Butwal Today

हिम्मतले बदलेको परिचय

१८ आश्विन २०८३, आइतबार
अ
अ+
अ-

चन्द्रौटा । ‘छोरी मान्छे भएर होटेल खोल्ने ?’ ‘मासु पसल चलाउने ?’ कपिलवस्तुको बाणगंगा नगरपालिका–२ की लक्ष्मी थारुले व्यवसाय सुरु गर्दा यस्ता प्रश्न र टिप्पणी धेरै सुन्नुप¥यो । तर ती टिप्पणीले उनको पाइला रोकिएन । बरु आफ्नै खुट्टामा उभिने अठोटका साथ उनी व्यवसाय विस्तार गर्दै अघि बढिन् ।

३३ वर्षीया लक्ष्मी अहिले बाणगंगा नगरपालिका–१ चार नम्बर जीतपुरमा तीनवटा व्यवसाय सञ्चालन गर्छिन् । मिज्जु पाहुना पाहुनी थारु कटेज, थारु मासु पसल र लक्ष्मी बुटिक एन्ड फेन्सी स्टोर उनको व्यावसायिक यात्राका आधार हुन् ।
बुटिकबाट सुरु भएको उनको व्यवसाय अहिले होटेल र मासु पसलसम्म विस्तार भएको छ । व्यवसायसँगै थारु समुदायको

संस्कृति, परिकार र पहिचानलाई जोडेर अघि बढ्ने उनको प्रयासले स्थानीय क्षेत्रमा चर्चा पाउन थालेको छ ।
व्यवसाय सुरु गर्दा सबैभन्दा ठूलो चुनौती आर्थिक नभई सामाजिक सोच रहेको लक्ष्मी बताउँछिन् । विशेषगरी महिला भएर होटेल तथा मासु पसल सञ्चालन गर्ने निर्णय गर्दा उनले समुदायभित्रैबाट विभिन्न टिप्पणी सुन्नुपरेको थियो ।

‘सुरुमा हाम्रो समाजमा फलानोको छोरी, फलानोको बुहारी यस्तो हिँड्छे, यस्तो काम गर्छे भनेर कुरा हुन्थ्यो,’ उनी भन्छिन्, ‘अहिले भने मैले गरेको हिम्मतको प्रशंसा गरेको सुन्छु । त्यसले खुसी लाग्छ ।’

लक्ष्मीले व्यवसायको सुरुवात कपडाको व्यापारबाट गरेकी हुन् । बुटिकबाट राम्रो आम्दानी हुन थाले पनि उनी त्यसमै सीमित हुन चाहिनन् । नेपालमै बसेर केही गर्नुपर्छ भन्ने सोचले उनलाई नयाँ व्यवसायका बारेमा सोच्न प्रेरित ग¥यो ।
त्यसपछि उनले करिब छ महिनाअघि थारु कटेज सञ्चालनमा ल्याइन् । कटेजसँगै मासु पसल सञ्चालन गर्ने योजना पनि बनाइन् । बाहिरबाट मासु खरिद गरेर परिकार तयार गर्नुभन्दा आफैं मासु पसल सञ्चालन गर्दा ग्राहकलाई तुलनात्मक रूपमा सस्तो र गुणस्तरीय परिकार दिन सकिने उनको सोच थियो ।

‘होटेलसँगै मासु पसल पनि किन नगर्ने भन्ने लाग्यो,’ उनी भन्छिन्, ‘आफैंले सञ्चालन गरेपछि यहाँ आउने ग्राहकलाई केही सस्तोमा मिठो खुवाउन सकिन्छ । थारु परिकार पनि खुवाउन सकिन्छ भन्ने सोच हो ।’

मासु पसलमा खसी, बोका, स्थानीय कुखुरा, हाँस र माछालगायतको कारोबार हुन्छ । होटेल तथा मासु पसल सञ्चालन उनको पहिलो अनुभव भएकाले सुरुवाती दिनमा धेरै चुनौती सामना गर्नुपरेको उनी बताउँछिन् ।
‘सुरुमा एकदमै गाह्रो भयो,’ उनी भन्छिन्, ‘कटेज चलाउन सजिलो थिएन । मासु पसलमा पनि धेरै कुरा आफैं सिक्नुप¥यो । गर्दै जाँदा अहिले विस्तारै सहज हुँदै गएको छ ।’

लक्ष्मीका लागि कटेज आम्दानीको माध्यम मात्रै होइन, थारु संस्कृति र परिकार चिनाउने माध्यम पनि हो । कटेजलाई आगामी दिनमा थप व्यवस्थित र आकर्षक बनाउँदै थारु संस्कृतिको झल्को दिने उनको योजना छ ।

