© 2026
पछिल्लो समय देशका विभिन्न स्थानमा ‘स्क्रब टाइफस’ को जोखिम बढ्दै गएको चिकित्सकहरूको भनाई सार्वजनिक भएपछि यसबाट बच्नेतर्फ पूर्व सावधानी अपनाउनु जरुरी छ । यसको जोखिमले मानिसको मृत्युसम्म हुनसक्ने भएकोले रोग लाग्नुभन्दा लाग्नै नदिनु भनेजस्तै पूर्व सावधानी र सचेतना आजको आवश्यकता हो । सरुवा रोगको श्रेणीमा पर्ने यो रोग विशेषगरी वर्षायाम र त्यसपछिको समयमा बढी देखिने गर्दछ ।
नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले यो रोगबाट बच्न र सचेत रहन विशेष आग्रह गरेको छ । स्क्रब टाइफस एक प्रकारको सरुवा रोग हो, जुन ‘ओरेन्सिया सुसुगामुसी’ नामक जीवाणु (ब्याक्टेरिया) का कारण लाग्ने गर्दछ । यो जीवाणु मुसामा लाग्ने किर्ना जस्तो देखिने सानो किरा (माइट) मा पाइने गरेको चिकित्सकहरूको भनाई छ ।
जब उक्त संक्रमित माइटले मानिसलाई टोक्छ, तब यो रोग सर्ने गर्दछ । यो माइट प्रायः झाडी, खेतबारी, वनजंगल, तथा घर वरपरका झाडी र घुरान भएका ओसिलो ठाउँहरूमा पाइन्छ । सुखद कुरा के छ भने यो रोग मानिसबाट मानिसमा भने सर्दैन । यो रोग लागेको बिरामीलाई कडा ज्वरो आउने र कहिलेकाहीँ कम्पनसहित ज्वरो आउन सक्छ ।
त्यसका साथै अत्यधिक टाउको दुख्नु र पसिना आउनु, आँखा रातो हुनु र झाडापखाला लाग्नु यसका लक्षण भएकोले यसको संकेत देखिने वित्तिकै चिकित्सकको निगरानीमा बस्नु उचित हुन्छ । खेतबारीमा काम गर्दा, वनजंगल वा झाडीमा जाँदा, अथवा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र सम्भव भएसम्म गम्बुटको प्रयोग गर्न सकियो भने रोगबाट बच्न सकिन्छ । त्यसैगरी ओछ्यान भुइँमा नलगाई खाट वा अलि अग्लो स्थानमा सुत्ने र बस्ने व्यवस्था मिलाउने ।
चउर, बारी तथा घर वरपरका झाडी, घाँस र घुरानहरूलाई नियमित रूपमा सफा गरिरहने, घरमा मुसाको वृद्धि विकास हुन नदिन अन्नबालीलाई सुरक्षित रूपमा भण्डारण गर्ने र मुसा नियन्त्रणका उपायहरू अपनाउनेतर्फ ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन । स्वास्थ्य विज्ञहरूका अनुसार स्क्रब टाइफसको समयमै उपचार भएमा यो रोग पूर्ण रूपमा निको हुन्छ । यदि माथि उल्लेखित कुनैपनि लक्षण देखिएमा वा स्क्रब टाइफस लागेको शंका लागेमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा गई चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गर्नुपर्दछ । लापरवाही गरेमा यसले गम्भीर रूप लिन सक्ने भएकाले समयमै उपचार गराउनेतर्फ होसियारी अपनाऔं ।
एक तथ्याँक अनुसार सन् २०२६ को जनवरीदेखि हालसम्म देशभर नौ हजार ८७२ जनामा ‘स्क्रब टाइफस’ सङ्क्रमण पुष्टि भएको छ । ‘स्क्रब टाइफस’ रोग ७४ जिल्लामा फैलिसकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हुम्ला, मुगु र डोल्पामा भने हालसम्म सङ्क्रमण पुष्टि भएको छैन ।
पछिल्लो एक महिनामै दुई हजार ७१८ जना ‘स्क्रब टाइफस’ का सङ्क्रमित थपिएका छन् । सल्यानमा गत एक महिनामा तीन जनाको मृत्यु भएको पुष्टि भएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली हाल सल्यानको दार्मा पुगेको छ । यसको सङ्क्रमण सातवटै प्रदेशमा देखिएको छ । पछिल्लो समय लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै सङ्क्रमण पुष्टि भएकोले १२ वटै जिल्लामा सतर्कता अपनाउनु अति आवश्यक छ । ज्वरो आएका बिरामीमा समयमै परीक्षण गरी उपचार सुरु गर्न सके रोग नियन्त्रण गर्न सकिन्छ । तसर्थ यसलाई हाउगुजीको रूपमा ब्याख्या नगरौं ।
गत वर्ष पनि नेपालमा ‘स्क्रब टाइफस’ को सङ्क्रमण उच्च थियो । ‘स्क्रब टाइफस’ ओरिएन्टिया त्सुत्सुगामुसी नामक जीवाणुबाट हुने रोग हो । सङ्क्रमित लार्भा अवस्थाको सूक्ष्म माइटको टोकाइबाट मानिसमा सङ्क्रमण सर्छ । विशेष गरी घाँसे झाडी, खेतबारी, जङ्गल तथा झाडी भएको स्थानमा काम गर्ने मानिस जोखिममा पर्ने गर्छन् । कतिपय बिरामीमा खोकी, सास फेर्न कठिनाइ, पेट दुख्ने, वाकवाकी र बान्तासमेत हुन सक्छ ।
समयमै रोग पहिचान गरी औषधी प्रयोग गरेमा ‘स्क्रब टाइफस’ निको हुने भएकोले हरेक घर परिवारले सचेतना अपनाउनु अति आवश्यक छ ।