Butwal Today

चाडपर्व सहरमा, गाउँ सुनसान हुँदै

बसाइँसराइले बदल्दैछ थारू समुदायको पर्व मनाउने शैली
२२ आश्विन २०८३, बिहीबार
अ
अ+
अ-

बाँके ।  केही दशकअघिसम्म बाँके र बर्दियाका थारू गाउँमा माघी आउनुअघि नै छुट्टै चहलपहल सुरु हुन्थ्यो । गाउँका घर–आँगनमा आफन्त जम्मा हुन्थे । ढिक्री पाक्थ्यो, मासुका परिकार बन्थे, मादल घन्किन्थ्यो । युवायुवतीदेखि वृद्धवृद्धासम्म सामूहिक रूपमा पर्व मनाउँथे । माघी नयाँ वर्षको सुरुवात मात्र थिएन, आफन्तको पुनर्मिलन, समुदायको निर्णय र सांस्कृतिक पहिचानको अवसरसमेत थियो ।

अहिले त्यो दृश्य विस्तारै फेरिँदै गएको छ । गाउँका घरमा मानिसको संख्या घट्दै गएको छ भने चाडपर्व मनाउने थारू समुदायका परिवार सहरमा बढ्दै छन् । हिजो चाडपर्व मनाउन सहरबाट गाउँ फर्कनेहरू अहिले सहरमै माघी, अष्टिम्की र गुरियाजस्ता पर्व मनाउन थालेका छन् ।

बर्दियाको बढैयाताल गाउँपालिका–५ बढैया गाउँका बरघर अर्जुन थारुका अनुसार बसाइँसराइले गाउँको सामाजिक संरचनासँगै चाडपर्वको स्वरूप पनि परिवर्तन गरेको छ । “पहिले चाडपर्वमा घर फर्कने परिवारका सदस्य अहिले सहरमै पर्व मनाउन थालेका छन्,” उनले भने, “यसले परिवार र समुदायबीचको एकतामा समेत असर पार्दै गएको छ ।”
रोजगारी, शिक्षा, स्वास्थ्य, व्यापार र सुविधाको खोजीमा गाउँबाट सहरतर्फ भइरहेको बसाइँसराइ यसको प्रमुख कारण हो । बाँकेका राप्तीसोनारी, बैजनाथ, खजुरा, जानकी, डुडुवा र नरैनापुर तथा बर्दियाका बढैयाताल, बारबर्दिया, मधुवन, ठाकुरबाबा, राजापुर र गेरुवालगायतका थारू बस्तीबाट ठूलो संख्यामा युवा सहर तथा विदेशतर्फ पुगेका छन् ।
यसको प्रत्यक्ष असर चाडपर्वमा देखिन थालेको छ । गाउँमा एक समय सयौँ मानिस जम्मा हुने पर्व कतिपय ठाउँमा सीमित परिवारमा खुम्चिएको कोहलपुरका स्थानीय नारायण थारुको अनुभव छ ।

“पहिले माघीमा गाउँका घर–आँगन भरिन्थे । अहिले धेरै घरमा वृद्धवृद्धा मात्र भेटिन्छन्,” उनले भने, “छोराछोरी सहर वा विदेशमा छन् । सबै एकैपटक गाउँ फर्किन नसक्दा पहिलेको जस्तो रौनक देखिँदैन ।”
बसाइँसराइसँगै थारू समुदायका पर्व सहरमा भने विस्तार भइरहेका छन् । नेपालगन्ज र कोहलपुरका विभिन्न बस्तीमा माघीका अवसरमा सांस्कृतिक कार्यक्रम, थारू नृत्य, स्थानीय गीतसंगीत, परम्परागत पोसाक तथा ढिक्रीलगायतका परिकार प्रदर्शन हुन थालेका छन् । कतिपय ठाउँमा होटेल, पार्टी प्यालेस र सामुदायिक भवनमा समेत माघी कार्यक्रम आयोजना हुन्छन् ।
बैजनाथ गाउँपालिका–८ का चन्टराम थारुका अनुसार माघी मात्र होइन, अन्य पर्वसमेत गाउँको आँगनबाट सहरका सभा तथा कार्यक्रमस्थलमा पुग्दैछन् ।

“पहिले पर्वका बेला गाउँमा छुट्टै रौनक हुन्थ्यो । अहिले धेरै कुरा बजारीकरण हुँदै गएको छ,” उनले भने, “पर्व सहरमा पुग्नु राम्रो हो तर त्यससँगै त्यसको मौलिकता कति जोगिएको छ भन्ने प्रश्न पनि उठ्छ ।”
बैजनाथ गाउँपालिका–गाभरका होमस्टे व्यवसायी कृष्ण चौधरीको अनुभवमा गाउँमा माघी कुनै एकदिने कार्यक्रम थिएन । त्यो समुदायको जीवन पद्धतिकै एउटा हिस्सा थियो ।

