १२ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ । यस घटनाले भन्सार छली नियन्त्रणका क्रममा हुने कारबाही र त्यसबाट उत्पन्न परिस्थितिलाई चर्चामा ल्याएको छ । कानुन कार्यान्वयनसँगै व्यवसायीका गुनासा र समस्यालाई पनि कानुनी प्रक्रियाबाट सम्बोधन गर्नु आवश्यक रहेको स्थानीय व्यवसायीहरु बताउँछन् ।
आत्मदाहको प्रयास गर्नुअघि अग्रहरीले सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा आफूले एक लाख रुपैयाँ घुस नदिएकै कारण कागजपत्र हुँदाहुदैँ भन्सार बुझाइएको आरोप लगाएका छन् । उनले भिडियोमा डीआईजीका घुमुवाले घुस मागेको दाबीसमेत गरेका छन् । व्यापारीको यो आरोपले प्रहरीको कारबाही, राजस्व प्रशासनको कार्यशैली र सीमावर्ती क्षेत्रमा हुने भनिएका आर्थिक अनियमितताबारे गम्भीर प्रश्न उठेको छ । यद्यपि घुस मागिएको आरोपको पुष्टि हुन बाँकी छ । यस घटनाबारे थप अनुसन्धन भइरहेको प्रहरीको भनाइ छ ।