© 2026
नवलपरासी ।
नेपाल–भारत सीमामा रहेको महेशपुर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३÷८४ को सुरुआती दुई महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । भन्सार विभागले साउन र भदौका लागि निर्धारण गरेको लक्ष्यभन्दा बढी राजस्व संकलन गर्दै कार्यालयले प्रगति हासिल गरेको हो ।
कार्यालयका अनुसार साउन महिनामा १ करोड ४२ लाख १७ हजार रुपियाँ राजस्व संकलनको लक्ष्य निर्धारण गरिएकोमा एक करोड ७० लाख ४९ हजार ९९७ रुपियाँ संकलन भएको छ । यस्तै, भदौमा १ करोड ६२ लाख ४८ हजार रुपियाँ लक्ष्य रहेकामा १ करोड ८४ लाख ५१ हजार ९५७ रुपियाँ संकलन भएको छ ।
चालु आर्थिक वर्षमा महेशपुर भन्सार कार्यालयका लागि कुल २० करोड ३१ लाख तीन हजार रुपियाँ राजस्व संकलनको लक्ष्य निर्धारण गरिएको छ । गत आर्थिक वर्षमा १९ करोड दुई लाख ४३ हजार रुपियाँ लक्ष्य रहेकामा कार्यालयले २० करोड ६७ लाख ३६ हजार २१० रुपियाँ संकलन गरेको थियो ।
उक्त रकम लक्ष्यको १०९ प्रतिशत हो । सीमित साधनस्रोत र आवश्यक पूर्वाधारको अभावका बाबजुद भन्सार कार्यालयले राजस्व संकलनमा लक्ष्य हासिल गर्दै आएको कार्यालयले जनाएको छ । तर, महेशपुर भन्सारमा वनस्पति संगरोध अर्थात् प्लान्ट क्वारेन्टाइन सेवा नहुँदा वनस्पतिजन्य वस्तुको व्यवस्थित परीक्षण र भन्सार प्रक्रियामा समस्या देखिएको छ ।
भन्सार कार्यालयका प्रमुख विकास उपाध्यायका अनुसार भारतबाट आउने ताजा तरकारी तथा फलफूलको वनस्पति स्वास्थ्य परीक्षण गर्ने व्यवस्था नहुँदा अवैध रूपमा भित्रिएका कृषि उपज नियन्त्रणमा लिएपछि व्यवस्थापन गर्नसमेत समस्या हुने गरेको छ । “प्लान्ट क्वारेन्टाइन सेवा सञ्चालनका लागि भन्सार विभाग र अर्थ मन्त्रालयमा पटक–पटक पत्राचार गरेका छौँ,” उनले भने, “महेशपुरलाई मूल भन्सार नाका घोषणा भएको करिब सात वर्ष पुग्न लाग्दा पनि सेवा सञ्चालन हुन नसक्नु दुःखद हो ।”
पछिल्लो पटक सशस्त्र प्रहरी बल सीमा सुरक्षा प्रस्तावित गुल्म हरपुरले भारतबाट अवैध रूपमा भित्र्याउँदै गरेको ठूलो परिमाणको ताजा तरकारी तथा फलफूल नियन्त्रणमा लिएको थियो । सीमावर्ती क्षेत्रबाट शङ्कास्पद रूपमा ल्याइँदै गरेको करिब एक लाख १७ हजार रुपियाँ बराबरको कृषि उपज नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया पूरा गरी महेशपुर भन्सार कार्यालयमा बुझाइएको थियो ।
भन्सार कार्यालयका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि तथा सम्बन्धित पक्षको उपस्थितिमा बरामद कृषि उपज नष्ट गरिएको थियो । वनस्पति स्वास्थ्य परीक्षणबिना भारतबाट आयात हुने तरकारी तथा फलफूलमा रोग, कीरा तथा संक्रमण भित्रिन सक्ने भएकाले प्लान्ट क्वारेन्टाइन सेवा आवश्यक रहेको कृषि क्षेत्रका जानकारहरूको भनाइ छ ।
कृषि क्षेत्रका जानकारका अनुसार आयातित बोटबिरुवा, फलफूल तथा तरकारीको वनस्पति स्वास्थ्य परीक्षण नहुँदा नयाँ रोग तथा कीरा नेपाल भित्रिने जोखिम हुन्छ । यसले नेपाली कृषि उत्पादनमा दीर्घकालीन असर पार्न सक्ने भएकाले सीमावर्ती नाकामा प्रभावकारी क्वारेन्टाइन सेवा आवश्यक रहेको उनीहरूको भनाइ छ ।
उपभोक्ता अधिकारकर्मीले पनि परीक्षणबिना बजारमा पुग्ने तरकारी तथा फलफूलको गुणस्तर, विषादीको मात्रा र स्वास्थ्य सुरक्षाबारे सुनिश्चितता नहुने भएकाले सम्बन्धित निकायबिच समन्वय गरी नियमित अनुगमन गर्नुपर्ने बताएका छन् ।
हाटबजार व्यवसायी जिल्ला समन्वय समिति नवलपरासीका अध्यक्ष तथा व्यवसायी राधेश्याम अग्रहरीले महेशपुर भन्सारमा तत्काल स्थायी प्लान्ट क्वारेन्टाइन सेवा स्थापना गर्नुपर्ने बताए । “सरकारले परीक्षणका लागि क्वारेन्टाइन स्थापना नगर्ने तर दैनिक उपभोग्य वस्तुका रूपमा प्रयोग हुने तरकारी तथा फलफूल आशङ्काका आधारमा बरामद गरेर नष्ट गर्ने अवस्था उचित होइन,” उनले भने, “सरकारले आफ्नो कमजोरीसमेत हेर्नुपर्छ ।”
महेशपुर भन्सारलाई तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले २०७७ सालमा मूल भन्सार नाकाका रूपमा उद्घाटन गरेका थिए । मूल भन्सारका रूपमा सञ्चालनमा आएको लामो समय बितिसक्दा पनि आवश्यक पूर्वाधार र प्लान्ट क्वारेन्टाइन सेवा स्थापना हुन नसक्दा नाका हुँदै हुने कृषि उपजको आयात व्यवस्थापनमा समस्या देखिएको व्यवसायीको भनाइ छ ।
सशस्त्र प्रहरी बलले भने सीमा क्षेत्रमा हुने अवैध आयात नियन्त्रणका लागि नियमित गस्ती तथा निगरानी गर्दै आएको जनाएको छ । खुला सीमाको फाइदा उठाउँदै चोरीपैठारी गर्ने प्रयास हुने भएकाले स्थानीयवासीको सहयोगमा निगरानी बढाइएको सुरक्षा निकायले जनाएको छ ।
स्थानीयवासी तथा व्यवसायीले महेशपुरमा स्थायी प्लान्ट क्वारेन्टाइन सेवा स्थापना, कृषि तथा वनस्पति स्वास्थ्य परीक्षणको व्यवस्था, सीमा क्षेत्रमा संयुक्त अनुगमन तथा अवैध आयात नियन्त्रणका लागि सम्बन्धित निकायबिच प्रभावकारी समन्वय गर्न माग गरेका छन् ।