Butwal Today

अमेरिकी प्रतिबन्धले इरानी उडान प्रभावित, छुटका लागि इराकको पहल

१० आश्विन २०८३, शनिबार
अ
अ+
अ-

बगदाद ।

इरानी एयरलाइन्समाथि अमेरिकाले लगाएको प्रतिबन्धका कारण बिरामी, विद्यार्थी तथा धार्मिक यात्रु प्रभावित भएपछि इराक सरकारले केही विमानस्थललाई उक्त प्रतिबन्धबाट छुट दिन अमेरिकासँग वार्ता थालेको छ ।

इराकका सबै विमानस्थलले यसै साता अमेरिकी प्रतिबन्ध कार्यान्वयन गरेपछि इरानबाट हुने उडान प्रभावित भएका छन् । यसको सबैभन्दा ठूलो असर पवित्र सहर नजफस्थित विमानस्थलमा परेको छ, जहाँ इरानी विमानहरूको आवतजावत उल्लेख्य हुने गरेको छ ।

इराकी प्रधानमन्त्रीको सञ्चार कार्यालयले शनिबार दिएको जानकारीअनुसार, सरकारले “केही इराकी विमानस्थललाई अमेरिकी प्रतिबन्धबाट छुट दिन अमेरिकी पक्षसँग प्रत्यक्ष वार्ता गरिरहेको” छ ।

इराकले चिकित्सा उपचार, शिक्षा र धार्मिक यात्राजस्ता मानवीय प्रयोजनका लागि उडान सञ्चालनलाई निरन्तरता दिन छुट आवश्यक रहेको जनाएको छ । सरकारका अनुसार यसले सर्वसाधारणको आवतजावत सहज बनाउन पनि मद्दत गर्नेछ ।

इरानी एयरलाइन्सले मुख्यतः इरानका पवित्र धार्मिक सहरमा जाने इराकी शिया तीर्थयात्री तथा इराकका धार्मिक स्थलमा आउने इरानी नागरिकलाई सेवा दिँदै आएका छन् । यी उडानमार्फत इरानमा अध्ययनरत इराकी विद्यार्थी र उपचारका लागि इरान जाने बिरामीहरूले समेत यात्रा गर्दै आएका छन् ।

प्रतिबन्ध कार्यान्वयन भएपछि केही इराकी नागरिक उपचारका लागि इरान जान नपाइने चिन्तामा छन् भने केही यात्रु इरानमै अलपत्र परेका छन् । उनीहरूमध्ये कतिपयलाई स्थलमार्ग हुँदै घर फर्किन १२ घण्टाभन्दा बढी समय लाग्ने अवस्था आएको छ ।

अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टले बुधबार इरानी एयरलाइन्सलाई “बन्द गरिने” बताएका थिए । त्यसपछि संयुक्त अरब इमिरेट्ससहित केही देशले अमेरिकी प्रतिबन्ध कार्यान्वयन गर्न थालेका छन् ।

इराक र इरानबीच धार्मिक, राजनीतिक तथा आर्थिक सम्बन्ध लामो समयदेखि घनिष्ठ रहँदै आएको छ । दुवै देशमा शिया मुस्लिम समुदायको ठूलो जनसंख्या रहेको छ।

यसअघि मध्यपूर्वमा युद्ध सुरु भएपछि इराकी एयरलाइन्सले फेब्रुअरीदेखि नै इरानतर्फका उडान स्थगित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?