© 2026
बुटवल । लाली नेपालीका लागि २०७८ साल भदौ ४ गते सामान्य दिन थिएन । भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा पित्त थैलीको शल्यक्रिया गराउँदा उनलाई लागेको थियो–अब लामो समयदेखि सताइरहेको स्वास्थ्य समस्या समाधान हुनेछ ।
तर, त्यसपछि सुरु भएको उपचारको शृङ्खला चार वर्ष पुग्दासम्म पनि रोकिएको छैन । बरु उपचारकै क्रममा घर खर्च सकिएको छ, आफन्त र शुभेच्छुकबाट जुटाएको रकम पनि सकिएको छ र अहिले थप उपचार गर्ने पैसा नहुँदा ३५ वर्षीया लाली जीवन र मृत्युसँग सङ्घर्ष गरिरहेकी छन् ।
रामेछापको मन्थली नगरपालिका–५ स्थायी ठेगाना भएकी लाली अहिले कपिलवस्तुमा बस्दै आएकी छन् । उनका दुई छोरी ११ र आठ वर्षका छन् ।
‘पित्त थैलीको अप्रेसन सामान्य होला भन्ने लागेको थियो । तर, त्यसपछि मेरो जीवन नै अस्पताल धाउँदै बित्यो,’ लालीले भनिन्, ‘अहिलेसम्म ३०–३५ लाख रुपियाँ जति उपचारमै खर्च भइसक्यो । अब थप उपचार गर्ने पैसा छैन ।’
उनका अनुसार भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा सुरुमा ल्याप्रोस्कोपीबाट शल्यक्रिया गर्ने प्रयास गरिएको थियो । सफल नभएपछि चिरेर शल्यक्रिया गरिएको थियो । पित्त थैली निकालिसकेपछि पित्त बग्ने नलीलाई सानो आन्द्रासँग जोड्नुपर्नेमा त्यसो नगरिएको र त्यसपछि पेटमा पानी जम्मा हुने तथा पटक–पटक बेहोस हुने समस्या सुरु भएको उनको दाबी छ ।

शल्यक्रियापछि करिब १० दिन अस्पतालको सघन उपचार कक्षमा बस्नुपरेको उनी बताउँछिन् । अस्पतालमा करिब २१ दिन बसेपछि घर फर्किएकी थिइन् । तर, घर फर्केको केही दिनमै समस्या झन् जटिल बन्दै गयो । ‘अप्रेसन गरेको २२औँ दिनमा काठमाडौँ गएँ । सुरुमा मेडिकेयर अस्पताल पुगेँ । त्यहाँ उपचारमा धेरै खर्च लाग्ने थाहा पाएपछि वीर अस्पताल गएँ,’ उनले भनिन्, ‘पेटको छेउमा राखिएको पाइप फुटेपछि एकै पटक धेरै पानी निस्कियो । के भएको हो भन्ने पत्ता लगाउनै समस्या भयो ।’
त्यसपछि धुलिखेल अस्पतालमा उपचार हुने जानकारी पाएपछि उनी त्यहाँ पुगिन् । चिकित्सकले पेटबाट पानी निकाल्न दुई वटा पाइप राखिदिएको उनले बताइन् । त्यसपछि दैनिक १४–१५ लिटरसम्म पानी निस्कन थालेपछि केही सहज भएको थियो । तर, समस्या त्यतिमै रोकिएन । पानी छातीमा समेत जम्मा हुन थालेपछि उनलाई पुनः सघन उपचार कक्षमा राखिएको थियो । ‘धुलिखेल अस्पतालमा तीन महिना जति बसेँ । त्यहाँ पनि चिरेर अप्रेसन भयो,’ उनले भनिन् ।
उपचारपछि घर फर्किए पनि ज्वरो आउने, सास फेर्न गाह्रो हुने र रगतमा प्लेटलेट्सको मात्रा घट्ने समस्या देखियो । उनका अनुसार त्यस क्रममा रगतसमेत चढाउनुपरेको थियो । पुनः धुलिखेल अस्पताल पुगेपछि एमआरसीपीलगायत परीक्षण गरिएको र नसासम्बन्धी समस्या देखिएपछि थप शल्यक्रिया गरिएको उनले बताइन् । त्यसपछि उनको उपचारको अर्को गन्तव्य बन्यो–काठमाडौँको शिक्षण अस्पताल ।
