© 2026
लमही ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको आसन्न निर्वाचनलाई लक्षित गर्दै स्वतन्त्र युवा व्यवसायी प्यानलले व्यवसायीका समस्या समाधान, संस्थागत सुधार र जिल्लाको आर्थिक विकासलाई प्राथमिकतामा राख्दै आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।
‘समृद्ध दाङ, सशक्त व्यवसायी स् सबल र गतिशील उद्योग वाणिज्य संघ’ भन्ने नारासहित सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा व्यवसायी हित, संस्थागत सुधार, औद्योगिक पूर्वाधार विकास, लगानी प्रवद्र्धन र आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राखिएको छ ।
यही असोज २४ गते हुने निर्वाचनका लागि सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा दाङको आर्थिक, सामाजिक तथा व्यावसायिक रूपान्तरणमा उद्योग वाणिज्य संघलाई थप प्रभावकारी बनाउने उल्लेख छ । संघलाई सम्पूर्ण उद्योगी–व्यवसायीको साझा, भरोसायोग्य र गतिशील अभिभावक संस्थाका रूपमा विकास गर्ने प्यानलले जनाएको छ ।
प्यानलका तर्फबाट अध्यक्ष पदका उम्मेदवार अनिल आचार्यले प्रतिबद्धतापत्रको डिजिटल प्रति सार्वजनिक गर्नुभएको हो । प्रतिबद्धतापत्र वरिष्ठ उपाध्यक्ष शरदप्रसाद अधिकारीले प्रस्तुत गरेका थिए । प्रतिबद्धतापत्रमा मुख्यगरी पाँच वटा विषयलाई समेटिएको छ ।
संस्थागत सुदृढीकरण तथा नीतिगत पहल, व्यवसायिक हित, सुरक्षा तथा व्यवसाय प्रवद्र्धन, औद्योगिक पूर्वाधार तथा स्थानीय अर्थतन्त्रको विकास, व्यवसायिक पहुँच तथा लगानी प्रवद्र्धन र नीतिगत पैरवीलाई प्राथमिकताका विषय बनाइएको छ ।
प्रतिबद्धतापत्रमा संघको वर्तमान आर्थिक तथा संस्थागत अवस्थालाई पारदर्शी बनाउन श्वेतपत्र जारी गर्ने उल्लेख छ । घोराहीसहित समग्र दाङको आर्थिक विकासका लागि बृहत् आर्थिक मार्गचित्र निर्माण गरी सार्वजनिक तथा कार्यान्वयन गर्ने योजना पनि अघि सारिएको छ ।
प्रदेश राजधानी दाङमा रहेकाले प्रदेश सरकार, स्थानीय तह तथा विभिन्न संघसंस्थासँग समन्वय गरी जिल्लाको आर्थिक विकासका लागि ठोस कार्ययोजना बनाउने प्रतिबद्धता प्यानलले जनाएको छ । दाङका सबै उद्योग वाणिज्य संघ, पूर्वअध्यक्ष तथा व्यवसायिक नेतृत्वबीच नियमित संवाद र छलफल गरी आर्थिक सम्भावनाका नयाँ क्षेत्र पहिचान गर्ने योजना पनि सार्वजनिक गरिएको छ ।
संघको संस्थागत उपस्थिति स्थानीय तह, प्रदेश सरकार तथा अन्य सरोकारवाला निकायमा थप प्रभावकारी बनाउने प्रतिबद्धता पनि प्यानलले जनाएको छ ।
व्यवसायीका समस्या समाधानमा हेल्पडेस्क
व्यवसायीका समस्या समाधानका लागि विशेष संयन्त्र निर्माण गरी आकस्मिक समस्या तथा गुनासो तत्काल सम्बोधन गर्न हेल्पडेस्क स्थापना गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ ।
साना व्यवसायीको संरक्षण, ठूला व्यवसायीलाई प्रोत्साहन तथा लघु, घरेलु र साना व्यवसायीलाई संगठित गर्दै व्यवसाय विस्तार र प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्ने योजना प्यानलले अघि सारेको छ ।
परम्परागत रूपमा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई नयाँ प्रविधि, डिजिटल रूपान्तरण तथा बजारका नयाँ आयामबारे जानकारी गराउन क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ । नापतौल, मूल्य तथा गुणस्तर अनुगमनलाई सहज र पारदर्शी बनाउने तथा व्यवसायी र उपभोक्ताबीच नियमित अन्तरक्रिया गर्ने योजना पनि प्रतिबद्धतापत्रमा समेटिएको छ ।
दाङमा सञ्चालित इँटा उद्योगलगायत उत्पादनमूलक उद्योगका समस्या समाधानका लागि स्थानीय तह र सरकारसँग समन्वय गर्ने प्रतिबद्धता प्यानलले जनाएको छ । वातावरण, कच्चा पदार्थ र बजारसम्बन्धी समस्यालाई सम्बोधन गर्दै उत्पादनमूलक उद्योगलाई व्यवस्थित बनाउने योजना पनि अघि सारिएको छ ।
