© 2026
चन्द्रौटा ।
कपिलबस्तुमा बिलमा बिजक नम्बर उल्लेख नभएका ७ हजार १५२ पिस रेडिमेड सर्ट प्रहरीले बरामद गरेको छ । शिवराज नगरपालिका-१ शिवपुर कोलनी चोकबाट सोमबार बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार काठमाडौँबाट दाङतर्फ जाँदै गरेको बा.प्र.०१००७ ख ०४३० नम्बरको कन्टेनर सोमबार बिहान चेकजाँच गर्ने क्रममा सर्ट बरामद गरिएको हो । बरामद सर्टको भ्याटसहित मूल्य ५२ लाख ५३ हजार १४४ रुपैयाँ र कन्टेनरको मूल्य ३० लाख रुपैयाँ रहेको छ ।
कुल मूल्य ८२ लाख ५३ हजार १४४ रुपैयाँको सामान नियन्त्रणमा लिइएको जनाइएको छ । बरामद सामानसहित कन्टेनरलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय कृष्णनगर पठाउने तयारी गरिएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।