Butwal Today

रम्मापुरमा गुडिरहेको हाईसमा आगलागी

४ आश्विन २०८३, आइतबार
अ+
अ-

बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका–७, रम्मापुरस्थित ५ नम्बर चोकमा गुडिरहेको भाडाको हाईसमा आगलागी भएको छ । महेन्द्र राजमार्गमा कोहलपुरबाट कैलालीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००२ ज ४३३ नम्बरको हाईसमा आइतबार बिहान अचानक आगलागी भएको हो ।

प्रहरीका अनुसार बिहान करिब ६ः५० बजे हाईस गुडिरहेको अवस्थामा आगलागी भएको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । हाईसमा चालक र सहचालक मात्रै सवार रहेकाले घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

आगलागीबाट हाईसमा रहेका महत्वपूर्ण कागजपत्र तथा नगद ४२ हजार रुपैयाँ जलेर नष्ट भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।

आगो नियन्त्रणका लागि ठाकुरबाबा नगरपालिकाको दमकल घटनास्थल पुगेको थियो । दमकल र सुरक्षाकर्मीको प्रयासमा बिहान करिब ८ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीका कारण महेन्द्र राजमार्गमा यातायात आवागमन भने अवरुद्ध भएको छैन । घटनामा हाईसमा ठूलो क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।

आगलागी भएको हाईस पोटोन कम्पनीको रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र आगलागीको वास्तविक कारण पत्ता लगाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?