© 2026
रियाद ।
यमनका हुथी विद्रोहीहरूले साउदी अरबमाथि नयाँ आक्रमण जारी राखेपछि साउदी नेतृत्वको गठबन्धनले शनिबार दुई ड्रोन र दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र रोकिएको जनाएको छ । इरान समर्थित हुथी समूहले राजधानी रियादसहित विभिन्न क्षेत्रमा नयाँ आक्रमण गरेपछि अन्तर्राष्ट्रिय स्तरबाट समेत चिन्ता व्यक्त गरिएको छ ।
गत जुलाईदेखि हुथी समूहका आक्रमण निरन्तर तीव्र भइरहेका छन् । लामो समयदेखि कायम युद्धविराम अन्त्य भएपछि यमनको द्वन्द्व थप चर्किएको छ र यसले मध्यपूर्वमा जारी व्यापक युद्धसँग समेत सम्बन्ध जोडेको छ ।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले यसअघि साउदी अरबमाथि बढ्दो हुथी आक्रमणको निन्दा गरेको थियो । परिषद्ले ती आक्रमणमा महिला र बालबालिकासहित सर्वसाधारण घाइते भएको उल्लेख गरेको छ । हुथी समूहले साउदी अरबमाथि समुद्री नाकाबन्दीसमेत लगाएको दाबी गरिएको छ । उसले तेल बोकेका पानीजहाजमाथि आक्रमण गर्नुका साथै यमनको लाल सागर तटीय क्षेत्रमा नियन्त्रण विस्तार गरेको र साउदी भूमितर्फ क्षेप्यास्त्र प्रहार गर्दै आएको छ । यस्ता गतिविधिका कारण ऊर्जा बजारमा समेत असर परेको बताइएको छ ।
साउदी नेतृत्वको गठबन्धनका प्रवक्ताका अनुसार शनिबार हवाई प्रतिरक्षा प्रणालीले हुथी समूहले रियाद क्षेत्रतर्फ प्रहार गरेका दुई ड्रोन पहिचान गरी नष्ट गरेको थियो । त्यसैगरी, दक्षिणपश्चिमी सहर खमिस मुशैततर्फ प्रहार गरिएका दुई ब्यालेस्टिक क्षेप्यास्त्र पनि रोकिएको गठबन्धनले जनाएको छ । उक्त क्षेत्रमा एउटा महत्वपूर्ण हवाई सैनिक अड्डा रहेको छ ।
हुथी राजनीतिक ब्युरोका सदस्य हेजाम अल–असदले आफ्नो समूहको सैन्य अभियान अझ ठूलो द्वन्द्वका लागि तयारी मात्र भएको बताएका छन् ।“अभियानको शक्ति, दायरा र प्रभावका बाबजुद हाम्रो सशस्त्र बलले यसलाई पूर्ण स्तरको युद्धका लागि एउटा सानो अभ्यासका रूपमा मात्र हेरेको छ,” उनले शनिबार भने ।
खाडी सहयोग परिषद्का महासचिव जासेम मोहम्मद अल्बुदाइवीले पनि हुथी आक्रमणको निन्दा गरे ।
उनले यस्तो गतिविधिलाई साउदी अरबको सार्वभौमसत्तामाथिको गम्भीर उल्लंघन भन्दै सर्वसाधारणको सुरक्षा र क्षेत्रीय स्थायित्वमा प्रत्यक्ष खतरा उत्पन्न भएको बताए ।
अल्बुदाइवीले अन्तर्राष्ट्रिय समुदायलाई आक्रमण रोक्न तथा हुथी समूहलाई जवाफदेही बनाउन दृढ कदम चाल्न आग्रह गरे ।
यसैबीच, यमनको शासकीय निकायका प्रमुख रशाद अल–अलिमीले शुक्रबार हुथी आक्रमणको सामना गर्न देशभर आम परिचालनको आह्वान गरेका थिए ।
हुथी सेनाले यमनी सरकारी सेनाविरुद्ध सञ्चालन गरिरहेको स्थल अभियानका कारण मानवीय संकट थप गहिरिने जोखिम बढेको छ । संयुक्त राष्ट्रसंघका अनुसार अगस्टदेखि हालसम्म यमनमा एक लाख ३८ हजार मानिस विस्थापित भएका छन्, जसमा करिब ७० हजार बालबालिका रहेका छन् ।