Butwal Today

सुनवल–४ मा तीन महिनामै १७ लाख राजस्व

२० आश्विन २०८३, मंगलवार
अ
अ+
अ-

नवलपरासी । सुनवल नगरपालिका–४ ले चालु आर्थिक वर्षको पहिलो तीन महिनामै १७ लाख २० हजार तीन रुपियाँ राजस्व सङ्कलन गरेको छ । वडाले आन्तरिक राजस्व सङ्कलनलाई प्राथमिकता दिँदै सेवाग्राहीलाई कर तथा सेवा शुल्क तिर्न प्रोत्साहित गरेपछि राजस्व सङ्कलनमा वृद्धि भएको हो ।

गत आर्थिक वर्ष २०८२÷८३ मा उक्त वडाले कुल ४९ लाख ५७ हजार ९८२ रुपियाँ राजस्व सङ्कलन गरेको थियो । चालु आर्थिक वर्षको तीन महिनामै गत वर्षको वार्षिक सङ्कलनको करिब ३५ प्रतिशत राजस्व सङ्कलन भएको वडाले जनाएको छ ।
वडा सचिव निर्मला प्रजापतिको सक्रियतापछि राजस्व सङ्कलनमा सुधार आएको वडा कार्यालयका कर्मचारीले बताएका छन् । रामग्राम नगरपालिकाको राजस्व शाखामा लामो समय काम गरेकी प्रजापति गत आर्थिक वर्षको अन्त्यतिर सुनवल नगरपालिका–४ मा सरुवा भएर आएकी हुन् ।

प्रजापतिले सेवाग्राहीलाई कर तथा सेवा शुल्कको महत्त्व बुझाउने, आवश्यक सहजीकरण गर्ने र कर तिर्न प्रोत्साहित गर्ने कार्यलाई प्राथमिकता दिइएको बताइन् । “वडा सचिव प्रशासनिक काममा मात्र सीमित हुने होइन, नगरपालिकाको आन्तरिक स्रोत परिचालनमा पनि भूमिका खेल्नुपर्छ,” उनले भनिन् ।

सुनवल–४ मुख्य बजार क्षेत्रसमेत पर्ने भएकाले राजस्व सङ्कलनको सम्भावना राम्रो रहेको उनले बताइन् । व्यवसायी तथा सेवाग्राहीलाई कर र सेवा शुल्कको महत्त्व बुझाउन सके आन्तरिक राजस्व थप बढाउन सकिने उनको भनाइ छ ।
“म यहाँ आएको करिब छ महिना भयो । वडा अध्यक्ष र कर्मचारीबाट राम्रो सहयोग पाएको छु,” उनले भनिन्, “मैले कर्मचारीको नेतृत्व र सेवाग्राहीसँग सहजीकरण गर्ने काम मात्र गरेकी हुँ । नागरिकलाई राम्रो व्यवहार र आवश्यक परामर्श दिन सकियो भने उहाँहरू पनि कर तथा सेवा शुल्क तिर्न सकारात्मक छन् ।”

वडाले व्यवसाय दर्ता तथा नवीकरण, विभिन्न सेवा शुल्कलगायतका क्षेत्रलाई व्यवस्थित गर्दै राजस्वको दायरा बढाउने प्रयास गरिरहेको जनाएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म राजस्व सङ्कलनमा थप वृद्धि हुने वडा कार्यालयको अपेक्षा छ । सेवाग्राहीलाई सहज सेवा र विश्वासको वातावरण बनाउन सके कर तथा सेवा शुल्क तिर्न नागरिक पनि सकारात्मक हुने स्थानीय राजेश शर्माले बताए । उनले सेवाग्राहीप्रतिको कर्मचारीको व्यवहार र सहजीकरणले समेत राजस्व सङ्कलनमा सकारात्मक प्रभाव पारेको बताए ।

“सेवाग्राहीलाई सहज रूपमा सेवा दिने र कर तथा शुल्कको महत्व बुझाउने वातावरण बनेपछि नागरिक पनि नियमित रूपमा शुल्क तिर्न तयार हुन्छन्,” उनले भने । उनले राम्रो काम गर्ने कर्मचारीलाई स्थानीय तहले प्रोत्साहित गर्नुपर्ने बताए ।
सुनवल–४ मा पछिल्लो समय वडा कार्यालय र सेवाग्राहीबिचको सम्बन्धमा सुधार आउनुका साथै कर तथा सेवा शुल्क सङ्कलनलाई व्यवस्थित बनाउने प्रयास भइरहेको वडा कार्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?