© 2026
काठमाडौंं । भोटेकोशीमा आएको बिनासकारी बिपत्तिको सामना गरिरहेको अवस्थामा मौसम फेरि सक्रिय हुने मौसमबिदहरूको चेतावनीले सर्वसाधारणलाई अर्को चिन्ता थपेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा पर्न सक्ने देखिएको छ । विभागले प्रणालीको निरन्तर निगरानी गरिरहेको र मौसम प्रणाली अझै विकासकै क्रममा रहेकाले आगामी दिनका सूचनाका आधारमा पूर्वानुमान परिमार्जन हुन सक्ने विभागको भनाइ छ ।
मौसमविद् रोजन लामिछानेका अनुसार अहिले बजारमा फैलिएको जस्तो ठूलो विपत् निश्चित भइसकेको अवस्था होइन । तर, बङ्गालको खाडीबाट आउने जलवाष्पयुक्त प्रणालीका कारण वर्षा बढ्न सक्ने सम्भावना रहेकाले सतर्क रहनुपर्ने अवस्था भने छ । उनले प्रणालीको दिशा र तीव्रतामा परिवर्तन आउन सक्ने भएकाले अहिले नै स्थान र वर्षाको मात्रा तोक्न नसकिने बताए ।
त्रिभुवन विश्वविद्यालयका जल तथा मौसम विज्ञान केन्द्रीय विभागका उपप्राध्यापक डा. विनोद पोखरेलले भने विभिन्न मौसम पूर्वानुमान मोडेलको अध्ययन गर्दा असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना कायमै रहेको बताए । उनले विभिन्न मोडलले वर्षाको मात्रा र प्रभावित क्षेत्र फरक–फरक देखाए पनि भारी वर्षाको संकेत भने दिएका छन् । केही मोडलले ४०० मिलिमिटरभन्दा बढी वर्षाको सम्भावना देखाएको र एउटा मोडलमा ७४१ मिलिमिटरसम्मको प्रक्षेपण देखिएको उनले बताए ।
“तर यो मोडेलको प्रक्षेपण हो, मौसम विभागले तोकेको निश्चित वर्षा होइन”, उनले भने । पोखरेलले सम्भावित जोखिमलाई ध्यानमा राखेर पूर्वतयारी गर्न आग्रह गरेका छन् । उनले भने, ‘विभिन्न मोडेलबाट देखिएको अवस्था सार्वजनिक गर्नुको उद्देश्य त्रास फैलाउनु नभई सम्भावित जोखिमका लागि समयमै तयारी गर्न सहयोग गर्नु हो । यसको अर्थ असोज ८ देखि १२ गतेसम्म देशका सबै ठाउँमा समान रूपमा त्यति नै पानी पर्छ भन्ने होइन । कुन क्षेत्रमा कति वर्षा हुन्छ भन्ने विषय मौसम प्रणालीको गति, दिशा र जलवाष्पको अवस्थासँग जोडिएको छ ।’
त्यस्तै, अर्का मौसमविद् उज्ज्वल उपाध्यायले पनि उपलब्ध मोडेलहरूले असोज ८ देखि ११ गतेसम्मको अवधिमा उल्लेख्य वर्षाको संकेत गरेको बताएका छन् । उनले विशेषगरी असोज १० आसपास जोखिम बढ्न सक्ने सम्भावना औँल्याएका छन् । तर मौसम पूर्वानुमान परिवर्तनशील हुने भएकाले पछिल्ला सूचना हेर्नुपर्ने उनको भनाइ छ ।
सम्भावित वर्षाको जोखिमबारे राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि मौसम विभागसँग समन्वय गरेर अध्ययन गरिरहेको बताएको छ । प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार अहिले उपलब्ध विभिन्न मौसम मोडलले फरक–फरक अवस्था देखाइरहेका छन् ।
त्यसैले तत्कालै कुन ठाउँमा कति भारी वर्षा हुन्छ भनेर निष्कर्ष निकाल्न नमिल्ने अवस्था छ ।
