Butwal Today

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतको शिष्टाचार भेट

२ आश्विन २०८३, शुक्रबार
अ+
अ-

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क जे–ख्योङले आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटका अवसरमा नेपाल–कोरिया सम्बन्ध, भोटेकोशी बाढी प्रभावितको उद्धार, पुनःस्थापना तथा सहायताका विषयमा छलफल भएको थियो । साथै सूचना प्रविधि, डिजिटल अर्थतन्त्र र कृत्रिम बौद्धिकताका क्षेत्रमा सहकार्य गर्ने विषयमा समेत कुराकानी भएको थियो ।

सञ्चारमन्त्री डा। तिमिल्सिनाले भोटेकोशी बाढीबाट सिर्जित विपद्को कठिन समयमा नेपाललाई कोरियाबाट प्राप्त सहयोग र सहानुभूतिका लागि आभार व्यक्त गरे ।

उद्धार तथा खोजी कार्यमा कोरियाले विपद् व्यवस्थापन टोली परिचालन गरेकामा धन्यवाद दिँदै उनले बाढी प्रभावितका लागि सहयोग तथा पुनर्निर्माण र पुनःस्थापनामा सहयोग गर्ने कोरियाली सरकारको प्रतिबद्धताप्रति कृतज्ञता ज्ञापन गरे ।

मन्त्री डा। तिमिल्सिनाले नेपाल र कोरियाबीच पारस्परिक सम्मान, समझदारी र सहकार्यमा आधारित मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा थप विस्तार गर्नुपर्नेमा जोड दिए ।

राजदूत पार्कले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि कोरियाको सहयोग निरन्तर रहने बताए । उनले बाढीमा परेका कोरियाली नागरिकको अवस्थाबारे चासो व्यक्त गरे ।

राजदूत पार्कका अनुसार कोरियाली सुरक्षाकर्मीको टोलीले बाढीमा फसेका १० जना कोरियाली नागरिकको उद्धार गरेको छ भने माथिल्लो त्रिशूली–१ आयोजना क्षेत्रमा रहेका नौ जना कोरियाली नागरिक अझै सम्पर्कविहीन छन् ।

राजदूत पार्कले यही असोज १४ गतेदेखि दक्षिण कोरियामा आयोजना हुने ‘१२औँ ग्लोबल आइसिटी लिडरसिप फोरम’मा नेपाल र अन्य देशका तर्फबाट हुने सहभागिताबारे सञ्चारमन्त्रीलाई जानकारी दिए ।

दक्षिण कोरियाको विज्ञान तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा तथा नेसनल इन्फरमेसन सोसाइटी एजेन्सीको संयोजनमा हुने उक्त फोरममा नेपाललगायत विभिन्न देशका प्रतिनिधिबीच सूचना प्रविधि तथा कृत्रिम बौद्धिकताका क्षेत्रमा सहकार्य एवं आगामी रणनीतिबारे उच्चस्तरीय छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?