Butwal Today

लुम्बिनीलाई अन्तराष्ट्रिय आध्यात्मिक केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड

४ आश्विन २०८३, आइतबार
अ+
अ-

रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा सम्पदामैत्री पूर्वाधार निर्माणसँगै स्थानीय समुदायलाई आयआर्जनसँग जोड्दै अन्तराष्ट्रिय आध्यात्मिक केन्द्रका रूपमा विकास गर्नुपर्ने सुझावसहित तीनदिने अन्तरराष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । बृहत्तर लुम्बिनी क्षेत्रमा सम्पदा संरक्षण, पर्यटन प्रवर्द्धन र स्थानीयको दिगो विकास’ विषयक सम्मेलनले १२ बुँदे सुझाव तथा सिफारिस गरेको लुम्बिनी विकास कोषका निमित्त सदस्यसचिव ज्ञानीन राईले जानकारी दिए । बृहत्तर लुम्बिनी क्षेत्रको विकास तथा तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सहयोग पुर्याउने उद्देश्यले आयोजित सम्मेलनले विश्व बैंकको सहयोगमा सञ्चालन हुने ‘ल्यान्डस्केप’ परियोजनाअन्तर्गत सबै क्षेत्र र सरोकारवालालाई समेटेर सामुदायिक नक्साङ्कनको योजना तयार गर्न सुझाव दिएको छ ।

सम्मेलनले लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदहलगायत क्षेत्रको पुरातात्विक, ऐतिहासिक तथा सांस्कृतिक महत्व कायम राख्दै विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने, स्थानीय समुदायको सहभागिता बढाउनुपर्ने तथा भिक्षु, तीर्थयात्री, साधक र पर्यटकका लागि प्रार्थना, ध्यान, धार्मिक गतिविधि र विश्रामका आवश्यक सुविधा विस्तार गर्नुपर्ने सिफारिस गरेको छ । खानेपानी, शौचालय, फोहर व्यवस्थापन, सुरक्षा, स्वास्थ्य तथा आगन्तुक सेवामा सुधार गर्नुपर्ने र पवित्रस्थलको शान्तिपूर्ण बौद्ध वातावरण कायम राख्नुपर्ने सम्मेलनको निष्कर्ष छ । उक्त स्थलको धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्त्विक महत्वबारे जानकारी दिन सूचना बोर्ड, प्रशिक्षित स्थानीय पदप्रदर्शक एवं श्रव्यदृश्य सामग्रीको प्रयोग बढाउन पनि सिफारिस गरिएको छ ।

पवित्र बगैँचा, मायादेवी मन्दिर तथा पुरातात्विक अवशेषको ऐतिहासिक, धार्मिक र आध्यात्मिक मूल्यलाई सम्मान गर्दै संरक्षण तथा मर्मतसम्भार गर्नुपर्ने तथा पूर्वाधार निर्माणअघि सम्पदा प्रभाव मूल्याङ्कन, संरक्षण योजना, जलविज्ञान अध्ययन, ढल निकास तथा वातावरणीय न्यूनीकरण योजना तयार गर्नुपर्ने सुझाव दिइएको छ । प्रतिनिधिसभा सदस्य तौफिक खानले लुम्बिनी विकास कोष, स्थानीय नागरिक, विहार तथा स्थानीय तहबीच समन्वय गरी लुम्बिनीलाई उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताए ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन युनेस्कोका नेपाल प्रतिनिधि याकोब दुतोइले स्थानीयको सक्रिय सहभागितामा बृहत्तर लुम्बिनी विकासका काम अघि बढाउनुपर्ने बताए । सम्मेलनमा भारत, श्रीलङ्का, इन्डोनेसिया, म्यान्मार, बेलायत, जापान, अस्ट्रेलिया र थाइल्यान्डलगायत देशका बौद्ध विद्वान्, अनुसन्धानकर्ता, पुरातत्वविद्, सम्पदाविद् तथा भिक्षु–भिक्षुणीसहित १५० बढीको सहभागिता थियो । सम्मेलनको उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?