Butwal Today

अन्धाधुन्ध गोली चल्यो, एउटै घरमा ११ जनाको मृत्यु

७ आश्विन २०८३, बुधबार
अ+
अ-

दक्षिण अफ्रिका । दक्षिण अफ्रिकाको डरबन सहर नजिकै क्वामाखुथा टाउनसिपस्थित एक घरमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा ११ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार राति तीन जना बन्दुकधारी घरभित्र प्रवेश गरी पार्टीमा सहभागी १४ जनामाथि गोली चलाएका थिए। घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको थियो भने घाइते चार जनालाई अस्पताल लगिएकामा उपचारका क्रममा थप एक जनाको मृत्यु भएको हो।

मृतकमध्ये एक जना गर्भवती महिला पनि रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनाका बेला १३ पुरुष र ती महिला घरभित्र पार्टी गरिरहेका थिए। आक्रमणको कारण अहिलेसम्म स्पष्ट भएको छैन। प्रहरीले प्रारम्भिक रूपमा दुई समूहबीचको विवादका कारण घटना भएको हुन सक्ने आशंका गरेको छ। मृतकमध्ये केही व्यक्ति गैरकानुनी गतिविधिका कारण प्रहरीको निगरानीमा रहेको पनि प्रहरीले जनाएको छ।

स्थानीय समाचार च्यानलका एक संवाददाताका अनुसार आक्रमणकारीहरूले घटनास्थलबाट भाग्नुअघि पीडितमध्ये एक जनाको गाडीमा आगो लगाएका थिए। प्रहरीले घटनामा संलग्न बन्दुकधारीहरूको खोजी सुरु गरेको जनाएको छ। दक्षिण अफ्रिका उच्च हत्या दरका लागि चिनिने मुलुकमध्ये एक हो। प्रहरीको तथ्यांकअनुसार त्यहाँ दैनिक ६० भन्दा बढी मानिसको हत्या हुने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?