© 2026
जेनेभा ।
प्रशान्त महासागरको समुद्री सतहको तापक्रम असामान्य रूपमा बढेसँगै एल निनो तीव्र बन्दै गएको र आगामी डिसेम्बरमा उत्कर्षमा पुग्ने संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) ले जनाएको छ । यस पटकको एल निनो सन् १९५० यताकै सबैभन्दा शक्तिशालीमध्ये एक हुनसक्ने चेतावनी दिइएको छ ।
डब्लुएमओका प्रमुख सेलेस्ट साउलोले एल निनो ‘दृढ रूपमा स्थापित र तीव्र गतिमा सुदृढ भइरहेको’ बताए । उनका अनुसार यो अवस्था सन् २०२७ को फेब्रुअरीसम्म कायम रहने सम्भावना झण्डै शतप्रतिशत छ ।
डब्लुएमओका अनुसार मध्य तथा पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरमा समुद्री सतहको तापक्रम जुनमा औसतभन्दा १.६ डिग्री सेल्सियस बढी रहेकामा अगस्टमा २।५ डिग्री सेल्सियस पुगेको थियो । अक्टोबर–नोभेम्बर–डिसेम्बरमा यो असामान्यता करिब ३।७ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ र यो सन् २०१५–२०१६ मा कायम २.६ डिग्री सेल्सियसको अघिल्लो कीर्तिमानभन्दा बढी हो ।
एल निनोका कारण पृथ्वीमा नयाँ ताप थपिने नभई समुद्रमा सञ्चित ताप बाहिर आउने साउलोले बताए । हालको समुद्र आफूहरूले मापन गरेयताकै सबैभन्दा तातो रहेकाले बाहिर निस्कन थप ताप उपलब्ध रहेको उनले उल्लेख गरे ।
एल निनोले विश्वका धेरै भागमा औसतभन्दा बढी तापक्रम तथा वर्षाको ढाँचामा परिवर्तन ल्याउने भएकाले खडेरी र बाढीको जोखिम बढ्न सक्छ । यसले अर्थतन्त्र, पारिस्थितिक प्रणाली र समुदायमा समेत असर पार्ने डब्लुएमओले जनाएको छ ।
सामान्यतया प्रत्येक दुईदेखि सात वर्षमा देखिने एल निनो करिब नौदेखि १२ महिनासम्म रहन्छ । यसअघिको एल निनोले सन् २०२३ र २०२४ लाई अभिलेखकै अत्यधिक तातो वर्ष बनाउन योगदान गरेको थियो ।
हालको एल निनोले मध्य अमेरिकालगायत केही क्षेत्रमा प्रभाव देखाउन थालिसकेको छ । त्यहाँ खडेरीका कारण जनावर र बाली नष्ट भइरहेका छन् ।