© 2026
सल्यान । शारदा नगरपालिका सल्यानको एम्बुलेन्समा आगलागी हुँदा पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको छ । शुक्रबार बिहान नेपालगन्जस्थित सूर्य शक्ति अक्सिजन ग्यास उद्योगको परिसरमा एम्बुलेन्समा अचानक आगलागी भएको बताइएको छ । कर्णाली प्रदेश ०२–००१ झ ०२४५ नम्बरको एम्बुलेन्समा अक्सिजन सिलिन्डर भर्ने क्रममा बिहान करिब ८ः४५ बजे आगलागी भएको शारदा नगरपालिकाले जनाएको छ । आगलागीमा एम्बुलेन्स चालक लोकेन्द्र बस्नेतसहित दुई जना घाइते भएको पनि प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
नगरपालिकाका योजना शाखा प्रमुख केशव बहादुर बुढाथोकीले आगलागीबाट एम्बुलेन्समा ठूलो क्षति पुगेको र पूर्ण रूपमा जलेको जानकारी दिए । अक्सिजन भर्ने क्रममा एक्कासि आगलागी भएको जानकारी आए पनि घटनाको कारणबारे थप अनुसन्धान भैरहेको नगरपालिकाले जनाएको छ । तारकेश्वर नगरपालिकाले उपहारस्वरूप शारदा नगरपालिकालाई उक्त एम्बुलेन्स प्रदान गरेको थियो ।