© 2026
नेपालबाट मनसुन औपचारिक रूपमा बाहिरिएको छ । मनसुन बाहिरिएपनि देशभर भारी बर्षा भैरहेको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकमाथि यो भारी बर्षाले झनै सास्ती थपिएको छ । त्यसपनि बाढीमा परि हजारौं घर परिवार विस्थापित भएको अवस्थामा यो भारी बर्षाले पीडामाथि पीडा थपिदिएको छ ।
भोटेकोशी बाढी प्रभावित परिवार राहतको पर्खाइमा छन् । बाढी प्रभावितहरूको साँझ विहानको छाक टार्ने समस्या देखिएको छ । हजारौं परिवारलाई तत्कालै राहत दिनुपर्ने आवश्यकता छ । सरकार कहाँ छ ? त्यहाँका नागरिकले प्रश्न गरिरहेका छन् । अवको दिनमा प्रभावित क्षेत्रमा ढिलो नगरि राहत वितरणलाई प्राथमिकता दिनु जरुरी छ ।
असोज ८ देखि लगातार भैरहेको भारी बर्षाले पीडा थपिदिएको छ । सरकारले आफ्नो तर्फबाट कति जिम्मेवारी पूरा ग¥यो, त्यो आम नेपाली जनताले बुझेका छन, तर अर्कोतर्फ रेडक्रस जस्ता संघ संस्थाहरूले प्रभावित परिवारको राहत र उद्धार तथा पुनस्र्थापनामा ध्यान दिनुपर्ने आवश्यकता महसुस भएको छ । भारी बर्षामा प्रभावित व्यक्तिहरूको राहत, स्थानान्तरण तथा पुनस्र्थापना कार्य शीघ्र सम्पन्न गर्नु जरुरी छ ।
प्रभावित क्षेत्रमा राहत ढिलो भएको गुनासो सुनिन थालेको छ । बाढीबाट प्रभावित भएका बासिन्दाहरू राहतको पर्खाइमा छन् । सरकारले उद्धार र राहत वितरण कार्यलाई तीव्रता दिएको बताएपनि बाढी पीडितहरूले राहत पाउन नसकेको गुनासो गरेका छन् । समयमा नै राहत पु¥याउनु सरकारको दायित्व र कर्तव्य पनि हो ।
सरकारले राहत वितरणमा अनियमिता हुन नदिने निर्णयलाई जनअपेक्षा अनुसार सहज ढंगले राहत प्राप्त गर्ने वातावरण सिर्जना गर्न सक्नुपर्छ । सरकारले राहत वितरणका लागि सरकारी संयन्त्रको साथै आम नागरिकको साथ र सहयोग लिनुपर्छ । विपदको समयमा सबै नागरिकले आफ्नो दायित्व र कर्तव्य सम्झिएर बाढी पीडितहरूको समस्यामाथि मल्हम लगाउनु जरुरी छ । बाढी पहिरोबाट प्रभावित भएको क्षेत्रमा तत्काल राहत पु¥याउने काममा कुनैपनि मानेमा ढिलाई गरिनुहुँदैन ।
सरकारले बाढीबाट घाइते भएकाहरूको उचित उपचार र बाढीबाट भत्किएका भौतिक संरचना निर्माणमा विशेष ध्यान दिनुपर्छ । बाढी पीडितहरूले अब राहत पाउनबाट वञ्चित हुनु नपरोस् । नेपालबाट भारी पानी पार्ने प्रणाली बाहिरिएपनि जोखिम अझै कायमै रहेको भन्दै सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । विपदमा धैर्यतापूर्वक चुनौतीको सामना गर्नु हामी सवैको कर्तब्य हो ।
साथै यो विपत्तिको घडीमा शीघ्र उद्धार र राहतका लागि राज्यदेखि नागरिक सवै स्तरबाट खटिनुपर्ने अवस्था आएको छ । देशका धेरै राजमार्ग अवरुद्ध हुँदा विगत केही सातादेखि यात्रुहरू समस्यामा परेको सर्वविदितै छ । अव पहिरो र बाढीका कारण मानवीय क्षति बेहोरेका परिवारलाई तत्काल राहत र पुनस्र्थापनाको खाँचो छ । स्थानीय रेडक्रस र पालिकाहरूले प्रभावित परिवारलाई राहतको व्यवस्थापन गरेपनि अव दिगो व्यवस्थापनको खाँचो छ ।
हरेक बर्ष बाढी पहिरोको यही भयानक रूप दोहोरिरहने भएकोले अव प्रकोप पूर्वको सचेतताका विषयमा नजर अन्दाज गर्नुहुँदैन भन्नेतर्फ हामी सवैको ध्यान जानैपर्दछ । पीडित परिवारहरूलाई खाद्यान्न, औषधि, कपडा तथा आर्थिक सहायता तुरुन्त उपलब्ध गराइयोस् । हामी सबै नेपालीहरू आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर यो विपत्तिलाई एकजुट भएर सामना गर्नुपर्दछ । घाईते भएकाहरूलाई निशुल्क औषधी उपचारको व्यवस्था गर्नेतर्फ सरकारको ध्यान जाओस् ।
नागरिकको सुरक्षाको जिम्मा सरकारको भएकोले सरकारले प्रकोपबाट उत्पन्न विषम परिस्थितिको प्रभावकारी व्यवस्थापन गर्नु जरुरी छ । प्रकोप भएपछि त्यसको रोकथाम र नियन्त्रणको भन्दा पनि प्रकोप अगावैको सचेतता जरुरी छ ।
यो वर्ष मनसुन बाहिरिएपनि पानी पर्नेक्रम रोकिन समय लाग्ने भएकोले बाढी पहिरोको जोखिमका बीच सचेतता अपनाउने तर्फ ढिलाई नहोस् । प्रभावित परिवारलाई सरकारले तत्काल राहत उपलब्ध गराओस् ।