Butwal Today

मायादेवीका शिक्षकलाई पाँच दिने एबिएल तालिम

१८ आश्विन २०८३, आइतबार
अ
अ+
अ-

कपिलवस्तु । कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकाका २५ बिद्यालयका शिक्षकलाई क्रियाकलापमा आधारित सिकाई (एबिएल) सम्बन्धि पाँच दिन तालिम दिईएको छ । युनाईटेड मिसन टु नेपाल (युएमएन) को सहयोगमा दलित सामाजिक बिकास केन्द्र कपिलवस्तुले सञ्चालन गरेको परिर्वतनका लागि बालबालिका, युवा र समुदाय परियोजना (सिवाइसिसी) को आयोजनामा २७ शिक्षकलाई तालिम दिइएको हो ।

गणित, सामाजिक र नेपाली सहितका बिषय केन्द्रित तालिममा एबिएलको महत्व, बिद्यार्थी केन्द्रित शिक्षण, सिक्दै र गर्दैको अवधारणा, अनुभवमा आधारित सिकाई, निर्माणवादी सिकाई, समूह कार्य, कम र शून्य लागतका शिक्षण सामाग्रीको प्रयोगात्मक अभ्यास गराइएको थियो । आफूहरूले तालिम मार्फत बिभिन्न बिषयको प्रभावकारी अध्ययापनको बिधीसँगै शिक्षण सामाग्री निर्माणको सिप सिकेकाले बिद्यालयमा सो सिपको व्यवहारिक प्रयोग गर्ने तालिममा सहभागी शिक्षिका सरस्वती अधिकारीले बताइन् । त्यसैगरी अर्का शिक्षक श्याम दयाल यादवले आफूहरूका लागि तालिम महत्वपूर्ण रहेको र बिद्यार्थीको सिकाई उपलब्धि बढाउन सहयोग पुग्ने बताए ।

पाँच दिने तालिमले शिक्षकको क्षमता बिकासमा सहयोग पुर्याएको उनको भनाइ थियो । तालिमले विद्यार्थीको सक्रियता बृद्धि, व्यवहारिक सिकाईलाई प्रवद्र्धन, दिगो सिकाईको विकास, सहकार्य र सृजनशिलता बृद्धि, विद्यार्थी केन्द्रित शिक्षण, समस्या समाधानको सिप बिकास र शैक्षणिक गतिबिधिलाई रमाईलो र प्रभावकारी बनाउने देखिएको प्रशिक्षक तिलकराम खरबिन्दले बताए ।

तालिमलाई बिद्यालयस्तरमा व्यवहारिक प्रयोगले मात्र तालिमको सार्थकता पुरा हुने परियोजनाका शिक्षा अधिकृत भोरिक केवटले बताए । तालिम लिएका शिक्षकहरूको बिद्यालयस्तरको क्रियाकलापलाई स्वतन्त्र अनुगमन गरी उत्कृष्ट शिक्षकलाई सम्मान गर्ने परियोजनाको योजना गरेको उनले स्पष्ट पारे ।

सिकाईको बिद्यालयस्तरमा व्यवहारिक प्रयोग सगैं तालिम प्रति शिक्षकको अपनत्व आवश्यक रहेकोमा दलित सामाजिक बिकास केन्द्र कपिलवस्तुकी अध्यक्ष सुर्जमती पासीले जोड दिइन् ।

तालिममा शिक्षकहरू सरस्वती उपाध्याय र तिलकराम खरबिन्दले सहजीकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?