Butwal Today

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

४ आश्विन २०८३, आइतबार
अ+
अ-

हङकङ । सन् १९९७ मा हङकङ चीनलाई हस्तान्तरण भएपछि त्यसपछिको सङ्क्रमणकालीन सुरुआती वर्षमा नेतृत्व गरेका हङकङका पहिलो प्रमुख कार्यकारी तुङ ची–ह्वाको आइतबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

अन्त्येष्टि समारोहमा चिनियाँ अधिकारी तथा हङकङका राजनीतिक नेताहरू सहभागी भएका थिए । सन् १९९७ मा बेलायतबाट चीनलाई हस्तान्तरण गरिएपछि हङकङमा आयोजना गरिएको यो तेस्रो राजकीय अन्त्येष्टि हो ।

सन् १९९७ देखि २००५ सम्म हङकङको प्रमुख कार्यकारी रहेका तुङको ८९ वर्षको उमेरमा सेप्टेम्बर ८ मा निधन भएको थियो । ढुवानी व्यवसायी तुङले आफ्नो करिब आठ वर्षे कार्यकालमा एसियाली वित्तीय सङ्कट, सार्स महामारी र व्यापक जनप्रदर्शनको सामना गरेका थिए ।

अन्त्येष्टिस्थल हङकङ फ्युनरल होम बाहिर फूलका माला राखिएका थिए । हङकङका सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गरेको भिडियोमा समारोहपछि चिनियाँ झन्डाले छोपिएको तुङको शव बाहिर ल्याइएको देखाइएको थियो । सञ्चारकर्मीलाई भने समारोहस्थलभित्र प्रवेश गर्न दिइएको थिएन ।

चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्यूरो सदस्य सी ताइफेङ, चीनको हङकङ तथा मकाउ मामिला कार्यालयका निर्देशक सिया बाओलोङ र हङकङका वर्तमान प्रमुख कार्यकारी जोन ली अन्त्येष्टि स्थलबाट सँगै बाहिरिएका थिए ।

एक सहभागीका अनुसार समारोहमा करिब २०० जनालाई आमन्त्रण गरिएको थियो । अन्य व्यक्तिले हङकङका तीन स्थानमा बनाइएका श्रद्धाञ्जलीस्थलमा पुगेर तुङप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

तुङको निधनपछि चिनियाँ सरकारले उनलाई कम्युनिस्ट पार्टीका निकट मित्र तथा ‘एक देश, दुई प्रणाली’को कार्यान्वयनमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिका रूपमा चित्रण गरेको थियो । यही व्यवस्थाअन्तर्गत हङकङ र मकाउको शासन सञ्चालन हुँदै आएको छ ।

तुङले पद सम्हालेको केही समयपछि हङकङको अर्थतन्त्र एसियाली वित्तीय सङ्कटबाट प्रभावित भएको थियो । सन् २००३ मा सार्स महामारीका कारण हङकङमा करिब ३०० जनाको मृत्यु भएको थियो भने अर्थतन्त्रमा पनि ठूलो असर परेको थियो ।

त्यसै वर्ष नागरिक स्वतन्त्रताका लागि खतरा मानिएको राष्ट्रिय सुरक्षा कानुन लागू गर्ने सरकारको योजनाको विरोधमा करिब पाँच लाख मानिस सडकमा उत्रिएका थिए । व्यापक विरोधपछि सरकारले उक्त योजना स्थगित गरेको थियो । तुङले सन् २००५ मा स्वास्थ्यको कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए ।

सन् २००३ को उक्त प्रदर्शनले हङकङमा लोकतन्त्रसमर्थक आन्दोलनको शृङ्खलालाई गति दिएको थियो । ती आन्दोलन सन् २०१९ मा उत्कर्षमा पुगेका थिए । त्यसपछि सरकारले कडा कदम चालेको थियो भने सन् २०२० मा चीनले हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागू गरेको थियो ।

पदबाट हटेपछि तुङ चीनको सर्वोच्च राजनीतिक सल्लाहकार निकाय चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनका उपाध्यक्ष बनेका थिए । देशका लागि पुर्‍याएको योगदानको कदरस्वरूप सन् २०१९ मा राष्ट्रिय पदक तथा सम्मान प्राप्त गर्ने ४२ जनामध्ये तुङ पनि एक थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?