Butwal Today

प्रविधि र साझेदारीले फस्टाउँदै बीउ उत्पादन

१९ आश्विन २०८३, सोमबार
अ
अ+
अ-

सल्यान । सल्यानबाट हरेक वर्ष ठूलो परिमाणमा अदुवा र हलेदोको बीउ जिल्ला बाहिर जाने गरेको छ । जिल्लामा अनुसन्धान, जातीय परीक्षण र व्यावसायिक बीउ उत्पादन सँगै सहकार्यमा उत्पादन बढेपछि यहाँ खपत भएर पनि अदुवाको करिब २०० देखि ३०० टन र हलेदोको करिब १०० टनसम्म बीउ बाहिर जाने गरेको हो ।

अदुवा तथा हलेदो अनुसन्धान अन्तर्गत जिल्लाका विभिन्न स्थानमा बीउ उत्पादन, जातीय परीक्षण, रोग अनुसन्धान तथा प्रविधि परीक्षणका काम भइरहेका छन् । बागचौर नगरपालिका, २ थारमारेमा अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोटले कार्यालयकै जातीय परीक्षण अन्तर्गत अदुवाका दुई र हलेदोका दुई जात लगाएर परीक्षण गरिरहेको छ । त्यहाँ अदुवाको बीउ उत्पादन तथा अदुवा, हलेदोका जातीय प्रदर्शन समेत गरिएको छ ।

बागचौर नगरपालिका, ७ कोटबारास्थित शारदा एग्रो प्रालिसँगको साझेदारीमा पनि अदुवा तथा हलेदोको बीउ उत्पादन भइरहेको अदुवाबाली अनुसन्धान कार्यक्रमका प्राविधिक सहायक टेकबहादुर खड्काले जानकारी दिए । अनुसन्धान कार्यक्रमको साझेदारी तथा प्राविधिक सहयोगमा कपुरकोट अदुवा १ तथा कपुरकोट हलेदो १ र २ जातका बीउ स्रोत केन्द्रका रूपमा समेत काम भइरहेको छ ।

अनुसन्धान तथा बीउ उत्पादनको अवस्थाबारे फिल्डमै पुगेर हालै विज्ञ टोलीले अनुगमन गरेको छ । अनुगमनका क्रममा बोट र गानोको वृद्धि विकास, गाँजको फैलावट तथा रोग, कीरा नियन्त्रणको अवस्थाको अवलोकन गरिएको थियो । कार्यक्रमका संयोजक डा. नवीन रावलको नेतृत्वमा वरिष्ठ प्राविधिक सहायक हरिस मङ्गोला र प्राविधिक सहायक खड्का सहितको टोलीले शारदा एग्रोमा उत्पादन भइरहेको स्वस्थ बीउको प्रशंसा गर्दै आवश्यक प्राविधिक सुझाव समेत दिएको थियो ।

त्यसैगरी दार्मा गाउँपालिका, ५ ढाकाडाममा बीउ उत्पादनसँगै अदुवामा देखिने गानो कुहिने रोगसम्बन्धी अनुसन्धान भइरहेको छ । विभिन्न प्रकारका मल्चिङ प्रयोग गरी सञ्चालन गरिएको परीक्षण स्थलमा रोगको स्कोरिङ, ट्यागिङ तथा फिल्ड निरीक्षण गरिएको हो । अनुसन्धान कार्यक्रमको फार्मभित्र मात्रै वार्षिक करिब तीन टन हलेदो र दुई दशमलव पाँच टन अदुवाको बीउ उत्पादन हुने गरेको छ । कार्यालयबाहिर विभिन्न साझेदार तथा कृषकसँगको सहकार्यमा भने ठूलो परिमाणमा बीउ उत्पादन हुँदै आएको छ ।

अनुसन्धान र प्राविधिक परीक्षणबाट रोग व्यवस्थापन, स्वस्थ बीउ उत्पादन तथा अदुवा, हलेदोको उत्पादन प्रविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?