Butwal Today

पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर

१७ आश्विन २०८३, शनिबार
अ
अ+
अ-

इस्लामाबाद ।

पाकिस्तानको निर्यात सेप्टेम्बर महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७.६ प्रतिशतले बढेर दुई अर्ब ९४ करोड अमेरिकी डलर पुगेको छ ।

पाकिस्तानको तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक व्यापार तथ्याङ्कअनुसार अगस्टको तुलनामा पनि सेप्टेम्बरमा निर्यात १६.१ प्रतिशतले बढेको हो । अगस्टमा पाकिस्तानको निर्यात दुई अर्ब ५३ करोड डलर थियो । यसैगरी, सेप्टेम्बरमा पाकिस्तानको आयात ११.१ प्रतिशतले बढेर छ अर्ब ४९ करोड डलर पुगेको छ । गत वर्षको सोही महिनामा आयात पाँच अर्ब ८५ करोड डलर थियो ।

मासिक आधारमा पनि आयात अगस्टको पाँच अर्ब ८२ करोड डलरबाट ११.५ प्रतिशतले बढेको छ । निर्यातभन्दा आयात उच्च रहेपछि सेप्टेम्बरमा पाकिस्तानको व्यापार घाटा तीन अर्ब ५६ करोड डलर पुगेको छ । यो गत वर्षको सोही महिनाको तीन अर्ब ३५ करोड डलरको तुलनामा ६.२ प्रतिशत बढी हो ।

तीन महिनामा व्यापार घाटा १० अर्ब ७९ करोड डलर

आर्थिक वर्ष २०२६/२७ को पहिलो तीन महिनामा पाकिस्तानको कुल निर्यात १०.८ प्रतिशतले बढेर आठ अर्ब ४२ करोड डलर पुगेको छ । सो अवधिमा आयात भने १३.२ प्रतिशतले बढेर १९ अर्ब २२ करोड डलर पुगेको छ । परिणामस्वरूप पहिलो तीन महिनाको व्यापार घाटा १५.१ प्रतिशतले बढेर १० अर्ब ७९ करोड डलर पुगेको तथ्याङ्कले देखाएको छ ।

पाकिस्तानको तथ्याङ्क विभागका अनुसार सार्वजनिक गरिएको तथ्याङ्क प्रारम्भिक हो। थप भन्सारसम्बन्धी तथ्याङ्क समावेश भएपछि यी आँकडामा संशोधन हुन सक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?