लालीका अनुसार उनी अस्पतालको आकस्मिक कक्षमा होससमेत नरहेको अवस्थामा पुगेकी थिइन् । ‘छ दिनसम्म आकस्मिक कक्षमै बसेँ । अस्पतालले भर्ना लिएन । यहाँ हुँदैन भनेर निकालिदियो,’ उनले भनिन्, ‘पछि बाहिर अर्थात् ओपिडीबाट उपचारका लागि गएपछि मात्रै भर्ना लिएर उपचार सुरु भयो ।’
शिक्षण अस्पतालमा पनि उनले आठ–नौ महिना बिताउनुपरेको बताइन् । उपचारका क्रममा पाइप राखिएको ठाउँबाट बेलुन प्रवेश गराएर फुलाउने र निकाल्ने गर्दै साँघुरिएको नसा खुलाउने प्रक्रिया गरिएको उनले बताइन् । लामो उपचारपछि पाइप निकालिएको करिब एक वर्ष भएको उनको भनाइ छ ।
तर, पाइप निकालिएको तीन महिनापछि फेरि ज्वरो आउने र जन्डिस देखिन थाल्यो । पुनः शिक्षण अस्पताल पुगेपछि करिब ११ दिन भर्ना भएर उपचार गराएको उनले बताइन् । पछिल्लो परीक्षणबाट फेरि नसा साँघुरिएको जानकारी पाएको उनको भनाइ छ ।
‘अब यसको अप्रेसन यहाँ हुँदैन, नेपालबाहिर गर्नुपर्छ भन्नुभएको छ,’ लालीले भनिन्, ‘कहाँ गर्ने भनेर अहिले भन्नुभएको छैन । पैसा जुटाउनुस्, त्यसपछि ठाउँ भन्छौँ भन्नुभएको छ ।’ लालीका अनुसार बुटवलका विभिन्न अस्पतालमा समेत उपचारका लागि पुग्दा भर्ना लिन मानिएको छैन । भारतमा उपचार गर्न करिब ४० लाख रुपियाँ लाग्ने जानकारी आफूले पाएको उनले बताइन् ।
चार वर्षको अवधिमा पटक–पटक अस्पतालमा भर्ना भएर उपचार गराउँदा परिवारको आर्थिक अवस्था कमजोर हुँदै गएको छ । उनका श्रीमान् शशि योन्जन काठमाडौँमा अटो चलाउने र मजदुरी गर्ने काम गर्दै आएका थिए । लालीका अनुसार आफू बिरामी भएपछि श्रीमानबाट पर्याप्त सहयोग पाउन नसकेको र अहिले सम्बन्ध पनि राम्रो छैन ।
‘सुरुमा माइतीबाट पैसा ल्याएर उपचार गराएँ,’ उनले भनिन्, ‘अहिले अरू व्यक्तिको सहयोगले जसोतसो चलिरहेको छ ।’
अर्घाखाँचीको मालारानी गाउँपालिका–६ माइती भएकी लाली अहिले आफ्ना दुई छोरीको भविष्यलाई लिएर पनि चिन्तित छन् । उपचारका लागि ठुलो रकम आवश्यक पर्ने चिकित्सकले बताएको र आफूसँग उपचार गर्ने कुनै आर्थिक स्रोत नरहेको उनको भनाइ छ ।
‘मलाई सरकारले उपचारमा सहयोग गरिदिए हुन्थ्यो,’ उनले भनिन्, ‘साथीभाइ र शुभचिन्तकले सहयोग गरे उपचार पाएर बाँच्न सक्छु भन्ने आशा छ । म केही भइहालेँ भने मेरा छोरीहरू अलपत्र पर्छन् ।’
चार वर्षअघि एउटा शल्यक्रियाबाट सुरु भएको लालीको स्वास्थ्य यात्रा अहिले कहाँ पुगेर टुङ्गिन्छ भन्ने उहाँलाई स्वयं थाहा छैन । अस्पतालका शय्या, सघन उपचार कक्ष, पाइप र शल्यक्रियाबिच बितेको यो अवधिमा उनले आफ्नो स्वास्थ्यसँगै सम्पत्ति र पारिवारिक आधारसमेत गुमाउँदै गएकी छन् । उनले उपचारमा सहयोग गर्न चाहनेका लागि ९८४४४१३२८३ मा सम्पर्क गर्न पनि आग्रह गरेकी छन् । अहिले उनको एउटै चाहना छ–उपचारको बाटो खुलोस् र दुई छोरीका लागि आफू बाँच्न सकूँ ।
