© 2026
विराटनगर । प्रदेशका साझा समस्या, विकासका प्राथमिकता तथा तीन तहका सरकारबीचको समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यसहित विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सुरु भएको छ। कोशी प्रदेशको राजधानी विराटनगरमा सुरु भएको सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्रीहरूले आ–आफ्नो प्रदेशको समग्र अवस्था, विकासका चुनौती, अधिकार कार्यान्वयन तथा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयका विषयमा धारणा राखेका छन्।
सम्मेलनमा प्रदेशका अधिकार कार्यान्वयन, विकास निर्माणका योजना, स्रोतसाधनको व्यवस्थापन तथा तीन तहका सरकारबीच प्रभावकारी सहकार्य आवश्यक रहेको विषयमा जोड दिइएको छ। प्रदेशका साझा समस्या समाधान गर्न अन्तरप्रदेश समन्वय र अनुभव आदानप्रदानलाई थप व्यवस्थित बनाउनुपर्नेमा समेत छलफल भएको छ।
सम्मेलनमा सातै प्रदेशका योजना आयोगका उपाध्यक्षहरूले आ–आफ्नो प्रदेशको समग्र अवस्था, विकासका सम्भावना, प्राथमिकता, समस्या तथा चुनौती समेटिएका कार्यपत्र प्रस्तुत गरेका थिए। ती कार्यपत्रमा प्रदेशको आर्थिक तथा सामाजिक अवस्था, विकासका आवश्यकता र संघीय शासन प्रणालीलाई प्रभावकारी बनाउने विषय समेटिएका छन्।
कार्यपत्रका आधारमा विराटनगर घोषणापत्र २०८३ तयार हुँदै
सातै प्रदेशका योजना आयोगका उपाध्यक्षहरूले प्रस्तुत गरेका कार्यपत्र तथा सम्मेलनमा मुख्यमन्त्रीहरूले राखेका धारणालाई आधार बनाएर ‘विराटनगर घोषणापत्र, २०८३’ जारी गर्नेछ । घोषणापत्रमा प्रदेशका साझा समस्या, तीन तहका सरकारबीचको समन्वय, अन्तरप्रदेश सहकार्य, विकासका प्राथमिकता तथा प्रदेशका अधिकार प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयलाई प्राथमिकता दिने तयारी छ।
संघीय शासन प्रणालीलाई परिणाममुखी बनाउन प्रदेश सरकारहरूको भूमिका प्रभावकारी बनाउने, साझा अधिकारका विषयमा देखिएका जटिलता समाधान गर्ने तथा विकासका योजनामा सरकारहरूबीच सहकार्य बढाउने विषय घोषणापत्रका प्रमुख आधार बन्ने अपेक्षा गरिएको छ। सम्मेलनले प्रदेशहरूबीच आपसी समझदारी र सहकार्य बढाउँदै संघीयतालाई थप प्रभावकारी बनाउन साझा प्रतिबद्धता निर्माण गर्ने आयोजक रह्को कोसि प्रदेश सरकारले बताएको छ।