Butwal Today

प्रधानमन्त्री राहत कोषमा होटेल पौवाको ११ लाख सहयोग

१ आश्विन २०८३, बिहीबार
अ+
अ-

चितवन । होटल पौवाले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ सहयोग गरेको छ ।

होटेल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बिहीबार चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ११ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन ।

चेक बुझ्दै प्रमुख जिल्ला अधिकारी अर्यालले भोटेकोशी बाढीपछि उत्पन्न विपद्को समयमा प्रभावित नागरिकको राहत तथा पुनः स्थापनाका लागि निजी क्षेत्रबाट भएको सहयोग महत्त्वपूर्ण रहेको बताए । उनले विपद्का बेला सरकारी प्रयाससँगै निजी क्षेत्र तथा विभिन्न सङ्घसंस्थाबाट प्राप्त सहयोगले राहत तथा उद्धार कार्यमा थप सहयोग पुग्ने बताए ।

होटेल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले होटलका सञ्चालक, व्यवस्थापक तथा कर्मचारीहरूले समेत आफ्नो तर्फबाट रकम सङ्कलन गरी विपद्मा परेका नागरिकलाई सहयोग गरेको बताए । उनले सहयोगको रकम ठुलो नभए पनि विपद्को समयमा प्रभावित नागरिकलाई केही राहत पु¥याउने उद्देश्यले सहयोग गरिएको बताए ।

“रकम ठुलो नभए पनि देश महाविपत्तिको अवस्थाबाट गुज्रिरहेका बेला हाम्रो सानो सहयोगले प्रभावित नागरिकलाई केही राहत पुग्ने विश्वास गरेका छौँ,” उनले भने । होटेल पौवाले व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि आफ्नो कार्यक्षेत्रको महत्त्वपूर्ण हिस्सा मान्दै आएको जनाएको छ । होटेलले यसअघि पनि विपद्, सामाजिक सेवा तथा समुदायसँग सम्बन्धित विभिन्न गतिविधिमा सहयोग गर्दै आएको जनाएको छ ।

चेक हस्तान्तरण कार्यक्रममा होटल पौवाका सञ्चालक समितिका सदस्यहरूको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?