“गाउँमा माघी जीवनको हिस्सा थियो । अष्टिम्की महिलाको सामूहिक भेटघाट थियो । गुरिया परिवार र समुदायलाई जोड्ने माध्यम थियो,” उनले भने, “सहरमा पुगेपछि कतिपय ठाउँमा यही संस्कृति एकदिने कार्यक्रम र सांस्कृतिक प्रस्तुतिमा सीमित हुन थालेको छ ।”

मञ्चमा थारू नृत्य प्रस्तुत हुन्छ । परम्परागत पोसाक लगाइन्छ । ढिक्री र अन्य परिकार प्रदर्शन गरिन्छ । सामाजिक सञ्जालमा तस्बिर र भिडियो राखिन्छ । तर पर्वसँग जोडिएको सामुदायिक सम्बन्ध, परम्परागत विधि र पुस्तान्तरणको अभ्यास भने कमजोर हुँदै गएको उनको भनाइ छ ।

माघी मात्र होइन, थारू समुदायका अन्य महत्वपूर्ण पर्व गुरिया र अष्टिम्कीमा पनि बसाइँसराइको प्रभाव परेको छ ।
अष्टिम्कीमा विशेषगरी महिलाको सामूहिक सहभागिता महत्वपूर्ण मानिन्छ । पहिले गाउँका महिलाहरू समूह बनाएर एक–अर्काको घरमा पुग्ने, गीत गाउने, पूजा गर्ने र परम्परागत विधि पूरा गर्ने गर्थे । अहिले सहरमा बस्ने थारू परिवारले पनि अष्टिम्की मनाउँछन् । तर सहरको व्यस्त जीवन, सीमित आवास र छिमेकीबीचको कमजोर सामाजिक सम्बन्धका कारण सामूहिक पक्ष पहिलेको जस्तो हुन नसकेको स्थानीयको अनुभव छ ।

पर्वको धार्मिक पक्ष निरन्तर रहे पनि त्यससँग जोडिएको सामाजिक र सांस्कृतिक अभ्यास कमजोर हुँदै गएको देखिन्छ । यसले नयाँ पुस्ताले आफ्नो संस्कृति कसरी सिक्ने भन्ने प्रश्नसमेत खडा गरेको छ ।
संस्कृति पुस्ताबाट पुस्तामा हस्तान्तरण हुन्छ । हजुरबा–हजुरआमाले कथा सुनाउँछन् । आमाबुबाले पर्वका विधि सिकाउँछन् । बालबालिकाले गाउँको सामूहिक जीवनबाट व्यवहारमै संस्कृति सिक्छन् । तर अहिलेको पुस्ता सहरमा हुर्किरहेका कारण उनीहरूको संस्कृति सिक्ने वातावरण बदलिएको चौधरी बताउँछन् ।

“नयाँ पुस्ता आफ्नो संस्कृति मान्न चाहँदैन भन्ने होइन,” उनले भने, “तर संस्कृति सिक्ने वातावरण गाउँको जस्तो छैन ।”
बाँके र बर्दियाका ग्रामीण क्षेत्रमा अहिले एउटा फरक सामाजिक अवस्था देखिन्छ । घर छन् तर घरमा मानिसको संख्या घट्दै गएको छ । परिवारका सदस्य रोजगारीका लागि नेपालगन्ज, कोहलपुर, काठमाडौँ, बुटवललगायतका सहरमा छन् । कतिपय भारत तथा तेस्रो मुलुकमा छन् ।

परिवारका कमाउने सदस्य विदेशमा हुँदा चाडपर्वमा घर फर्कन वर्षौँ लाग्न सक्छ । सहरमा व्यवसाय गर्नेले लामो समय गाउँमा बस्न सक्दैनन् । बालबालिका सहरका विद्यालयमा पढ्ने भएकाले विद्यालय बिदा र अभिभावकको कामको समय पनि मिल्दैन ।
यसले परिवारको भौगोलिक दूरीसँगै चाडपर्वको स्वरूपसमेत परिवर्तन गरेको राजापुरका स्थानीय सोम चौधरी बताउँछन् । यसरी हेर्दा चाडपर्वको स्थान मात्र परिवर्तन भएको छैन, पर्वसँग जोडिएको सामाजिक सम्बन्ध पनि परिवर्तन हुँदै गएको छ ।
बसाइँसराइलाई रोक्न सकिने अवस्था छैन । रोजगारी, शिक्षा र राम्रो जीवनको खोजीमा सहर पस्नु स्वाभाविक प्रक्रिया हो । चुनौती भनेको सहर पुगेको नयाँ पुस्तालाई आफ्नो सांस्कृतिक जरा र समुदायसँग कसरी जोडिराख्ने भन्ने हो ।

गाउँमा रोजगारी, गुणस्तरीय शिक्षा, स्वास्थ्य, सडक र बजारको पहुँच बढाउन सके गाउँमै बस्ने वातावरण बनाउन सकिने स्थानीयको भनाइ छ । थारू बस्तीमा रहेको खाना, कला, नृत्य, पोसाक, परम्परागत घर, कृषि जीवन र चाडपर्वलाई ग्रामीण पर्यटनसँग जोड्न सके संस्कृति संरक्षणसँगै स्थानीय अर्थतन्त्रसमेत बलियो बनाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?