औद्योगिक पूर्वाधार र आर्थिक विकासमा जोड
औद्योगिक पूर्वाधार विकासलाई प्राथमिकता दिँदै दाङमा औद्योगिक क्षेत्र स्थापना, बजार व्यवस्थापन तथा सडक र यातायात सञ्जाल विस्तारका लागि दबाब र पहल गर्ने प्रतिबद्धता प्यानलले जनाएको छ ।
जिल्लाको आर्थिक तथा पर्यटकीय सम्भावना विस्तारका लागि टरिगाउँ विमानस्थलको नियमित सञ्चालन तथा स्तरोन्नतिका लागि निर्णायक पहल गर्ने योजना पनि सार्वजनिक गरिएको छ ।
घोराहीलगायत प्रमुख बजार क्षेत्रमा रात्रिकालीन व्यवसाय प्रवद्र्धनका लागि सुरक्षा, पूर्वाधार र नीतिगत पहल गर्ने तथा जिल्लाका मुख्य बजार र ग्रामीण क्षेत्र जोड्ने सडक तथा यातायात कनेक्टिभिटी सुधारका लागि दबाब र जनचेतनामूलक अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ ।
व्यवसायीलाई वित्तीय पहुँच सहज बनाउन बैंक, वित्तीय संस्था तथा सहकारीसँग समन्वय गरी सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउन वातावरण निर्माण गर्ने प्यानलले जनाएको छ । चर्को ब्याजदर, प्रिमियममा हुने अस्वाभाविक वृद्धि तथा तरलता समस्याका विषयमा नेपाल राष्ट्र बैंक र वित्तीय संस्थासँग नीतिगत पैरवी गर्ने योजना पनि अघि सारिएको छ ।
व्यवसाय दर्ता, नवीकरण, कर तथा राजस्व परामर्श र व्यावसायिक इजाजतपत्रका काममा सहजता ल्याउन संघमार्फत एकल बिन्दु सेवा सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । नापतौल तथा गुणस्तर परीक्षणसम्बन्धी सेवा जिल्लामै सहज रूपमा उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता पनि प्यानलले जनाएको छ ।
कृषि, पर्यटन र महिला–युवा उद्यमशीलता
दाङको कृषि तथा जडीबुटी क्षेत्रलाई उद्योगसँग जोड्न कृषि प्रशोधन केन्द्र तथा शीतभण्डार निर्माण र सञ्चालनका लागि निजी–सरकारी साझेदारीमा काम गर्ने योजना प्रतिबद्धतापत्रमा उल्लेख छ ।
पर्यटन तथा सांस्कृतिक क्षेत्रको प्रवद्र्धन गर्दै स्थानीय आर्थिक गतिविधि विस्तार गर्ने योजना पनि अघि सारिएको छ ।
व्यवसायिक हितमा प्रतिकूल असर पर्ने गरी मेला तथा महोत्सव सञ्चालन नगर्ने नीति लिने बताउँदै प्यानलले युवा तथा महिला उद्यमीलाई उद्यमशीलतामा आकर्षित गर्न सहुलियतपूर्ण कर्जा, स्टार्टअप सहयोग, तालिम तथा बजारीकरणका कार्यक्रम ल्याउने जनाएको छ ।
कोभिड–१९ पछिको आर्थिक मन्दी, उच्च ब्याजदर, प्राकृतिक विपद् तथा अन्य कारणले समस्यामा परेका साना तथा मझौला व्यवसायीका लागि राहत, कर छुट तथा ऋण पुनर्संरचनाको माग सरकार र नेपाल राष्ट्र बैंकसमक्ष राख्ने योजना पनि प्रतिबद्धतापत्रमा समेटिएको छ ।
कर, राजस्व तथा नियमनसम्बन्धी जटिलता हटाउन स्थानीय तह र सम्बन्धित राजस्व निकायसँग सहजीकरण गर्ने प्रतिबद्धता पनि प्यानलले जनाएको छ ।
प्यानलले आफ्नो प्रतिबद्धताको मूल आधारका रूपमा ‘सुरक्षित व्यवसाय, सबल पूर्वाधार र पारदर्शी नेतृत्व–समृद्ध दाङको बलियो आधार’ भन्ने संकल्प अघि सारेको छ ।
असोज २४ गते निर्वाचन
दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि असोज २४ गते निर्वाचन हुँदैछ ।
स्वतन्त्र युवा व्यवसायी प्यानलबाट अध्यक्षमा अनिल आचार्य, वरिष्ठ उपाध्यक्षमा शरद अधिकारी, सचिवमा गणेश पाण्डे, सहकोषाध्यक्षमा ललित बेलबासे र सदस्यमा तिलकबहादुर वली उम्मेदवार बनेका छन् ।
प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, जिल्ला अध्यक्ष सन्तोष सुवेदी, निवर्तमान जिल्ला अध्यक्ष दुर्गालाल केसीलगायतको सहभागिता थियो ।
निर्वाचन नजिकिँदै जाँदा स्वतन्त्र युवा व्यवसायी प्यानलले आफ्नो एजेन्डा र प्रतिबद्धता सार्वजनिक गर्दै व्यवसायीबीच पुग्ने क्रमलाई तीव्र बनाएको छ ।