थारु समुदायका मौलिक परिकारलाई प्राथमिकता दिँदै ग्राहकलाई स्थानीय स्वादको अनुभव गराउने उनको प्रयास छ । व्यवसायसँग संस्कृति जोड्दा आफ्नो समुदायको पहिचानलाई नयाँ पुस्तासम्म पु¥याउन सहयोग पुग्ने उनको विश्वास छ ।
‘व्यवसायबाट आम्दानी गर्नु एउटा कुरा हो,’ उनी भन्छिन्, ‘तर आफ्नै समुदायको संस्कृति र परिकारलाई पनि चिनाउन सकियो भने त्यसको छुट्टै सन्तुष्टि हुन्छ ।’

लक्ष्मीका श्रीमान् रोजगारीका सिलसिलामा विदेशमा छन् । व्यवसाय सुरु गर्ने उनको निर्णयप्रति सुरुमा श्रीमान्ले चिन्ता व्यक्त गरेका थिए । घरमै बसेर परिवार सम्हाल्न आग्रहसमेत गरेका थिए ।
‘नगर, धेरै दुःख हुन्छ, घरमै बस भनेका थिए,’ उनी भन्छिन्, ‘तर मैले गरेपछि सकिन्छ भनेर अघि बढेँ ।’
परिवारको सहयोग र आफ्नै इच्छाशक्तिले व्यवसायलाई निरन्तरता दिन सहज भएको उनी बताउँछिन् । व्यवसायको दैनिक व्यवस्थापन भने अधिकांश समय उनकै जिम्मेवारीमा छ ।

उनको व्यवसायमा अहिले स्थानीय पाँच जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । यसअघि कर्मचारीको संख्या अझ धेरै भए पनि कर्मचारी व्यवस्थापन चुनौतीपूर्ण रहेको उनको अनुभव छ । विशेषगरी होटेलमा दक्ष भान्से पाउन कठिन भएको उनी बताउँछिन् ।

‘नेपालमा काम छैन भन्ने सुनिन्छ,’ उनी भन्छिन्, ‘तर काम हुँदा पनि मान्छे पाउन गाह्रो छ । राम्रो भान्से नपाउँदा होटेल चलाउन झन् समस्या हुन्छ ।’
कर्मचारी हुँदाहुँदै पनि उनी आफैं काममा खटिन्छिन् । मासु काट्नेदेखि खाना पकाउनेसम्मका काममा उनी सक्रिय हुन्छिन् । व्यवसाय सञ्चालनका क्रममा ग्राहकले खाना खाएर पैसा नदिएको र पछि सम्पर्कसमेत नगरेको अनुभव पनि लक्ष्मीसँग छ । यस्ता घटनाले भने उनलाई व्यवसायप्रति थप सचेत बनाएको छ ।

‘खाएर पैसा नदिने, फोन गर्दा नउठाउनेसम्म भयो,’ उनी भन्छिन्, ‘रातिसम्म पैसा आउला भनेर कुरेर बस्नुपरेको छ ।’
व्यवसायमा चुनौती आउँदैमा तत्काल निराश भएर बन्द गर्न नहुने उनको सुझाव छ । आफूले राम्रोसँग जानेको क्षेत्र पहिचान गरेर दीर्घकालीन योजना बनाएर मात्र लगानी गर्नुपर्ने उनी बताउँछिन् ।

‘व्यवसाय सुरु गर्नुअघि आफूले जानेको काम हो कि होइन भनेर सोच्नुपर्छ,’ उनी भन्छिन्, ‘केही समय राम्रो भएन भन्दैमा तुरुन्तै बन्द गर्नु हुँदैन । दीर्घकालमा राम्रो बनाउन सकिन्छ भन्ने विश्वास र योजना हुनुपर्छ ।’
कपडाको व्यापारबाट सुरु भएको लक्ष्मीको यात्रा अहिले होटल, मासु पसल र संस्कृतिसम्म पुगेको छ । सामाजिक टिप्पणीलाई कामबाटै जवाफ दिँदै अघि बढेकी उनी अहिले आफ्नै व्यवसायबाट परिवार चलाउनुका साथै अरूलाई रोजगारी दिने अवस्थामा पुगेकी छन् ।

नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने सन्देश दिने उनको यात्रा स्थानीय युवाका लागि प्रेरणाको उदाहरणसमेत बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?