© 2026
बाणगंगा ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता ध्रुवबहादुर रायमाझीले पार्टीको लुम्बिनी प्रदेश अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
रायमाझीले आफू राप्रपाको विचार, सिद्धान्त र सङ्गठनसँग लामो समयदेखि जोडिँदै आएको उल्लेख गर्दै आगामी असोज २१ गतेदेखि सुरु हुने राप्रपा लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उनले आफू विगत लामो समयदेखि राजनीतिक, सामाजिक तथा खेलकुद क्षेत्रमा प्राप्त गरेको अनुभवका साथै लुम्बिनी प्रदेशका पार्टी समर्थक तथा शुभेच्छुकको आग्रहलाई ध्यानमा राखेर अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको बताएका छन् ।
रायमाझीले आफू राप्रपामा २०५१/५२ सालदेखि सक्रिय हुँदै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनको प्रवक्ता, उपाध्यक्ष, केन्द्रीय संयोजक हुँदै अध्यक्ष तथा राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठन र पार्टीको केन्द्रीय सदस्य हुँदै विभिन्न जिम्मेवारी सम्हालेको बताएका छन् ।
साथै, २०७९ सालको कपिलवस्तु क्षेत्र नम्बर १ बाट सङ्घीय निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बनेर पार्टीका गतिविधिसँग निरन्तर जोडिएको उल्लेख गरेका छन् ।
लुम्बिनी प्रदेशमा राप्रपाको सङ्गठनलाई थप सुदृढ र प्रभावकारी बनाउँदै पार्टीका विचार, सिद्धान्त र एजेन्डालाई जनस्तरसम्म पुर्याउने उद्देश्यसहित आफू अध्यक्ष पदमा अघि बढ्न लागेको उनको भनाइ छ । रायमाझीले आफ्नो उम्मेदवारीलाई सहयोग र समर्थन गर्न पार्टीका नेता, कार्यकर्ता, समर्थक तथा शुभेच्छुकलाई आग्रहसमेत गरेका छन् ।