Butwal Today

प्रधानमन्त्री बालेन्द्र शाह न्युयोर्क,गुटेरेससँग भेटवार्ता हुँदै

७ आश्विन २०८३, बुधबार
अ+
अ-

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन मंगलबार संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय ‘जनरल डिबेट’लाई सेप्टेम्बर २४ मा सम्बोधन गर्ने कार्यक्रम छ। संयुक्त राष्ट्रसंघको आधिकारिक कार्यक्रमअनुसार ८१औँ महासभाको सामान्य बहस सेप्टेम्बर २२ देखि २८ सम्म सञ्चालन हुँदैछ।

प्रधानमन्त्री शाह कतार एयरवेजको उडानमार्फत दोहा हुँदै न्युयोर्क गएका हुन्। यो प्रधानमन्त्री बनेपछि उनको पहिलो विदेश भ्रमण हो। उनी सेप्टेम्बर २६ मा नेपाल फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत उच्च सरकारी अधिकारी सहभागी छन्। परराष्ट्रमन्त्री खनाल भने यसअघि नै न्युयोर्क पुगिसकेका छन्।

महासभामा नेपालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढिरहेको जोखिम, जलवायु न्याय, जलवायु वित्तमा सहज पहुँच तथा जलवायुजन्य विपद्बाट नेपालले भोगिरहेको क्षतिका विषय उठाउने तयारी गरेको छ। परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार नेपालले जलवायु परिवर्तनका कारण बारम्बार ठूलो मानवीय तथा भौतिक क्षति व्यहोर्नुपरेको विषय अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनेछ। नेपालले विश्वव्यापी कार्बन उत्सर्जनमा न्यून योगदान गरे पनि जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेको विषयसमेत प्रस्तुत गर्नेछ।

हालैको भोटेकोशी बाढी तथा हिमाली क्षेत्रमा बढिरहेको जलवायुजन्य जोखिमलाई समेत नेपालको अन्तर्राष्ट्रिय प्रस्तुतिको महत्वपूर्ण विषयका रूपमा अघि सारिनेछ। महासभाका क्रममा नेपालले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव र जलवायुजन्य विपद्का विषयमा ’  ‘Sagarmatha to Sea’ नामक साइड इभेन्टसमेत आयोजना गर्दैछ।

न्युयोर्कमा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। महासभाको उच्चस्तरीय जनरल डिबेटमा सम्बोधनपछि हुने उक्त भेटवार्ता प्रधानमन्त्री शाहको भ्रमणको महत्वपूर्ण कार्यक्रममध्ये एक हुनेछ। प्रधानमन्त्री शाहले महासभामार्फत नेपालको जलवायु संकट, हिमाली क्षेत्रका जोखिम तथा नेपालको अन्तर्राष्ट्रिय प्राथमिकताका विषय विश्व समुदायसमक्ष प्रस्तुत गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?