© 2026
बुटवल । असोज ९ देखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमानसँगै नदीको बहाव बढेपछि रूपन्देहीको बुटवल उपमहानगरपालिकाले नदी किनारमा जोखिममा रहेका आठ परिवारलाई सुरक्षित स्थानमा सारेको छ । बाढी आएपछि उद्धार गर्नुभन्दा सम्भावित जोखिम पहिचान गरी पहिले नै सुरक्षित स्थानमा राख्ने उद्देश्यले उनीहरूलाई अस्थायी रूपमा विद्यालयमा राखिएको हो ।
बुटवल उपमहानगरपालिकाका अनुसार तिनाउ नदी किनारमा बसोबास गर्दै आएका आठ परिवारका ४२ जनालाई बुटवल–५ स्थित कान्ति माध्यमिक विद्यालयमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ । उनीहरूका लागि नदीको बहाव नघटेसम्म नगरपालिकाले खाने र बस्ने प्रबन्ध गर्ने भएको छ ।
बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले प्राकृतिक विपत्ति रोक्न नसके पनि त्यसबाट हुनसक्ने मानवीय क्षति न्यूनीकरण गर्न पूर्वसावधानी अपनाइएको बताइन् ।
“नदीको बहाव बढिरहेका बेला जोखिममा रहेका परिवारलाई उद्धारको अवस्था आएपछि मात्र सार्नुभन्दा पहिले नै सुरक्षित स्थानमा राख्नु उचित हुन्छ,” उनले भनिन्, “नदीको बहाव सामान्य अवस्थामा नआएसम्म उनीहरूको बसोबास र खानाको व्यवस्था नगरपालिकाले गर्नेछ ।”
तिनाउ नदीको बहाव बढेपछि प्रहरी र नगरपालिकाको टोलीले नदी किनारमा बसोबास गर्ने परिवारलाई सचेत गराउँदै सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो । लगातार पानी परिरहेकाले नदीको बहाव जुनसुकै बेला बढ्न सक्ने र त्यसबाट मानवीय तथा भौतिक क्षति हुनसक्ने भएकाले पूर्वसावधानी अपनाइएको नगरपालिकाले जनाएको छ ।
बुटवल उपमहानगरपालिकाको वन, वातावरण तथा विपत् व्यवस्थापन शाखाका प्रमुख योगेश चापागाईंका अनुसार नदी किनारमा जुनसुकै बेला पानीको बहाव बढ्न सक्ने जोखिम रहेकाले बढी जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको हो ।
“खोला तथा नदी किनारमा पानीको बहाव जुनसुकै बेला बढ्न सक्ने अवस्था हुन्छ । त्यसैले बढी जोखिम देखिएका परिवारलाई सुरक्षित स्थानमा ल्याएका हौँ,” उनले भने ।
कान्ति माध्यमिक विद्यालयमा राखिएका ४२ जनामध्ये २० जना बालबालिका छन् । नगरपालिकाले शनिबार उनीहरूको स्वास्थ्य परीक्षणसमेत गरेको थियो । स्वास्थ्य परीक्षणका क्रममा सबैको अवस्था सामान्य रहेको शाखा प्रमुख चापागाईंले जानकारी दिए । जोखिमको अवस्था कम नभएसम्म उनीहरूका लागि आवश्यक खाने तथा बस्ने व्यवस्था नगरपालिकाले नै गर्ने उनले बताए ।
यसैगरी, बुटवल उपमहानगरपालिका–५, सौभाग्यनगरमा बिरामी, बालबालिका र सुत्केरीसहित जोखिममा रहेका ३९ जनालाई पनि सुरक्षित स्थानमा राखिएको वडाध्यक्ष हरिप्रसाद श्रेष्ठले जानकारी दिए । लगातार वर्षा भइरहेकाले बाढीको जोखिम बढ्न सक्ने र त्यसबाट मानवीय क्षति हुनसक्ने अवस्थालाई ध्यानमा राखेर उनीहरूलाई सुरक्षित स्थानमा सारिएको उनले बताए ।
यसैबिच, लुम्बिनी प्रदेशमा बाढी, पहिरो र डुबानबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि सडक यातायात नियन्त्रणदेखि शैक्षिक संस्था बन्द गर्नेसम्मका पूर्वतयारी थालिएको छ । सम्भावित विपत्लाई ध्यानमा राख्दै पाल्पाका केही सडकखण्ड रातिको समयमा पूर्ण रूपमा बन्द गरिएको छ भने दाङका पाँच सडकखण्डमा समेत रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय गरिएको छ । बुटवलसहित केही स्थानीय तहले दुई दिनका लागि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेका छन् ।
मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि आइतबारसम्म लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने जनाएको छ । वर्षाका कारण पहाडी क्षेत्रमा बाढी, पहिरो तथा गेग्रान बहाव र तराई तथा सहरी क्षेत्रमा डुबानको जोखिम रहेको महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमानसँगै लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला, कानुन तथा यातायात मन्त्रालयले प्रदेशका १२ वटै जिल्ला र १०९ स्थानीय तहलाई पत्राचार गरी विपत् जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ ।
रूपन्देहीमा बाढी, डुबान र नदी कटानबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि जिल्ला विपत् व्यवस्थापन समितिले २४ घण्टे विपत् संयन्त्र सक्रिय बनाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई आवश्यकताअनुसार सुरक्षित स्थानमा सार्ने, सडकमा हुने अवरोध तत्काल हटाउने, सञ्चार तथा विद्युत् सेवा नियमित राख्ने र खोज तथा उद्धारका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ ।
मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गतेसम्म लुम्बिनी प्रदेशका विभिन्न भू–भागमा मेघगर्जन, चट्याङ र भारी वर्षाको सम्भावना औँल्याएपछि जिल्ला विपत् व्यवस्थापन समितिले पूर्वतयारीलाई तीव्र बनाएको हो ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र २४ सै घण्टा सञ्चालनमा रहनेछ । स्थानीय तह र वडा कार्यालयलाई समेत आफ्ना आपत्कालीन संयन्त्र सक्रिय राख्न तथा जोखिमयुक्त बस्तीमा आवश्यक तयारी गर्न निर्देशन दिइएको उनले बताए ।
समितिले रूपन्देहीका तिनाउ, दानव र रोहिणी नदी आसपासका क्षेत्रलाई बढी जोखिमयुक्त मानेको छ । बुटवलस्थित तिनाउ नदी क्षेत्रदेखि बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र मायादेवी गाउँपालिकाको दक्षिणतर्फका नदी आसपासका बस्तीलाई जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको छ ।
त्यस्तै, तिनाउ नदी करिडोर आसपासका बजार तथा बस्ती, दानव नदी आसपासका शुद्धोधन, गैडहवा र मायादेवी गाउँपालिका तथा दक्षिणतर्फका क्षेत्रलाई पनि जोखिमयुक्त मानिएको छ । रोहिणी नदी आसपासका तटीय क्षेत्र तथा सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक, देवदह र सैनामैना नगरपालिकाका खोला तथा नदी आसपासका सम्भावित डुबान र कटान क्षेत्रलाई समेत उच्च जोखिममा राखिएको छ ।
मर्चवार, मझगाँवा र दशगजा आसपासका क्षेत्र, कञ्चन खोला तथा नदी आसपासका सम्भावित कटान र डुबान क्षेत्र तथा पूर्व–पश्चिम राजमार्ग र अन्य सडकखण्डमा बाढी तथा कटानका कारण यातायात अवरुद्ध हुनसक्ने भन्दै विशेष सतर्कता अपनाउन भनिएको छ ।
सम्भावित विपतका बेला खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागले आवश्यक औजारसहित कोर रेस्पोन्स टिम तयारी अवस्थामा राख्ने भएका छन् । मुख्य बाढी तथा डुबान प्रभावित हुनसक्ने क्षेत्र आसपास आवश्यक सामग्रीसहित सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ ।
नदीको जलसतह बढिरहेको अवस्थामा जोखिमयुक्त बस्तीका नागरिकलाई सम्भावित क्षति भएपछि उद्धार गर्नुभन्दा विपत् आउनुअघि नै सुरक्षित स्थानमा सार्ने रणनीति अपनाइएको जिल्ला तथा स्थानीय तहका अधिकारीले बताएका छन् ।