Butwal Today

२२ महिनापछि मुख्य अभियुक्त पक्राउ

५ आश्विन २०८३, सोमबार
अ+
अ-

सिरहा । ‘अब न्याय पाउँछौँ’ भन्ने विश्वास मरिसकेको थियो । दिन बित्यो, महिना बित्यो । भाइको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गर्न सक्छ भन्ने विश्वास पनि हराइसकेको थियो ।

तस्करी रोक्न खोज्दा तस्कर समूहको आक्रमणमा मारिएका सशस्त्र प्रहरी नायब निरीक्षक लक्ष्मणप्रसाद यादवका दाजु पाण्डव यादवको भनाइ हो यो । तर, २२ महिनापछि प्रहरीले मुख्य अभियुक्तलाई पक्राउ गरेपछि परिवारमा न्यायप्रतिको विश्वास पलाएको छ ।

नागरिकलाई अन्याय पर्दा प्रहरीले सुरक्षा दिन्छ भन्ने विश्वास सबैको हुन्छ । तर, सुरक्षामा खटिएका प्रहरीकै हत्या हुँदा न्याय नपाएपछि त्यो विश्वास हराउँदै गएको थियो । अहिले मुख्य अभियुक्त पक्राउ परेपछि हराएको विश्वास फर्किएको पाण्डवले बताए ।

घटनाको विवरण

विसं २०८१ मङ्सिर १६ गते बिहान भारतबाट नेपालतर्फ मदिरा तस्करी भइरहेको सूचना प्राप्त भएको थियो । त्यसपछि बिहान ३ः०० बजे बरियारपट्टी गाउँपालिका–१ कचनारीस्थित नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी टोली खटिएको थियो ।

बीओपी बडहरी बरियारपट्टीबाट प्रहरी नायब निरीक्षक लक्ष्मणप्रसाद यादवको नेतृत्वमा टोली परिचालन गरिएको थियो । सूचनाका आधारमा सशस्त्र प्रहरी टोलीले शङ्कास्पद गाडी आइरहेको देख्यो । उक्त गाडी डीएल ५ सीजे ७१७१ नम्बरको सफारी जिप थियो ।

ड्युटीमा खटिएको टोलीले उक्त जिपलाई रोक्न खोज्दा चालकले सई लक्ष्मणप्रसादलाई ठक्कर दिएर फरार भएको सशस्त्र प्रहरीले बताउँदै आएको छ । गम्भीर घाइते भएका सई लक्ष्मणप्रसादको उपचारका क्रममा मृत्यु भएको थियो । घटनापछि गाडीमा सवार व्यक्ति फरार भएका थिए ।

त्यसपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाउँदै संलग्न व्यक्तिको खोजी गरिरहेको थियो । घटना भएको २२ महिनापछि प्रहरीले भारतको बिहारस्थित मधुवनी जिल्ला, ललबनियाँ थाना, घोडमोहना गाउँका ३७ वर्षीय मोहम्मद कुरवान मंसुरीलाई पक्राउ गरेको छ । उनी नै मुख्य अभियुक्त रहेको प्रहरीले जनाएको छ ।

सई लक्ष्मणप्रसादको हत्यामा प्रयोग भएको गाडीका धनीसमेत कुरवान नै रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार उनलाई बरियारपट्टी गाउँपालिका–१ कचनारीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको हो । प्रहरीले कुरवानसहित तीन जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय महेशपुर पतारीको टोलीले पक्राउ गर्न खोजेपछि सीमा क्षेत्रबाट भाग्न खोज्ने क्रममा उनीहरूले प्रहरीलाई लक्षित गरी एक राउण्ड गोली चलाएको प्रहरीको भनाइ छ । जवाफी कारबाहीमा प्रहरी टोलीले तीन राउण्ड गोली प्रहार गरी उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गोली लागेर बायाँ हातको कुहिनो र दाहिने कोखमा चोट लागेका कुरवानको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको छ । मुख्य अभियुक्त पक्राउ परेपछि जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख वासुदेव पाठक, सशस्त्र प्रहरीका एसपी सुमनजङ्ग थापासहितको टोली मृतक सई लक्ष्मणप्रसादको घरमा पुगेको थियो ।

उनीहरूले बाँकी अभियुक्तलाई चाँडै पक्राउ गरी न्यायको प्रत्याभूति दिलाउने प्रतिबद्धता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?