© 2026
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। बिहीबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले दुवैले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट खारेज गरेको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरी अनुसन्धान गरिरहेका जोशी र पाण्डेले आफूहरूलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए। यसअघि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले सम्बन्धित मुद्दाको फाइल झिकाउन आदेश दिएको थियो।
उनीहरूलाई पक्राउ गरिएको करिब १५ दिनपछि पनि सीआईबीले अनुसन्धान जारी राखेको छ। उनीहरूमाथि खेलमा मिलेमतो म्याच फिक्सिङ, अनियमितता तथा ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सर्वोच्चको पछिल्लो आदेशसँगै उनीहरूको थुनालाई गैरकानुनी ठहर गर्दै तत्काल रिहा गर्नुपर्ने माग अस्वीकार भएको छ।