Butwal Today

माछा मार्ने क्रममा २ जनालाई खोलाले बगायो

२ आश्विन २०८३, शुक्रबार
अ+
अ-

रोल्पा । रोल्पा नगरपालिका–७ सिमखेतमा माछा मार्ने क्रममा दुई जनालाई खोलाले बगाएको छ । खोलाले बगाएका दुवै जनाको अवस्था अहिलेसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ । उनीहरूको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कृष्ण श्रेष्ठका अनुसार रोल्पा नगरपालिका–२ का ४२ वर्षीय शेरबहादुर घर्ती मगर र करिब ३० वर्षीय रमेश नेपालीलाई खोलाले बगाएको हो । उनीहरू सिमखेत क्षेत्रमा माछा मार्न गएको बेला दिउँसो करिब २ देखि ३ बजेको बिचमा खोलाले बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको उनले बताए ।

घटनाबारे प्रहरीलाई करिब ४ बजेतिर जानकारी प्राप्त भएको थियो। जानकारी प्राप्त भए लगत्तै प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरी बेपत्ता भएका दुवै जनाको खोजी कार्य सुरु गरिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

खोलाको बहाव र घटनास्थलको अवस्थालाई ध्यानमा राख्दै सम्भावित स्थानहरूमा खोजी भइरहेको उनले बताए । हालसम्म दुवै जनाको अवस्था पत्ता लाग्न नसकेको र खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।

घटनाबारे थप विवरण सङ्कलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । खोलामा माछा मार्न तथा अन्य कामका लागि जाने क्रममा विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?