उप्रेतीले भनेका छन्, ‘प्रणाली आउने सम्भावना देखिए पनि यसको गति र प्रभाव कस्तो हुन्छ भन्ने कुरा अहिले नै निक्र्योल भइसकेको छैन ।’ थप मौसम सूचना प्राप्त भएपछि वर्षाको मात्रा र प्रभावबारे थप स्पष्ट हुने उनको भनाइ छ ।
प्रारम्भिक आंकलनमा पश्चिम नेपालका केही क्षेत्रमा तुलनात्मक रूपमा बढी वर्षा हुन सक्ने देखिएको प्राधिकरणले जनाएको छ । तर प्रणालीको दिशा र तीव्रता परिवर्तन हुन सक्ने भएकाले अहिलेको आकलनलाई अन्तिम पूर्वानुमान मान्न मिल्दैन ।
नयाँ वर्षाको सम्भावनाले सामान्य परिवारभन्दा केही दिनअघिको बाढीबाट विस्थापित र आफन्त गुमाएका परिवारलाई बढी त्रसित बनाएको छ ।
यस्तो अवस्थामा फेरि लगातार वर्षा भयो भने प्रभावित परिवारका लागि जोखिम केवल अर्को बाढीको मात्र हुँदैन । कमजोर बनेका सडक, पुल, घर, पहिरोको जोखिममा रहेका भूभाग र नदीकिनारका अस्थायी बसोबासमा रहेका मानिसका लागि थप समस्या सिर्जना हुन सक्छ ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३ स्वीकृत गरिसकेको छ ।
प्राधिकरणका अनुसार उक्त योजनाले देशभर करिब ५१ हजार ८६८ घरधुरीका २ लाख २६ हजार ६६१ जना मनसुनजन्य विपत्बाट प्रभावित हुन सक्ने आंकलन गरेको छ । योजनामा जोखिम विश्लेषण, जिम्मेवार निकाय, खोज तथा उद्धार, राहत सामग्री, सम्पर्क व्यक्ति र पूर्वानुमानमा आधारित पूर्वकार्यको व्यवस्था समेटिएको छ ।
मनसुन प्रतिकार्य कमान्ड पोस्टले सम्भावित जोखिम भएका क्षेत्र, खोलानाला, नदी र सडकमा आवश्यक पूर्वतयारी गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको थियो । सडक अवरुद्ध भए तत्काल सञ्चालनका लागि हेभी इक्विपमेन्ट तयारी अवस्थामा राख्ने । खोज–उद्धार तथा राहत सामग्री मौजदात राख्ने र स्थानीय तहलाई आवश्यक खाद्यान्नको व्यवस्था गर्न आग्रह गरेको छ ।
यसको अर्थ नेपालसँग योजना र संयन्त्र छैन भन्ने होइन । प्रश्न भनेको पूर्वानुमान प्राप्त भएपछि ती संयन्त्र कति छिटो र प्रभावकारी रूपमा परिचालन हुन्छन् भन्ने हो । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले विपत्का बेला सूचना संकलन, समन्वय तथा प्रतिक्रिया संयन्त्र सञ्चालन गर्ने जिम्मेवारी बोकेको छ ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि खोज, उद्धार र राहतका लागि सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गर्दै आएको छ ।
जल तथा मौसम विज्ञान विभागले मौसम र बाढीसम्बन्धी जानकारीका लागि ११५५ टोल–फ्री नम्बर सञ्चालन गरिरहेको छ । १ दबाउँदा मौसम पूर्वानुमान र २ दबाउँदा बाढीसम्बन्धी पूर्वसूचना प्राप्त गर्न सकिने विभागले जनाएको छ ।
तर पूर्वसूचना जारी हुनु मात्र पर्याप्त हुँदैन । स्थानीय तहले नदी तथा खोलाको जोखिम क्षेत्र पहिचान गरेर त्यहाँ रहेका परिवारलाई समयमै जानकारी दिनुपर्ने हुन्छ । विद्यालय, स्वास्थ्य संस्था, प्रहरी, सेना, सशस्त्र प्रहरी र स्थानीय स्वयंसेवकबिच सम्पर्क संयन्त्र सक्रिय हुनुपर्छ ।